Skip to main content

भत्किएको पर्खाल


ब्रेकसँगै झट्टै मेरा आंखा ट्याक्सीको मिटरमा पुगे । सम्झिएँ, दाम त एयरपोर्टमै तोकिसकियो । मिटर त केवल हात्तीको देखाउने दाँत थियो, व्यर्थ ! ढोका खोल्न हात बढाएँ, घरी एकथरी ह्यान्डल तानेँ घरी अर्को । तर फगत्, ढोका खुलेन । केहि सिप नलागेपछी हतास भएर हेरें केहि अघिदेखी मेरो क्रीयाकलाप नियालीरहेको ट्याक्सीचालकलाई । अलि पछाडी सर्यो, हात तन्कायो र सानो माइकजस्तो देखिने त्यो लक तान्यो । मनमनै आफुलाई “थुक्क” भन्न भ्याएँ । एक वर्षमा कती थोक बदलिए होलान् तर ट्याक्सीको ढोका खोल्न उस्तै अनाडी ! ह्यान्डलको “खिटिक्क”सँगै ढोका सजिलै खोलिदियो उसले, अनि मतिर हेरेर ङिच्च हाँस्यो । भावहिन मुहारले उसले गिज्याएको पचाउंदै ओर्लिएँ म, अनि पाइला टेकें आफ्नो लोकन्थलीको जमीनमा एक वर्षपछी ।

केहि पाइला अघी बढाएँ अनि नियालेँ आफ्नो टोललाई । एकतिर बुढेसकालमा पहेंला खिइएका दाँत देखाएर हाँसेझैँ हाँसेका पुरानो बस्तीका घर र तीनका गोठ । अर्कोतिर नयाँ बस्तीका अग्ला रंगीन घर, बैँसको घमन्ड हांसिरहेझैँ । अनि यी बिच तिनै घरमा तल्ला कोठामा जिन्दगी गुजार्नेहरुका मासुपसल, ग्रीलपसलका रुन्चे टहरा ।

स्वार्थी आँखाले आफ्नै घर खोज्नथाले ।

“दिदी !”

सुटकेस रोडमा राखिदिएर आफ्नो काम फत्ते गरि मेरो पालो सम्झाइदियो । बसमा बुढा कण्डक्टरले दिदी भनेर बोलाउँदाझैं मनमनै फत्फताएर पैसा थमाइदिएँ । आदर पनि नपच्ने ! ट्याक्सी आफ्नै बाटो लाग्यो । म उभिरहेँ सुटकेस समातेर । आँखाअघी एक साँघुरो गल्ली थियो घरसम्म पुग्ने । आँखालाई घर हेर्ने हतार, तर बाधा बनिदिए गल्लीको मुखमा गेटपाले उभिएझैं उभिएका दुइ अग्ला घर ।

आमाले भन्नुहुन्थ्यो त्यो दिन यी दुइ घर घरी नजीक आएर ठोक्किउँला झैं देखिन्थे, घरी एकअर्कासंग रिसाएर दुइतिर फनक्क फन्किएझैं ।

“घर कस्तो भएछ हेर्न हतार भको हो नानी ? क्यै भाछैन । बरु पर्खाल भत्केर खुल्ला, झन् ठुलो देखिन्छ आजकल ।”

तिनै दुइमध्ये एक घरबाट आएको आवाज पछ्याउंदै देखें आन्टीको मुहार । केहि नबुझी जवाफमा एक “चिनजानको मुस्कान” दिएर अघी बढेँ सुटकेस डोर्याउँदै । जती अघि, जती नजिक पुगेँ घरको, त्यती प्रष्ट बुझ्दै गएँ ।

अहँँ, यतिका महिना बितिसक्दा पनि मलाई भन्नु जरुरी सम्झेनछन् । भूकम्पपछीको हरेक फोनकलमा “अँ, हामिलाई ठिक छ, घरलाई नि केहि भको छैन” भन्ने खबर पाउथेँ । “केहि भएको छैन” भनेको घरको कम्पाउन्ड वाल पुरै भत्किसकेछ । बाँकी वाक्यमा कती सत्य होला ?

