ब्रेकसँगै झट्टै मेरा आंखा ट्याक्सीको मिटरमा पुगे । सम्झिएँ, दाम त एयरपोर्टमै तोकिसकियो । मिटर त केवल हात्तीको देखाउने दाँत थियो, व्यर्थ ! ढोका खोल्न हात बढाएँ, घरी एकथरी ह्यान्डल तानेँ घरी अर्को । तर फगत्, ढोका खुलेन । केहि सिप नलागेपछी हतास भएर हेरें केहि अघिदेखी मेरो क्रीयाकलाप नियालीरहेको ट्याक्सीचालकलाई । अलि पछाडी सर्यो, हात तन्कायो र सानो माइकजस्तो देखिने त्यो लक तान्यो । मनमनै आफुलाई “थुक्क” भन्न भ्याएँ । एक वर्षमा कती थोक बदलिए होलान् तर ट्याक्सीको ढोका खोल्न उस्तै अनाडी ! ह्यान्डलको “खिटिक्क”सँगै ढोका सजिलै खोलिदियो उसले, अनि मतिर हेरेर ङिच्च हाँस्यो । भावहिन मुहारले उसले गिज्याएको पचाउंदै ओर्लिएँ म, अनि पाइला टेकें आफ्नो लोकन्थलीको जमीनमा एक वर्षपछी ।
केहि पाइला अघी बढाएँ अनि नियालेँ आफ्नो टोललाई । एकतिर बुढेसकालमा पहेंला खिइएका दाँत देखाएर हाँसेझैँ हाँसेका पुरानो बस्तीका घर र तीनका गोठ । अर्कोतिर नयाँ बस्तीका अग्ला रंगीन घर, बैँसको घमन्ड हांसिरहेझैँ । अनि यी बिच तिनै घरमा तल्ला कोठामा जिन्दगी गुजार्नेहरुका मासुपसल, ग्रीलपसलका रुन्चे टहरा ।
स्वार्थी आँखाले आफ्नै घर खोज्नथाले ।
“दिदी !”
सुटकेस रोडमा राखिदिएर आफ्नो काम फत्ते गरि मेरो पालो सम्झाइदियो । बसमा बुढा कण्डक्टरले दिदी भनेर बोलाउँदाझैं मनमनै फत्फताएर पैसा थमाइदिएँ । आदर पनि नपच्ने ! ट्याक्सी आफ्नै बाटो लाग्यो । म उभिरहेँ सुटकेस समातेर । आँखाअघी एक साँघुरो गल्ली थियो घरसम्म पुग्ने । आँखालाई घर हेर्ने हतार, तर बाधा बनिदिए गल्लीको मुखमा गेटपाले उभिएझैं उभिएका दुइ अग्ला घर ।
आमाले भन्नुहुन्थ्यो त्यो दिन यी दुइ घर घरी नजीक आएर ठोक्किउँला झैं देखिन्थे, घरी एकअर्कासंग रिसाएर दुइतिर फनक्क फन्किएझैं ।
“घर कस्तो भएछ हेर्न हतार भको हो नानी ? क्यै भाछैन । बरु पर्खाल भत्केर खुल्ला, झन् ठुलो देखिन्छ आजकल ।”
तिनै दुइमध्ये एक घरबाट आएको आवाज पछ्याउंदै देखें आन्टीको मुहार । केहि नबुझी जवाफमा एक “चिनजानको मुस्कान” दिएर अघी बढेँ सुटकेस डोर्याउँदै । जती अघि, जती नजिक पुगेँ घरको, त्यती प्रष्ट बुझ्दै गएँ ।
अहँँ, यतिका महिना बितिसक्दा पनि मलाई भन्नु जरुरी सम्झेनछन् । भूकम्पपछीको हरेक फोनकलमा “अँ, हामिलाई ठिक छ, घरलाई नि केहि भको छैन” भन्ने खबर पाउथेँ । “केहि भएको छैन” भनेको घरको कम्पाउन्ड वाल पुरै भत्किसकेछ । बाँकी वाक्यमा कती सत्य होला ?
