“मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, के लेखिस् ? ह्वाट डज योर मदर डु ? माइ मदर इज अ टिचर । ह्वाट डज योर फादर डु ? माइ फादर इज अ हाउस्-हस्ब्यान्ड । “ “हाउस्-हस्ब्यान्ड्”, सुन्दा हाँसो लाग्नुपर्ने यो शब्द खै कसरी त्यो दिन यी आमाछोरीको कुरा सुन्दा भाँडा माझ्दै गरेको झुसको तिखो तार हातमा बिझेझैँ अचानक च्वास्स बिझेको थियो मेरो मनमा । ” हाउस-हस्ब्यान्ड रे ? यस्तो नि हुन्छ ? के लेखेकी यस्तो ? “ ” अनी के लेख्नु त ? त्यो दीक्षा, सबिनाहरु को मामु अफिस जानुहुन्नँ, घर बसेर घरको काम गर्नुहुन्छ अनि हाउसवाइफ भन्छन् उनिहरु । मेरो बाबा चाहिँ हाउस-हस्ब्यान्ड भन्न किन नपाउने नि मैले ? “ उसको उमेरको बुझाइले त्यो कुरा उसको लागी सामान्य थियो, सायद अहिले हुन्थ्यो भने त्यसलाई व्यङ्य बुझ्थेँ होला म । तर उसले त त्यही भनेकी थिइ जे उसले देखेकी थिइ । गलत के भनेकी थिइ र उसले ? बिह...