Skip to main content

म सधैं मुस्कुराइ रहनेछु आकृति !

चार काँधमध्ये मेरो पनि एक थियो । तर, आफैँले बोकेर घाटसम्मको बाटो पहिल्याए पनि त्यो मुहार हेरेको छैन मैले । पाइलाको गणितमा टाढै छु म, जहाँ उसको शरीर अनेक कर्मकान्डको भागिदार बन्दैछ । थाहा छैन, त्यो मुहार अन्तिम पटक हेर्न मैले पाइनँ, चाहिनँ, या सकिनँ ।
“बाबु,तिमी न्यौपाने सरको छोरा होइनौं ?” बसको झ्याल बाहिरबाट कसैले अचानक यो प्रश्न गर्दा केही बेर त अकमक्किएँ म । २०६० साल । ८ मा पढ्दैथिएँ म । घरबाट टाढा काठमान्डुमा मेरो पहिलो साल, मामाघर बुटवलमा दशैँ मनाएर फर्कँदै थिएँ । आफ्नै गाउँ, आफ्नै ठाउँ । सानै थिएँ रे, त्यसैले नाइटबस छोडेर बिहानै ५ः३० को बस रोजियो । मामालाई पाल्पा जानुथियो, म पहिलो पटक त्यती लामो यात्रा गर्दैथिएँ । झोलामा वाईवाईका तीन प्याकेट,एक बोतल पानी, आधा लिटरको फ्यान्टा, एउटा टेस्टी बिस्कुट र मनमा केही डर लिएर कुर्दै थिएँ । बसका चक्काले आफ्नो कर्तव्य सम्झिने समय आउन अझै १५ मिनेट थियो । त्यतिखेरै झ्यालबाट त्यो आवाज, जवाफमा “हो” भनेँ मैले।
“एक्लै जान लागेको? छेउको सिटमा कोही छैन?”
बिहानको बस, खासै मान्छे थिएनन् । “खै अहिलेसम्म त कोही बसेको छैन ।”
त्यती सुनेपछी टिकेट काटेर आउनुभयो, साथमा छोरी थिइन् । सानी, सायद ८–९ थियो होला उमेर ।
“बाबु, म तिम्रो बुवाको साथी हुँ । नानुलाई महेन्द्रनगर पुर्याउन जाँदै थिएँ, तिमी भेटियौ, पुर्याइदेउ है? म उता खबर गरिदिन्छु ।”
यती भन्दै आफ्नो घरमा र मेरो बुवालाई फोन गरेर खबर गर्नुभयो । त्यो समयमा कसैले कसैलाई त्यसरी विश्वास गर्नु सायद ठूलो कुरा थियो । नानुलाई सम्झाइबुझाइ “टाटा” भन्दै ओर्लनुभयो । उसको जिम्मा अब मेरो थियो ।
बच्चा रमाइला लाग्छन् मलाई,कुरा गर्न,गफ गर्न । नाम सोधेँ, “आकृती” । सुन्दै प्यारो लाग्यो । १० घण्टाको यात्रासंगै कटाउनु थियो, “मलाई चिन्छौ?डर त लागेको छैन?” सोधेँ, समय त्यस्तै थियो ।उसले चिन्छु भन्दा अचम्म लाग्यो, मेरो घर छेउ नै उसको फुपुको घर रहेछ । सायद म नभेटिएको भए अंकल अफिस छाडेर जानुपथ्र्यो, आउँदाजाँदा दुइ दिन, त्यसैले खुसी थिएँ सहयोग गर्न पाउँदा ।
चर्नैटा पुग्दा घडीको सुई ६ः३० पुगेर उकालो लाग्ने तरखरमा थियो । त्यहाँ चियानास्तापछि पहाडको बाटो लाग्यो बस । एकतिर खोला, भिर, अर्कोेतिर पहरा । माओवादीले तीनपटक बम बिस्फोट गर्दा पनि नभत्केको सुरइ नाका पुल कटेर सुरु भए नाला । झरौनी खोला १, झरौनी खोला २ गर्दै ४ सम्म अनि नाला १, नाला २ गर्दै ७ सम्म, नाम पढ्दै रमाइलो गर्दै थियौं, आकृती र म । गफ गर्दागर्दै कतिवेला मेरो काखलाई सिरानी बनाएर निदाइछे, थाहै पाइनँ । अनि बल्ल राम्ररी हेरेँ उसलाई, हरियो फ्रक, हरियो ज्याकेट, कानमा टप, रातो रिबन, दुइ चुल्ठी, ठ्याक्कै मेरी बहिनी जस्तै देखिएकी रहिछ उ ।