हुन त विदेशमा बसेर इन्टरनेटमा तस्वीरका पानामा पढेको क्षतीसंग दांज्ने हो भने यो केहि नहोला । तर स्वार्थी मन, अरुको घरै ढलेको थियो भन्दैमा आफ्नो जाबो पर्खाल न हो भनेर के मान्थ्यो र ? टाढाबाटै घर छर्लङ्ग देख्दा कताकता के बिझेझैँ भयो । सोच्न बाध्य भएँ, के यो उहि फुल सजिएका गाग्रीले सिंगारिएर मलाई एक वर्षअघी बिदा गर्ने घर हो ? यती खाली, यती उजाड ? जहाँँ कुनैबेला चारैतिर अग्ला पर्खाल शानसंग उभिन्थे त्यहाँ केहि गुलाफ र घन्टीफुलका लत्रक्क परेका बोटले उसको कमी बिर्साउने प्रयास गर्र्दैिथए । अफशोश ! एक असफल प्रयास.....।
“खुला, ठुलो, राम्रो !” आन्टीको कुरा सम्झिएँ, अनि फेरी अर्को नजरले हेर्न चाहेँ उहि घरलाई । हो, कताकता घर बेग्लै ढङले राम्रो देखिएको थियो । गल्लीदेखी नै यसरि अँगालो फैलाएर स्वागत गर्न कहाँ पाउँथ्यो र उसले ? पर्खालको घुम्टोपछाडी लुकाइएको उसको मुहार, तन्किएर बाहिर हेर्ने कती असफल प्रयत्न गथ्र्याे होला उसले ? बल्ल पो उसले खुला हावामा सास फेर्न पायो । आफ्नो सुरक्षाको लागी आफैंलाई पर्खालभित्र कैद गर्न विवश मेरो घर, बल्ल पो स्वतन्त्र भयो !
“बाबा! आमा !”
आफ्नै आवाज नौलो लाग्यो आज । आफ्नो टोलमा जसरि निर्धक्क भएर चिच्याउन अन्त कहाँ पाउनु ? धोकाबाट बाबा निस्कंदा झुक्किएर एक खुट्टामा आफ्नो अनि अर्कोमा मामुको चप्पल हुल्नै लाग्दा हासेँ म । बाबा पनि हाँस्दै बढ्नुभयो मतिर । अलमलिएँ, किन बोलाएँ मैले बाबालाई ? त्यहाँ उभिएर त ढोका खोलिदिनलाई बोलाउथेँ मैले, तर अब त न पर्खाल थियो न ढोका । झुक्किएँ म पनि नराम्ररी, अघिसम्म बाबाको भुलमा हाँस्नेको आखिर आफ्नै पालो आयो ।
स्काइपमा देखिरहेको मुहार, र पनि नौलो लाग्यो आफुसामु उभिँदा । एकटकले हेरिरहेँ । के एक वर्ष साच्चैँ यती लामो हुन्छ ? वा भूकम्पले लम्बाइदियो यो समय, बढाइदियो त्यो माया ?
“एयरपोर्टमा नि आउन दिनस् ! झन् जिद्दी भएर आइस् है ?”
धेरैपछी भेट्दा कि त बोली फुट्नुपर्ने, नभए आंसुको भक्कानो । मसँग एक फिक्का मुस्कान मात्र थियो ।
पर्खाल भत्किएपछीका इँटाले छापेको बाटोमा सुटकेस तान्न खोजेँ अनि हार मानेर बाबालाई सुम्पिदिएँ । चुपचाप उही घरको नौलो रुप नियाल्दै, अनौठो मान्दै अघी बढेँ, आफ्नै घरमा एक पर्यटकझैँ !
