Skip to main content

ट्युसन जिन्दगीको

“करुणा, के छ हालखबर ?” 

अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै म सम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ? 

“ए, आकाश दादा, हजुर पो ?” 

“अँ, को भन्ठान्यौ र ?”

खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न, पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्याे “मेरो जीवनमा यस्तो दिनकहिले आउला ?”

 “कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल !”


 “हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेख सम्म नभाको ।” 


हुन त हो,एक त्यो समय थियो मेरो एसएलसी अघिको,अनि एक आजको दिन छ । पढ्दापढ्दै समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “टिनएज”पनि बित्छ यसैगरि, अरुका जोडी हेर्दै, आफ्नो रुपको गुनासो आफैँसँग गर्दै ।  


“अनि पुल्चोकमा नाम निक्लियो रे नि त इन्जिनियरिङ्गमा ! बधाई छ है ! मेरो समेत नाक लामो भो, एक जमानामा मेरोमा ट्युसन् पढ्ने केटी हो भन्न पाउँछु नि, तिमीले पो चिन्नै छाड्यौ त!”

 “त्यस्तो हैन दादा, साच्चैँ चिनिँन मैले एकैछिन त ।”

 “लौ, आत्तिनु पर्दैन, जिस्केको पो त । ल म गएँ है, हतार छ अहिले, राम्ररी पढ्नु, बाइ !”

 “बाइ !”

 बाइक फेरी पुरानै गती खोज्दै अघि बढ्यो, मलाई भने त्यहिँ रोकेछ समयले । दादालाई सजिलै नचिन्नु मेरो भुल थिएन । कहाँ आज बाइक हुइक्याँउने यो शरिर अनि कहाँ दुइवर्ष अघिको आकाश दादा । 

“दादा, यो फोटो कसको ?” 

भित्तामा टाँगिएको थियो तेरे नाम हेयरकटमा मुस्कान दिइरहेको एक क्लिन शेभ्ड मुहार । म सोच्दै थिएँ कतै कुनै नयाँ हिरो त आएन बलिवुड या कलीवुडमा जसको बारेमा मलाई केहि खबर नै थिएन । 

“मेरो !” 

पत्याउन सकिँन । मेरो अघि त्यो फोटो आफ्नो भन्ने दादालाई हेरेँ, ओढ्नाले ढाकेको छाती अनि महिनौँ देखि नकाटेको जुँगादारी र कपाल । बरु तेरे नामको अन्तिम तिरको सलमान भन्न सुहाउँथ्यो होला, कपाल त्यति लामो नभएको भए । 

“तर कस्तो अर्कै!” 

“अँ, एकजमानामा ह्यान्ड्सम नै थिएँ, अहिले पो यो हातले जोगी बनायो!”

 ओढ्नाले ढाकेको त्यो भाँच्चिएको हात सम्झिएर आफ्नो प्रश्न आफैँभित्र रोकेँ । टोलमा सुने अनुसार आकाश दाईको हात फुट्बल खेल्दा भाँच्चिएको थियो । दुइ घर पारिको मेरो घरको छतबाट ओढ्ना ओढेको देखेको धेरै समय बितिसकेको थियो, र पनि न त प्लास्टर हट्थ्यो, न त त्यो ओढ्ना नै । अचम्मलाग्थ्यो, मेरो खुट्टा भाँच्चिदा पनि त्यती महिना राख्नु परेको थिएन, अनि सुनेँ दादाको हातमा रड हालेको छ रे । अनि डर लाग्थ्यो, हाम्रो त हातमा हड्डी हुन्छ, रड हुने मान्छे कस्तो होला ?