हुन त विदेशमा बसेर इन्टरनेटमा तस्वीरका पानामा पढेको क्षतीसंग दांज्ने हो भने यो केहि नहोला । तर स्वार्थी मन, अरुको घरै ढलेको थियो भन्दैमा आफ्नो जाबो पर्खाल न हो भनेर के मान्थ्यो र ? टाढाबाटै घर छर्लङ्ग देख्दा कताकता के बिझेझैँ भयो । सोच्न बाध्य भएँ, के यो उहि फुल सजिएका गाग्रीले सिंगारिएर मलाई एक वर्षअघी बिदा गर्ने घर हो ? यती खाली, यती उजाड ? जहाँँ कुनैबेला चारैतिर अग्ला पर्खाल शानसंग उभिन्थे त्यहाँ केहि गुलाफ र घन्टीफुलका लत्रक्क परेका बोटले उसको कमी बिर्साउने प्रयास गर्र्दैिथए । अफशोश ! एक असफल प्रयास.....।

“खुला, ठुलो, राम्रो !” आन्टीको कुरा सम्झिएँ, अनि फेरी अर्को नजरले हेर्न चाहेँ उहि घरलाई । हो, कताकता घर बेग्लै ढङले राम्रो देखिएको थियो । गल्लीदेखी नै यसरि अँगालो फैलाएर स्वागत गर्न कहाँ पाउँथ्यो र उसले ? पर्खालको घुम्टोपछाडी लुकाइएको उसको मुहार, तन्किएर बाहिर हेर्ने कती असफल प्रयत्न गथ्र्याे होला उसले ? बल्ल पो उसले खुला हावामा सास फेर्न पायो । आफ्नो सुरक्षाको लागी आफैंलाई पर्खालभित्र कैद गर्न विवश मेरो घर, बल्ल पो स्वतन्त्र भयो !

“बाबा! आमा !”

आफ्नै आवाज नौलो लाग्यो आज । आफ्नो टोलमा जसरि निर्धक्क भएर चिच्याउन अन्त कहाँ पाउनु ? धोकाबाट बाबा निस्कंदा झुक्किएर एक खुट्टामा आफ्नो अनि अर्कोमा मामुको चप्पल हुल्नै लाग्दा हासेँ म । बाबा पनि हाँस्दै बढ्नुभयो मतिर । अलमलिएँ, किन बोलाएँ मैले बाबालाई ? त्यहाँ उभिएर त ढोका खोलिदिनलाई बोलाउथेँ मैले, तर अब त न पर्खाल थियो न ढोका । झुक्किएँ म पनि नराम्ररी, अघिसम्म बाबाको भुलमा हाँस्नेको आखिर आफ्नै पालो आयो ।

स्काइपमा देखिरहेको मुहार, र पनि नौलो लाग्यो आफुसामु उभिँदा । एकटकले हेरिरहेँ । के एक वर्ष साच्चैँ यती लामो हुन्छ ? वा भूकम्पले लम्बाइदियो यो समय, बढाइदियो त्यो माया ?

“एयरपोर्टमा नि आउन दिनस् ! झन् जिद्दी भएर आइस् है ?”

धेरैपछी भेट्दा कि त बोली फुट्नुपर्ने, नभए आंसुको भक्कानो । मसँग एक फिक्का मुस्कान मात्र थियो ।

पर्खाल भत्किएपछीका इँटाले छापेको बाटोमा सुटकेस तान्न खोजेँ अनि हार मानेर बाबालाई सुम्पिदिएँ । चुपचाप उही घरको नौलो रुप नियाल्दै, अनौठो मान्दै अघी बढेँ, आफ्नै घरमा एक पर्यटकझैँ !

भित्र पस्नुअघी किनकिन कौसिले आफुतिर तानेझैँ लाग्यो । ढोका तान्दातान्दै छोडिदिएँ अनि सम्मोहित भएझैँ कौसीतिर बढे मेरा पाइला ।

आफ्नो कोठाभन्दा पनि प्रिय ठाउँ मेरो । बर्षातमा पानीमा भिज्न अनि जाडोमा घाम ताप्न धाउने कौसी । घुम्दै जवाफ रट्न अनि पावर रेन्जर हेरेपछिको जोशमा पिल्लरलाई लात हान्न काम आउने कौसी । एकाएक मुस्काएँ हावा र सम्झनाको स्पर्शले ।

“नानी ! नानी !”