दाङको पहाडी बाटो छिचोलेर २किमी अर्घाखांचीको बाटो अनि फेरी राप्ती तरेर दाङ, राप्ती नदिको विशाल बगर आँखाले ठम्याइसकेको थियो । त्यहीवेला बस झ्याप्प रोकियो, नानु पनि आँखा मिच्दै “के भो दादा ?” भन्दै उठी । मोडमा आएर रोकिएको थियो बस, सायद त्यो टर्निङ मेरो जीवनको पनि “टर्निङ प्वाइन्ट” नै थियो ।
झ्यालबाहिर देखिन्थ्यो त केवल “भालुवाङ १किमी” लेखिएको पोस्ट । बसमा सबै अलमल्ल परेका थिए,जवाफ लिएर आयो कन्डक्टर । अघिल्लो दिन कुशुमामा भिडन्त भएको रहेछ, त्यहाँको जङ्गलमा सर्च अपरेसन चल्दै थियो रे, त्यसैले गाडी रोकेका रहेछन् ।
“आज दिनभर सायद बस यही रोकिन्छ,खानेपिउने व्यवस्था गर्नुस् ।” यती सुन्दै नानु रोइहाली, जसोतसो सम्झाएँ अनि क्यारिब्यागमा खाजा र साथमा उसलाई लिएर ओर्लिएँ बसबाट । बिहानको ९ बजेको थियो, भालुवाङ बजार १किमी, अनि पछाडी फर्केर हेर्दा कती हो कती लामो लाईन गाडिको ।
“भोक लाग्या छ?”सायद भोक यती लागेको थियो कि जवाफ पनि बोली मा हैन “हो” मा शिर हल्लाउँदै दिई उसले ।
गफ गर्दै १ किलोमिटरको बाटो हिँड्दै कटेको थाहै भएन । होटल अगाडि उभिएर खाना दिएको हेर्यौं, दाल पानीजस्तो, तरकारी पनि झोलमात्र, हेर्दै खान मन नलाग्ने । तर कसैको जिम्मा लिएकाले यसैलाई आहार बनाउन बाध्य थिएँ म । ‘भोजन भन्दा भोक मिठो’भनेरै पनि खानुपर्ने अवस्था थियो ।
“जाम् खान नानु!”
“भो दादा, नखाने यस्तो त, बरु ब्यागमा चाउचाउ बिस्कुट छ,त्यै खाउँला।”
मेरै मनको कुरा गरिदिँदा उसलाई मनैदेखि धन्यवाद दिएँ । राप्ती पुलमा बसेर चाउचाउ खायौँ ।अनि ११ बजे फर्कियौँ,बस भएतिर । महाकाली यातायात गन्न थाल्यौँ “थर्टिन, फोर्टिन! दादा फोर्टिन पो रैछ हाम्रो गाडी त ।”
“ए, अनि तिमी चैँ कती हुन्छौ नि क्लासमा?”
“म त सेकेन्ड ।” ए साँच्ची, कक्षा ४ मा पढ्थी उ ।
“दादा, पछाडिसम्म गनुम् न!”
५० सम्म गन्यौँ,अनी अल्छी लाग्यो,भोक पनि। गीत गाएको आवाज सुनेर गयौँ, टुरमा आएको गुरुप रहेछन्, हामी पनि त्यतै लाग्यौँ। मलाई गाउन भने, आउँथेन, नाचेँ। नानुले गाइः
“लहनाले जुरायो कि,बहनाले भेटायो,भेटिन्जेलको सम्झना,छुटेपछी तिर्सना,जिन्दगानी दर्पण छायाँ”