 समय ले त्यही मान्छेलाई मेरो ट्युसन टिचर बनाएको थियो । 

नढाँटी भन्ने हो भने दादाको लागि त्यो ट्युसन रहर हैन बाध्यता थियो । कलेज जान, खेल्न, डुल्न सबैमा हातले प्रतिबन्ध लगाएको त्यो शरिरका लागी दिन बिताउने र अलिअलि पैसा जुटाउने मेसो । एकपटक झुलुक्क देखेकी थिएँ ति रडका बाहिर चिहाउने पुर्जा, अनि आँत काप्यो । खै कसरी त्यस्तोमा पनि कहिले काहिँ हाँस्नुहुन्थ्यो दादा । हाँस्नको कारण दुइमात्र थिए, ट्युसन कम रमाइलो बढी गर्न जाने हाम्रो जमात, अनि आफ्नी गर्ल्फ्रेन्डको फोनकल । 

को थियो होला र दादाको प्रेमको चर्चा नसुनेको ? मैले सुने अनुसार चार वर्ष बितिसकेको थियो रे त्यो प्रेमसम्बन्धको । दुवै परिवारलाई थाहा थियो, प्रतिक्षा थियो त केवल दादाको इन्जिनियरिङ्ग र दिदीको नर्सिङ सकिने समयको ।

 पर्समा एकपटक तस्विर देखेकी पनि थिएँ । दादाको पुरानो तस्विर हेर्ने हो भने त सुन्दरतामा दादाले जित्नुहुन्थ्यो । अनि सम्झिन्थेँ मलाई कालीभन्दै आठ कक्षामा मेरो प्रेम प्रस्ताव खारेज गर्ने केटा ! 

“दादा, हजुर त दिदी भन्दा कती धेरै राम्रो हुनुहुन्थ्यो, अनि लभ कसरी पर्यो ?” 

“प्रेम यस्तै हो, आफुले माया गर्ने मान्छे को कमजोरी न देखिन्छ, न माया कम नै हुन्छ । तिमीहरुले बुझ्दैनौ यस्तो कुरा!”

 आफैँलाई लाग्यो, मलाई त “लभ”मात्र थाहा रहेछ, माया प्रेम त बुझ्ने बेला नै भएको थिएन । 

“सबै गइसके, तिम्रो घरमा त ताल्चा उस्तै छ, बस्दै गर एकैछिन, मम्मी आएपछि गए हुन्छ । म खाजा लिएर आउँछु । डर त लाग्दैन नि ?”

 एसएलसी नजिकिँदाको एक दिन थियो । डर ? घरमा भन्दा बढी समय त त्यहिँ बित्थ्यो मेरो । साँच्चै भनुँ भने मैले आकाश दादामा आफु एक्लो सन्तान हुँदा गुमाएका सबै अनुभव बटुल्दै थिएँ । भन्न मन लाग्थ्यो, आफ्नै दादासँग बस्न केको डर ? 

“लाग्दैन!”  

दादा ढोकाबाट बहिर निस्किएको केहि बेर पनि नहुँदै फोन बज्यो, रिङ्गटोन मैले चिनि हालेँ । बोलाउने सुरमा थिएँ तर मैले केहि गर्नुपरेन, रिङ्गटोन नै काफी थियो । जब जब त्यो रिङ्गटोन बज्थ्यो दादाको मुहारमा अर्कै चमक, अर्कै उत्साह हुन्थ्यो, फोन उठाउन हतार पनि गज्जब नै हुन्थ्यो । त्यो दिन पनि त्यही उत्साहले फोन लिएर निस्कनु भयो छतमा । 

अचानक आएको आवाजले झस्किएर बाहिर निस्किएँ । दादा वेगले सिँढिबाट ओर्लिएर मेरा आँखाबाट ओझेल हुनुभयो । केहि बेर त अलमलिएँ, अनि सिमेन्टले बनेको जमीनमा छरिएका मोबाइल फोनका पार्ट्पुर्जा देखेँ । सधैँ दादाले आफुलाई र हामीलाई समेत गित सुनाउने त्यो फोनको माया लाग्यो, अनि टिप्नु कि नटिप्नु असमन्जसमा परेँ । तर फोनको भन्दा बढी दादाको माया लाग्यो, अनि दौडिएँ तल ।

 सायद फोनलाई टिपेर जोड्न सजिलो हुन्थ्यो होला, तर जब त्यहाँ दादालाई देखेँ तब लाग्यो त्यहाँ धेरै कुरा छरिइसकेका थिए जो त्यो उमेरमा मैले समेट्नु सम्भव थिएन । पूजा लगाएपछि आँगनबाट नहटाइएका कुर्र्सी दादाको रिसको शिकार बन्दै थिए । म न कारण सोध्न सक्थेँ न दादालाई सम्हाल्न नै । कुनामा चुपचाप उभिएर त्यो हालत,त्यो पागलपन देख्दा मेरै आँखाबाट आँसु बगिसकेछन्,निम्तो बिना नै ।  