आमाको आवाजले झस्किएँ ।

“भेट्नु नि पर्दैन है आएपछी ? म तल कुरिराको उ चैँ यता आइसकिछे । कती एकलकाटे भकी तँ ?”

फिस्स हासेँ मात्र । सायद एकलकाटे पहिलै थिएँ, अझ अहिले त घरबाट टाढा बस्नुको असर ।

“बोल्न नि पैसा पर्छ हो अब तँलाई ?”

आउँदै गाली खान पाउने कती भाग्यमानी म ! बोल्नु त निशुल्क थियो तर मनमा कुन्ठा थिए र केवल एक प्रश्न । चुपचाप कौसीको डिलतिर बढेँ अनि तलतिर हेरेँ ।

“आमा, पर्खाल भत्केको कुरा किन भन्नुभएन मलाई ?”

“पढ्न गको मान्छेलाई के सुनाएर टेन्सन दिराख्नु भनेर नि !”

“धरहरा, दरबार स्क्वायर, रोड, गाउँ, मान्छे, सबको बिचल्ली देखेकै हो फेसबुकमा । यती भनिदिएको भए केहि हुन्थेन होला ।”

“छोड्दे अब! भनेको भए नि के नै गर्न सक्थिस् र ?“

हुन त हो, के नै गर्ने थिएँ र मैले ? दुखमनाउ ? त्यताबाट न एउटा इँटा टिपिदिन सक्थेँ, न कमाइ थियो पठाउन पर्खाल फेरी ठड्याउनलाई ।

फेरी आफ्नै सुरमा हेरिरहें यताउता । त्यो भत्किएको पर्खालले छुट्टाएको सांध, सांधपारीको घर.....।

अचानक केहि सम्झिएं, मन झनै खिन्न भयो । यो पर्खाल भत्किएको म दोस्रोपटक हेर्दैथिएँ ।

                                                         ........................................

७ –८ कक्षामा थिएँ सायद । भोलिपल्ट जांच थियो, त्यसैले पढ्नमा व्यस्त थिएँ । रातको सुनसानमा बर्षातको आवाज बाहेक पनि केही कानसम्म पुगेझैं लाग्यो । गल्लीछेउको घर, मान्छे हिड्ँनु, चुरोट खान उभिनु, बोल्नु नयाँ कुरा थिएन । तर जब केहि हिर्काएझैं आवाज आयो तब झ्यालबाट चियाएँ । अँध्यारोमा केहि देख्न सकिँन । बस् नशामा कोहीे एकोहोरो बोलिरहेको सुनेँ, श्लिल अश्लीलको ज्ञान त्यो उमेरमा शुन्य । बत्ती बालेर हेर्दा एक चिनिरहेकै मुहार थियो, जो घरी लात र घरी लौरोले कुन्नी कुन पापको सजाय दिँदैथियो हाम्रो पर्खाललाई । भर्खरै लगाएको पर्खाल पनि उसको प्रहार सहन नसकी ढल्दैथियो, विवश !

“बाबा ! आमा !”

बाबा ट्वाइलेटमा अनि आमा मस्त निद्रामा ! खोजेर, सबै बेलिबिस्तार लगाएर फर्किउन्जेल बाहिर उसको परिवारका सदस्य आइसकेका थिए । आशाको किरण झुल्कियो, उसलाई सम्झाएर त्यहाँबाट लग्थे कि !

“हो हो ! ढाल्दे !”

पर्खालसँगै ढल्यो त्यो आश पनि ।

बाबाआमा बाहिर पुग्नु, झागडा सुरु हुनु, मान्छे जम्मा हुनु, यो सबको बिचमा म डराएर खाटमा पल्टिएर रोइरहेँ । अबुझ, रनभुल्लमा परेकी थिएँ म । चोरले पर्खाल भात्काएको त सुनेकी थिएँ, तर आफ्नै छिमेकीले ?