खाना बोकेरै हिँडेका रहेछन्, हामीसँग कोही ठुलो मान्छे नभएको थाहा पाएर माया गरेर खाना पनि दिए । त्यस्तो बन्दमा मासुभात खान पाउनु भाग्य नै थियो हाम्रो।
सायद ४ बजेसम्म रमाइलो गर्यौ । नानुको खोलातिर जाने मन थियो,तर यता गाडी खुल्यो भने छुट्ला कि भन्ने डर थियो,मनमा । भालुवाङ तिरै गयौँ, पुलमा बसेर खोला हेरिरह्यौँ, घाम डुब्ने तर्खरमा थियो । बल्ल समयको हेक्का भयो ।
“दादा,यतिबेला घर पुग्थ्यौँ है हामी?” एक्कासी नानुले रुँदै भनी । उसका आँसुले अचानक दिनभरिको सबै रमाइलो पखालेर बगाइ मिसाइदियो परको खोलामा।
हो, त्यो हामी घर पुग्ने बेला थियो, तर हामी त्यही थियौँ। आफ्ना आँखाबाट आँसु खसेपनि उसलाई सम्झाउँदै थिएँ । सानो त म पनि थिएँ,तर उसको लागि मैले ठूलो मान्छे बन्नुपथ्र्यो ।
लगभग ६ः३० तिर गाडी खुल्यो । गाडीको लामो लाईन अगाडि बढेको हेर्न पनि छुट्टै रमाइलो! कुशुमा पुग्दा रातको ११ बजिसकेको थियो । ३–४किमी बाटो रुख ढलेको रहेछ,पछी खोलेर वान वे बनाएछन् । कुशुम बेस्क्याम्प वरिपरिका घरमा गोलीका प्वाल मात्र देखिन्थे । मलाई समेत डर लागेको थियो, त्यो देख्दा । धन्न नानु निदाएकी थिइ ।
कोहलपुर पुग्दा २ बजेको थियो होला । तर होटलहरु खुलेकै थिए । नानुलाई उठाएर चिया–खाजा खुवाएँ । दुबै स्कुले बच्चा, फोन थिएन। दुबैको घरमा हामी कहाँ थियौँ, कस्तो थियौँ केहि खबर थिएन ।
बिहान ६ बजे महेन्द्रनगर बसपार्क पुग्यौं । बुवा आउनुभएको रहेछ हामिलाई लिन । अनी बाइकमा पहिले नानुलाई पुर्याउन गयौँ । त्यहाँ पुग्दा आन्टीको मुहारमा जुन खुसी देखेको थिएँ,आजसम्म बिर्सिएको छैन मैले । चिया खायौँ, नानुले मलाई अझै पनि छोडेकी थिइन । घर फर्किन बुवा र मैले बिदा लियौँ । जाँदा जाँदै नानुले बोलाईः
“दादा दादा! आउनु त हजुरको कानमा एउटा कुरा भन्छु !” म निहुरिएँ र उतिर बायाँ कान तेर्साएँ । कानमा बोली कुरिरहेको थिएँ, तर पाएँ त गालामा उसका कलीला ओठले छोडेको मिठो मायाको चिनो । त्यती मिठो सप्राइज कमैले पाउलान् ! मुस्कुराउँदै घर फर्किएँ ।
“बाबु!” अंकलको आवाजले झस्किएँ । आँखा अघि घाटमा वास्तविकता छ, तर म अझै स्मृतिमा डुल्दै रहेछु । अंकलको आवाज,एक त थियो बसको झ्यालबाट, अर्कातिर आजको, र त्यो दिन फोनमा खबर पाएको थिएँ आकृतीलाई ब्लड क्यान्सर भएको ।
“दादा,कहिले आउने मलाई भेट्न?” हाँस्दै सोधी । कसरी त्यति ताकत थियो त्यती सानो मुटुमा, कि त्यस्तोमा पनि हाँस्न, मुस्कुराउन भुलिन उसले ।
बोर्डको परिक्षा थियो,चाहेर पनि जान सकिँन । दशैँमा भेट्ने वाचा गरेँ।