भित्र पस्नुअघी किनकिन कौसिले आफुतिर तानेझैँ लाग्यो । ढोका तान्दातान्दै छोडिदिएँ अनि सम्मोहित भएझैँ कौसीतिर बढे मेरा पाइला ।
आफ्नो कोठाभन्दा पनि प्रिय ठाउँ मेरो । बर्षातमा पानीमा भिज्न अनि जाडोमा घाम ताप्न धाउने कौसी । घुम्दै जवाफ रट्न अनि पावर रेन्जर हेरेपछिको जोशमा पिल्लरलाई लात हान्न काम आउने कौसी । एकाएक मुस्काएँ हावा र सम्झनाको स्पर्शले ।
“नानी ! नानी !”
आमाको आवाजले झस्किएँ ।
“भेट्नु नि पर्दैन है आएपछी ? म तल कुरिराको उ चैँ यता आइसकिछे । कती एकलकाटे भकी तँ ?”
फिस्स हासेँ मात्र । सायद एकलकाटे पहिलै थिएँ, अझ अहिले त घरबाट टाढा बस्नुको असर ।
“बोल्न नि पैसा पर्छ हो अब तँलाई ?”
आउँदै गाली खान पाउने कती भाग्यमानी म ! बोल्नु त निशुल्क थियो तर मनमा कुन्ठा थिए र केवल एक प्रश्न । चुपचाप कौसीको डिलतिर बढेँ अनि तलतिर हेरेँ ।
“आमा, पर्खाल भत्केको कुरा किन भन्नुभएन मलाई ?”
“पढ्न गको मान्छेलाई के सुनाएर टेन्सन दिराख्नु भनेर नि !”
“धरहरा, दरबार स्क्वायर, रोड, गाउँ, मान्छे, सबको बिचल्ली देखेकै हो फेसबुकमा । यती भनिदिएको भए केहि हुन्थेन होला ।”
“छोड्दे अब! भनेको भए नि के नै गर्न सक्थिस् र ?“
हुन त हो, के नै गर्ने थिएँ र मैले ? दुखमनाउ ? त्यताबाट न एउटा इँटा टिपिदिन सक्थेँ, न कमाइ थियो पठाउन पर्खाल फेरी ठड्याउनलाई ।
फेरी आफ्नै सुरमा हेरिरहें यताउता । त्यो भत्किएको पर्खालले छुट्टाएको सांध, सांधपारीको घर.....।
अचानक केहि सम्झिएं, मन झनै खिन्न भयो । यो पर्खाल भत्किएको म दोस्रोपटक हेर्दैथिएँ ।
........................................
७ –८ कक्षामा थिएँ सायद । भोलिपल्ट जांच थियो, त्यसैले पढ्नमा व्यस्त थिएँ । रातको सुनसानमा बर्षातको आवाज बाहेक पनि केही कानसम्म पुगेझैं लाग्यो । गल्लीछेउको घर, मान्छे हिड्ँनु, चुरोट खान उभिनु, बोल्नु नयाँ कुरा थिएन । तर जब केहि हिर्काएझैं आवाज आयो तब झ्यालबाट चियाएँ । अँध्यारोमा केहि देख्न सकिँन । बस् नशामा कोहीे एकोहोरो बोलिरहेको सुनेँ, श्लिल अश्लीलको ज्ञान त्यो उमेरमा शुन्य । बत्ती बालेर हेर्दा एक चिनिरहेकै मुहार थियो, जो घरी लात र घरी लौरोले कुन्नी कुन पापको सजाय दिँदैथियो हाम्रो पर्खाललाई । भर्खरै लगाएको पर्खाल पनि उसको प्रहार सहन नसकी ढल्दैथियो, विवश !
“बाबा ! आमा !”
बाबा ट्वाइलेटमा अनि आमा मस्त निद्रामा ! खोजेर, सबै बेलिबिस्तार लगाएर फर्किउन्जेल बाहिर उसको परिवारका सदस्य आइसकेका थिए । आशाको किरण झुल्कियो, उसलाई सम्झाएर त्यहाँबाट लग्थे कि !
“हो हो ! ढाल्दे !”
