काँचको घुम्टो ओढेर ओठ खुलाइ हाँस्दैछे उ हाँसो आहा! छर्लङ्ग छ! जति जति तन्कन्छन् ती मुस्कानका रेखाहरु बिझाउँछन् कठै ती अदृश्य काँचका पर्दाले आँसु कतै बाफ बन्छ हाँसो तर छर्लङ्ग छ! मान्छे बन्नु थियो उसलाइ गुडिया कसैले बनाइदियो सास फेर्न खोज्छे कति शरिर तर मरिसक्यो नचाउनेले चलाइदिन्छन् नियती उही, नाचिदिन्छे वाह! गुडिया! भनिदिन्छन् होइन भन्न सक्दिन उ शरीर खेलौना बनिसक्यो मनको अब कसले सुन्छ ? छाला मात्र छर्लङ्ग छ! रङ्गीविरङी फ्रकमा सजाइ गयो दोकानदार निला चम्किला आँखाले फरियाको सपना देखे न हात उसको चल्न सक्यो न कपडा आफैँ बढ्न सक्यो देख्नेले नाङ्गा खुट्टा देखे मुख मिठ्याए गइदिए उ मुस्कान बोकी उभिरही समर्थन सबले बुझिरहे उ लाज ढाक्न चाहिरही खुल्ला सबैले देखिरहे भने सबै छर्लङ्ग छ!