त्यो समय अवधिमा महाकालीमा कति पानी बग्यो होला, तर उसँगको मेरो अनौठो स्नेह एक रत्ती पनि घटेको थिएन । बरु अझ प्रगाढ बनेको थियो । इन्जिनियरिङको तयारी कक्षा सकेर लागेँ,घरतिर । फुलपातिमा पुगेँ घर । अनि भोलिपल्ट गएँ उसलाई भेट्न । पाएँ त केवल आकृतिकी हजुरआमाको जवाफ । फेरि बिरामी भएर दिल्ली लगिएको रहेछ ,उसलाई उपचारका लागि । सम्पर्क गर्न कुनै नम्बर थिएन । ‘कसरी त्यो सानी केटी लडिरहेकी होली त्यस्तो ठुलो रोगसँग पलपल’ सम्झदा पनि आङ सिरिङ्ग भएर आयो ।
दुई दिनअघि पुग्न नसकेकोमा आफैंलाई गाली गर्दै भारी मन लिएर फर्किएँ । फरि सोचेँ, फर्किएपछि भेट्छु ।
दशैँको दिन नातेदारकहाँ जाँदा नजिकैको उसको घर पसेँ, अझै आइपुगेकी थिइन । खिन्न भएँ ।
पूर्णिमाको भोलिपल्ट घरमा थिएँ एक्लो म । बुवाको फोन आयोः
“आकृतीको बुवाको फोन आथ्यो,जा रे!”
खुसीको सीमा थिएन, उसलाई भेट्ने हतारमा समय पनि ढिलो बितेझैँ लाग्यो । तर,जब त्यहाँ पुगेँ माहौल अर्कै थियो, भीड थियो निकै । टाढैबाट पनि बुझ्न समय लागेन मलाई। अँ, उ आइपुगेकी थिइ, त्यहिँ थिइ, फुलैफुलले ढाकिएकी । उसलाई हेर्न आएको थिएँ, त्यो शहर । उसैलाई हेर्न दौडिँदै आएको थिएँ, त्यो घर । तर, त्यो क्षण मेरै अगाडि थिइ र पनि मैले हेर्न सकिँन उसलाई । सरासर भित्र गएँ र अंकलको छेउमा बसेँ । आँसु र रोदन बग्दै थिए,म चुप थिएँ । खै किन यस्तो समयमा आँसु बग्दैन मेरो, मन रुँदै थियो त्यो अलग कुरा ।
“हेर्दैनस्?” अंकलको प्रश्नले फेरी झस्किएछु । थाहा पाउनुभएछ, मैले अझै हेरेको छैन उसलाई । नाइँ भन्न सक्दिँन, उसको दादा जो हुँ म, भाइटिका नलगाए पनि । उसलाई बुटवलदेखि घरसम्म पुर्याउने सहारा, अनि अहिले घरदखि घाटसम्म बोकेर पुर्याउने एक काँध । हरेक सम्बन्धको नाम कहाँ हुन्छ र?
पाइला बढे आकृतीको त्यो आकृतीसम्म । जे मैले देखेँ, थाहा छैन अरु कसैले देख्यो देखेन, सम्झियो सम्झिएन। स्तब्ध भएर फर्किएँ म ।
धुवाँ बनेर आकाश छुन अघि बढ्दै छे उ अहिले । रगतको साइनो नहोला हाम्रो, तर उसको मुहार हेर्ने, उसलाई अन्तिमपटक देख्ने म नै भएछु । सायद आँखा आँसू बगाउने योजनामा मलाई उक्साइरहेको थियो । तर, जुन दृश्य देखेको थिएँ चितामा, त्यसैले रोक्यो,आउनै लागेको आँसू पनि । थाहा छ मैले के देखेँ ? मुस्कान । हो, चितामा निदाइरहेको उसको शरीर निर्जिव थियो । तर, उसको मुहारमा अझै पनि त्यो कोमल मुस्कान थियो । धुवाँमा उड्दै बिलाईरहेको उसको आकृतीलाई वाचा गरेँ मैलेः
“नानु, म सधैं मुस्कुराइरहनेछु, चाहे जतिसुकै ठूलो पीडा किन नहोस्!”