पर्खालसँगै ढल्यो त्यो आश पनि ।
बाबाआमा बाहिर पुग्नु, झागडा सुरु हुनु, मान्छे जम्मा हुनु, यो सबको बिचमा म डराएर खाटमा पल्टिएर रोइरहेँ । अबुझ, रनभुल्लमा परेकी थिएँ म । चोरले पर्खाल भात्काएको त सुनेकी थिएँ, तर आफ्नै छिमेकीले ?
बिहान बाहिरको हल्लाले आँखा खुल्यो । बाहिर निस्कँदा चिप्रा र अपुरो निद्रा बोकेका आँखाले उहि भिड, उहि दुइ परिवार, बोनसमा आएका केहि रमिते र प्रहरी देख्नपुगे । जग्गाको कुरा गर्र्दैिथए, मैले बुझ्न सकिँन । अनि छेउमा त्यो भत्किएको पर्खाल ! आखीर रातीको घटना सपना होइन रहेछ ।
पहिलोपटक प्रहरीलाई त्यती नजिकबाट देखेकी थिएँ । सानैदेखी पालेको बेअर्थको डर, आमाको पछील्तिर लुक्न पुगेँ ।
“आमा ! पुलिस किन आको ?”
“हिजो राती चोरले घरको पर्खाल भत्काथ्यो नि ? हो, त्यही चोरलाई समात्न आको !”
पर्खाल भत्काउने मान्छे अगाडी नै उभिएको थियो, निर्लज्ज! कुनै पश्चाताप थिएन उसलाई । अझ आमाको कुरा सुनेर आँखा तर्दैथियो । सायद प्रश्न मेरो भएपनी आमाको लक्ष त्यो जवाफ उसैलाई सुनाउनु थियो ।
बहस चलिरह्यो, मलाई जाँच दिन जान ढिलो हुन्छ भनेर भित्र पठाइयो । ब्याग बोकेर बाबाआमाको “बेस्ट अफ लक” बिना नै हिडेँ त्यो दिन । सायद त्यतीन्जेल सहमती भइसकेको थियो । तर अहँ, खुशी कोही देखिँन ।
..............................................................
“नानी !”
आमाले मेरो फ्ल्याशब्याकको गाडीमा झ्याप्पै ब्रेक लगाइदिनुभयो ।
“अं भन्नु ।” अझै पनि मन नलागी नलागी बोल्दैथिएँ म ।
”था’छ ? म आज बल्ल माथी कौसीमा आको, भैँचालो आएदेखि !”
अचम्म ! हरेक बेलुकी कौसीमा आएर बारीको निरिक्षण गर्ने र वरिपरी कौसीबाटै गफ गरेर भ्याउने मेरी आमा यती महिनासम्म एकपटक पनि यहाँ पाइला नटेक्नु, यो कसरी सम्भव भयो ?
“लौ ! किन नि ?”
“डर लागेर ।”
डर, भुकम्पको ! साँच्चै, कौसीमा हुँदा भुकम्प आए मान्छे कता आड लिँदो हो, कता भाग्दो हो ? वा आत्तिएर डिलबाटै....?
“आमा, हिंड्नु तल ।”
कति छिटो मलाइ पनि छोइसकेछ ।
.
.......................
बैठक कोठा बेग्लै देखेँ, बिरानो लाग्यो त्यो पनि । सोफा, टेबुल, सबै हटाएर खाली पारेर डस्ना र तन्ना ओछ्याएर बनाइएको “बेड” ! एकतिर छुट्टै थियो अर्को, सायद मेरो स्वागतमा ।
“यो किन यसरी राख्या नि बाबा ?”
“सुत्न ! भैँचालोपछी भित्र कोठामा सुत्न छोडिसक्यौँ । यता भए फुत्त भाग्न पनि सजिलो । अब त पर्खाल पनि छैन । उफ्रिनासाथ पारी पुगिहालिन्छ, हाहा ! ”
सजिलै त्यो भत्किएको पर्खालको मर्म हांसोमा उड्यो । म हांस्न सकिँन । फेरी आँखा ढोकाबाहिर पुगेर त्यही पर्खालको खोजीमा लागे । अहँ, भेटिएन । अनि पछारिए पारीको दुनियाँमा ।
छिमेकाका फुच्चे फुटबल खेल्दै घरिघरी हाम्रैतिर नजर लगाउँदै थिए । निशाना कहाँँ रहेछ ? हेर्नलाई तन्किएँ, सायद अम्बाको बोट ! साँच्चै, पर्खाल भत्किएपछी त चोर्नलाई पनि सजिलो होला !