म रोएको देखेर थियो वा तर्सिएको बुझेर, दादा आफुलाई सम्हाल्दै चुपचापमाथि हिँड्नुभयो । म पनि प्रश्नै प्रश्नलिएर पछिपछि लागेँ, सोध्न सकिँन त्यो कुरा अलग थियो । केहि बेर त्यहाँँ केवल मौनता नै थियो, अनि मौनतामा पनि सधैँ ताकत हुँदैन रहेछ बोलिदिने ।  

“फोर यर्स ! चार वर्ष को रिलेसन अनि आज आएर भन्छे फिलिङ्स आएन । फिलिङ्स के बेमौसमे झरी होर अचानक आउने अचानक बिलाउने ?” म सुनिरहेँ ।

 “आइ कान्ट बि विथ यु, मलाई फिलिङ्स नै आउन छोड्यो तिम्रो लागी रे । फिलिङ्स माइ फुट! मेरो हात ठिक हुन्जेल त आउँथ्यो होला नि त्यसलाई फिलिङ्स ? बस् ! अहिले हात ठिक हुने आश मर्यो अनि मर्यो त्यसको फिलिङ्स पनि । बाइकमा घुमाउन लग्न सकिँन, त्यो सँग डेट जान हिँड्न सकिँन, अरुको अगाडी ब्वाइफ्रेन्ड भनेर चिनाउन पनि लाजैमर्दो पार्ने सन्यासी देखिएँ होला म, अनि आउन छोड्यो फिलिङ्स ।

 अझ अर्को केटाले म भन्दा बढी केयर गर्यो रे ! बाइकमा घुमायो होला, इस्कुटीमा पेट्रोल हालिदियो होला, फोनमा रिचार्ज गरिदियो होला,महँगो खाजा खुवायो होला, त्यही केयर भो होला त्यसको लागि म जस्तो हात भाँच्चिएकोले गर्न नसक्ने । बरु हात प्लास्टर गरेको दिनमै म घाइतेलाई दया मात्र गर्न सक्छु, माया गर्न सक्दिँन भनेको भए बाटो छोडिदिन्थेँ । अहिले आएर फिलिङ्स मर्यो अरे ! त्यसको फिलिङ्स मरेको हैन अन्तै डेरा सरेको हो ।”  

मेरो सुझबुझ भन्दा बाहिर थियो,चुपचाप सुनिरहेँ । झ्यालनेर उभिएर बाहिर हेरेर अचानक म तिर फर्किनु भयो दादा “ढोका खुलिसकेछ तिम्रो घरको । आन्टी आउनुभो होला, जाउ!”

 त्यही अन्तिम थियो आज नभेटेसम्म मैले आकाश दादाको मुखबाट सुनेको । त्यो दिनबाट दादा खै कता हराउनुभयो, कसैले थाहा पाएन । पछी सुनेँ घर सरेको कुरा, अनि यो पनि सुनेँ कि उपचार गर्दा गर्दा हात निको भयो । सोच्थेँ, दादाको हात ठिक भएपछि दिदी फर्किनुभयो होला ? कि दादाले अरु कोही भेटाउनु भयो ?अनि फेरी सोच्छु, के त्यसपछि मायामा बिश्वास रह्यो होला र ? 

यहाँ म कहिले माया नपाएर त कहिले लभ नपरेको निहुँमा आफैँमा कमी खोज्दै दिन बिताउँछु । सायद यो मायाको परिभाषा नै यस्तो रहेछ, नपाउनेका लागि अलग, पाउनेका लागि अलग अनि पाएर पनि गुमाउनेका लागि अलग । 

छेवैबाट एक जोडी गयो एक अर्काको हात समाउँदै । आजपनि मेरो मनमा प्रश्न उठ्यो, केवल प्रश्न अलग : “के ति दुइमध्य कुनै हात प्लास्टरमा बाँधिए समाइ रहेको त्यो अर्को हात साथ रहला ?” 

Comments

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

चर्किएको ऐना

              रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन !               आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्...