रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन ! आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्...