उनिहरुको बारेमा राम्रो सोच्न यो मनले कहिल्यै जानेन ।
त्यो रात पर्खाल मात्र होईन, एक सम्बन्ध, एक विश्वास नै भत्किएको थियो । दुइ घरबिच शितयुद्द चलेझैं थियो । के ठुला के साना, त्यस दिनपछी कसैले एकार्कालाई रुचाएनन् । ठुला आँखा तर्दै, गफमा व्यङ्ग्य मिसाएर सुनाउंदै मनको भडास पोख्थे । हामी सानाको आफ्नै तरिका थियो । उताबाट बल हाम्रो तिर फ्यांकेर सन्तुष्टी लिन्थे । म पनि केराको बोक्रा उता फ्यांकेर ठुलै बदला पुरा गरेझैं खुशी हुन्थें ।
कुनैबेला पढ्नुपथ्र्यो “छिमेकी भनेका जिउँदाका जन्ती मर्दाका मलामी हुन् ।” तर न एक घरबाट जन्ती जाँदा अर्को घरलाई निम्तो आयो, न एक घरमा बिरामी पर्दा अर्को घरबाट कोही हेर्न नै गयो । वा सायद हामी “छिमेकी” नै थिएनौँ । सांध जोडिएर मात्र कहाँ हुन्थ्यो र मन नै नजोडिए पछी ?
हेर्दाहेर्दै ती दुइ हाम्रो घरतिर बढे, पक्कै पनि अम्बा लिने तरखरमा । म रोक्न तयार थिएँ, त्यत्तिकैमा आमालाई देखेँ । आमाले आफैं अघी बढेर अम्बा दिनुभयो । म अचम्ममा पर्नु स्वभाविक थियो ।
“ए भन्नै बिर्सेछु, आजकल हामी उनिहरुसँग राम्ररी बोल्छौं ।”
सोध्नै नभ्याएको प्रश्नको जवाफ आयो बाबाबाट ।
“लौ ! कसरी भयो यस्तो ?”
सुनिरहेँ, बाबाको बोलीमा भूकम्पको कथा पढिरहेँ । कसरी भूकम्पले सबैलाई घरबाट बाहिर निस्किएर खुला आकाशमुनी सँगै बस्न बाध्य बनायो । कसरी एउटा घरको पानीले दुवै घरको तिर्खा मेट्यो, अर्को घरको बारीको सागले कसरी दुवै घरको पेट भर्यो, सुनिरहेँ ।
“नानी, भैँचालोले तर्साउँदा भागेर खुला ठाउँ खोज्दा कसको जमीनमा उभिएं भन्ने प्रश्न आउँदैन रहेछ । खाटबाट भुइँमा सुत्ने दिन आउँदा स्वार्थ, लोभ कुन्नी कता हरायो । जुन जमिनको लागी मर्न–मार्न तयार भइयो, त्यही जमिन प्राण लिन तम्सिँदा एकआर्काको सहारा बन्नुपर्दो रैछ ।”
बाहिर आमा आफ्नै नातेदारलाई झैं खुशीसाथ अम्बा भाग लगाइदिंदै हुनुहुन्थ्यो ति दुइलाई ।
“दिदि, नानीले साग नखाको धेरै भो होला, लिन आउनु हाम्रो बारीको साग !”
आमा अघी बढ्नुभयो । भत्किएर पनि बाँकी रहेका केहि इंटाले रोके । सरक्क पन्छाएर साँध नाघ्दै उता पुग्नुभयो । हांसो, गफगाफ चलिरह्यो । म भने एकटकले हेरिरहें, भूकम्पले भत्काएको पर्खाललाई ।
Comments
Post a Comment