बिहान बाहिरको हल्लाले आँखा खुल्यो । बाहिर निस्कँदा चिप्रा र अपुरो निद्रा बोकेका आँखाले उहि भिड, उहि दुइ परिवार, बोनसमा आएका केहि रमिते र प्रहरी देख्नपुगे । जग्गाको कुरा गर्र्दैिथए, मैले बुझ्न सकिँन । अनि छेउमा त्यो भत्किएको पर्खाल ! आखीर रातीको घटना सपना होइन रहेछ ।

पहिलोपटक प्रहरीलाई त्यती नजिकबाट देखेकी थिएँ । सानैदेखी पालेको बेअर्थको डर, आमाको पछील्तिर लुक्न पुगेँ ।

“आमा ! पुलिस किन आको ?”

“हिजो राती चोरले घरको पर्खाल भत्काथ्यो नि ? हो, त्यही चोरलाई समात्न आको !”

पर्खाल भत्काउने मान्छे अगाडी नै उभिएको थियो, निर्लज्ज! कुनै पश्चाताप थिएन उसलाई । अझ आमाको कुरा सुनेर आँखा तर्दैथियो । सायद प्रश्न मेरो भएपनी आमाको लक्ष त्यो जवाफ उसैलाई सुनाउनु थियो ।

बहस चलिरह्यो, मलाई जाँच दिन जान ढिलो हुन्छ भनेर भित्र पठाइयो । ब्याग बोकेर बाबाआमाको “बेस्ट अफ लक” बिना नै हिडेँ त्यो दिन । सायद त्यतीन्जेल सहमती भइसकेको थियो ।  तर अहँ, खुशी कोही देखिँन ।

                                                   ..............................................................

“नानी !”

आमाले मेरो फ्ल्याशब्याकको गाडीमा झ्याप्पै ब्रेक लगाइदिनुभयो ।

“अं भन्नु ।” अझै पनि मन नलागी नलागी बोल्दैथिएँ म ।

”था’छ ? म आज बल्ल माथी कौसीमा आको, भैँचालो आएदेखि !”

अचम्म ! हरेक बेलुकी कौसीमा आएर बारीको निरिक्षण गर्ने र वरिपरी कौसीबाटै गफ गरेर भ्याउने मेरी आमा यती महिनासम्म एकपटक पनि यहाँ पाइला नटेक्नु, यो कसरी सम्भव भयो ?

“लौ ! किन नि ?”

“डर लागेर ।”

डर, भुकम्पको ! साँच्चै, कौसीमा हुँदा भुकम्प आए मान्छे कता आड लिँदो हो, कता भाग्दो हो ? वा आत्तिएर डिलबाटै....?

“आमा, हिंड्नु तल ।”

कति छिटो मलाइ पनि छोइसकेछ ।
.
                                                                  .......................

बैठक कोठा बेग्लै देखेँ, बिरानो लाग्यो त्यो पनि । सोफा, टेबुल, सबै हटाएर खाली पारेर डस्ना र तन्ना ओछ्याएर बनाइएको “बेड” ! एकतिर छुट्टै थियो अर्को, सायद मेरो स्वागतमा ।

“यो किन यसरी राख्या नि बाबा ?”

“सुत्न ! भैँचालोपछी भित्र कोठामा सुत्न छोडिसक्यौँ । यता भए फुत्त भाग्न पनि सजिलो । अब त पर्खाल पनि छैन । उफ्रिनासाथ पारी पुगिहालिन्छ, हाहा ! ”

सजिलै त्यो भत्किएको पर्खालको मर्म हांसोमा उड्यो । म हांस्न सकिँन । फेरी आँखा ढोकाबाहिर पुगेर त्यही पर्खालको खोजीमा लागे । अहँ, भेटिएन । अनि पछारिए पारीको दुनियाँमा ।

छिमेकाका फुच्चे फुटबल खेल्दै घरिघरी हाम्रैतिर नजर लगाउँदै थिए । निशाना कहाँँ रहेछ ? हेर्नलाई तन्किएँ, सायद अम्बाको बोट ! साँच्चै, पर्खाल भत्किएपछी त चोर्नलाई पनि सजिलो होला !

