जुत्ता च्यात्तियो ?
मानबहादुरले टालिदेला
लुगा फाट्यो ?
मानबहादुरले सिलाईदेला
भारी बढी भयो ?
मानबहादुरले बोकिदेला
केहि बिग्रीयो ?
भनेँ नि, मानबहादुरले बनाइदेला
यो गाउँमा जसको जे बिग्रीए पनि बनाइदिन्छ
मानबहादुरले
तर उसको च्यात्तिएको लुगा
च्यात्तिएको मन
सिलाईदिने अरु कुनै मानबहादुर छैन
खाली हात घर जानुहुन्न
छोरछोरी खल्ती छम्न आइहाल्छन्
मना रित्तो छैन उसको
मात्र खल्ति
रित्तो खल्ती देखेर बग्ने सन्तानका आँसुले उसको
खल्ती भरिदैँन
केवल मन भरिएर आउछँ
उ घर नै जादैँन
भिजिरहन्छ रातभर भिजिरहन्छ
पानीले उसको आँसु बगाइरहन्छ
मानबहादुरको आँसु देख्ने अरु कुनै मानबहादुर छैन
दाउरा फुक्दा फुक्दा बुढिलाई दम लाग्यो
तर अरुको घरसम्म ग्यास सिलिन्डर पुर्याउन
बोकिदिने मानबहादुरले
आफ्नो घरमा एउटा स्टोभ पनि
ल्याउन सकेको छैन
अरुको गाडी टिलिक्क टल्काइदिन्छ
अनी चुँडिएको चप्पल घिसार्दै घर पुग्छ
गाउँको सेवा गर्ने मानबहादुरले
आफ्नो सेवा गर्ने कुनै मानबहादुर्
पाएकै छैन
आफ्नो खेत छैन
तर अरुको खेतमा हलो जोतिदिन्छ
पाएको एक मुठी चामल
बुढीलाई सम्हालेर राख्न दिन्छ
त्यो अनमोल छ उसका लागि
आफुलाई बेच्दा पनि उसले एक गेडा चामल पाउँदैन
उसलाई किन्ने
कुनै मानबहादुर छैन
तिम्रो शिशमहल रङाउँदा
मानबहादुर आठौँ तल्लबाट
खसेर मर्यो
तिम्रो फ्याक्ट्रीमा काम गर्दा
मेशिनले मानबहादुरको हात काट्यो
तिम्रो मिसावटको चामल खाएर
मानबहादुर सपरिवार मर्यो
तिम्रो गाडी चलाउँदा
तिमीलाई बचाउन खोज्दा
मानबहादुर मर्यो
मानबहादुरलाई सहिद भनिदिने कोही मानबहादुर छैन
मानबहादुरको कदर गर्ने कुनै मानबहादुर छैन
तिमी यस्ता कैयौँ मानबहादुर मार्नेछौ
अनि
कैयौँ यस्ता मानबहादुर बाँच्नेछन्
जन्मनेछन्
तिम्रो सेवामा हाजिर हुनेछन््
तिम्रो अगाडी झुक्ने छन््
तर त्यो मानबहादुरको सामु झुक्ने
मानबहादुरको मान गर्ने
अरु कुनै मानबहादुर छैन
Comments
Post a Comment