Comments

Popular posts from this blog

The Jack of All Trades

I was told I could be good at anything not warned it meant average at everything People grow up, may be I grew down on every chessboard but as a pawn Being born a cluster of potential meant so much more for me to waste The rising star they all looked up to who fell shooting down in a haste There were so many boats to ride I put my feet in all but heart in none Shuffling again and again to find the same Jack of all trades, master of none. I had this picture perfect idea of me painted gold with every medal I landed every teacher and fortune teller so sure a future set in stone waiting to be handed I was my full-marks and my first prizes my monitor badges and assembly applauses my jumping years and too good for my peers my school songs and their genuine cheers my dance rehearsals, the needles and threads my poems and speeches turning heads my raising hands and stunned teachers my voice familiar with the speakers. Now I am this collage of embarrassments everyday reminded to make amendments...

That Day

  That day I put on a red lipstick cause you asked me to only for you to wipe it off in a hurry. I took a hundred amazing pictures of you only for you to take one blur shot of me. I spent the morning getting ready for you only to hear how I need to learn to be pretty I took the sweetest selfies with you only to forever hide it in my gallery. That day I surprised you with a pair of sunglasses only for you to be mad about how I didn't get a box for it. I paid for our lunch only for you to never ask what I wanted to eat. I got on a crowded bus with you only for you to jump into the only empty seat. I took three buses to get to you only for you to run saying there were friends you had to meet. That day I came to you straight from a week long trip Only for you to say I smelled like shit. I waited all day to get a reply from you only for you to yell for God knows what I did. I made you a video montage on your birthday only for you to say you'll be busy and wis...

हे जानकी !

हे जानकी ! तिमी र म एउटै जात एउटै धर्म एउटै रगत एउटै माटो तिमी र म कहाँ फरक छौँ  र ? तिमीले दुःख नपाएको होइन मैले पनि सुख पाएको होइन नेपालकी चेलीको कर्मै यही रहेछ तिमीले रामायण जहाँ छाडेकी थियौ मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ आउ न आफ्नै आँखाले हेर मेरो जन्म तिम्रो जस्तै छ मेरी आमाले पनि मलाई समाजको डरले धरतीले तिमीलाई लत्याएजस्तै एउटा फोहोरको डिब्बामा मिल्क्याइन् तिमी भने राजपुत्री भयौ म भने एउटा गरिब घरकी चेली भएँ तिमी स्वयंवरमा सजाइयौ म ठालूका आँखामा सजाइएँ तिमीलाई बहादुरीले जितेर लग्यो मलाई पैसाले जितेर लगे हे जानकी ! तिमी कि जनकपुत्री जानकी बन्यौ कि रामप्रिया सिता मेरो नागरिकता पनि पिता र पतिमा अडेको छ आउ न आफ्नै आँखाले हेर सुखशयलको जीबन छाडी पतिसँगै वनवास लाग्यौ इच्छाआकांक्षा मार्ने तिम्रो बानीले मलाइ पनि कहाँ छाडेको छ र ? तर यो त तिम्रो बानी होइन बाध्यता रहेछ माइतमा पिताको आज्ञाा र घरमा पतिको आदेश मेरो पनि सास यति मै खुम्चिएको छ तिमी वनवास लगिएझैँ म पनि सिमानापारि कुनै कोठीको वासमा बेचिन्छु आउ न आफ्नै आँखाले हेर सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो हे जानकी ! म पनि कहा...