उनिहरुको बारेमा राम्रो सोच्न यो मनले कहिल्यै जानेन ।

त्यो रात पर्खाल मात्र होईन, एक सम्बन्ध, एक विश्वास नै भत्किएको थियो । दुइ घरबिच शितयुद्द चलेझैं थियो । के ठुला के साना, त्यस दिनपछी कसैले एकार्कालाई रुचाएनन् । ठुला आँखा तर्दै, गफमा व्यङ्ग्य मिसाएर सुनाउंदै मनको भडास पोख्थे । हामी सानाको आफ्नै तरिका थियो । उताबाट बल हाम्रो तिर फ्यांकेर सन्तुष्टी लिन्थे । म पनि केराको बोक्रा उता फ्यांकेर ठुलै बदला पुरा गरेझैं खुशी हुन्थें ।

कुनैबेला पढ्नुपथ्र्यो “छिमेकी भनेका जिउँदाका जन्ती मर्दाका मलामी हुन् ।” तर न एक घरबाट जन्ती जाँदा अर्को घरलाई निम्तो आयो, न एक घरमा बिरामी पर्दा अर्को घरबाट कोही हेर्न नै गयो । वा सायद हामी “छिमेकी” नै थिएनौँ । सांध जोडिएर मात्र कहाँ हुन्थ्यो र मन नै नजोडिए पछी ?

हेर्दाहेर्दै ती दुइ हाम्रो घरतिर बढे, पक्कै पनि अम्बा लिने तरखरमा । म रोक्न तयार थिएँ, त्यत्तिकैमा आमालाई देखेँ । आमाले आफैं अघी बढेर अम्बा दिनुभयो । म अचम्ममा पर्नु स्वभाविक थियो ।

“ए भन्नै बिर्सेछु, आजकल हामी उनिहरुसँग राम्ररी बोल्छौं ।”

सोध्नै नभ्याएको प्रश्नको जवाफ आयो बाबाबाट ।

“लौ ! कसरी भयो यस्तो ?”

सुनिरहेँ, बाबाको बोलीमा भूकम्पको कथा पढिरहेँ । कसरी भूकम्पले सबैलाई घरबाट बाहिर निस्किएर खुला आकाशमुनी सँगै बस्न बाध्य बनायो । कसरी एउटा घरको पानीले दुवै घरको तिर्खा मेट्यो, अर्को घरको बारीको सागले कसरी दुवै घरको पेट भर्यो, सुनिरहेँ ।

“नानी, भैँचालोले तर्साउँदा भागेर खुला ठाउँ खोज्दा कसको जमीनमा उभिएं भन्ने प्रश्न आउँदैन रहेछ । खाटबाट भुइँमा सुत्ने दिन आउँदा स्वार्थ, लोभ कुन्नी कता हरायो । जुन जमिनको लागी मर्न–मार्न तयार भइयो, त्यही जमिन प्राण लिन तम्सिँदा एकआर्काको सहारा बन्नुपर्दो रैछ ।”

बाहिर आमा आफ्नै नातेदारलाई झैं खुशीसाथ अम्बा भाग लगाइदिंदै हुनुहुन्थ्यो ति दुइलाई ।

“दिदि, नानीले साग नखाको धेरै भो होला, लिन आउनु हाम्रो बारीको साग !”

आमा अघी बढ्नुभयो । भत्किएर पनि बाँकी रहेका केहि इंटाले रोके । सरक्क पन्छाएर साँध नाघ्दै उता पुग्नुभयो । हांसो, गफगाफ चलिरह्यो । म भने एकटकले हेरिरहें, भूकम्पले भत्काएको पर्खाललाई ।

Comments

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

Minimising the Fear of Oblivion

There was a time when I had these huge dreams. I wanted to accomplish everything at an young age, I was scared if my dreams would die like that of my parents. I would even think of never getting married because the way I saw, it trapped you. I would write songs and think of having them recorded and even plan a whole music video, imagine it playing on the radios. However I didn't have that kind of money. I wrote novels and imagined getting them published and sold, getting prizes for those. I laugh when I remember I actually even met a lot of publishers by searching the addresses and going there alone, when I was just 18 or less. The thing was, I was so stupidly determined I would do something big, become someone famous at an early age. We've all read biographies where people started at an young age, nobody believed them and they ended up big right? I was determined, that it was my fate to become a famous person like that. But more than that, I was scared, what if I die without ...