Skip to main content

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर!

आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, डराउँछ मन। कतै मेरो मधेस पनि कुनै दिन मेरो देशसँग रिसाएर यसरी नै अलग्गिने त होइन ?


" ओए सन्जिब, यहाँ एक्लै एक्लै  झ्यालमा कुन फिल्म हेर्दैछस् ? बरु फिल्म हेर्ने भए आइज हाम्रो कोठामा । "
झस्किएँ! आज त हेर्न नपर्ला भनेको फेरि उही बोलेको छेउटुप्पो नबुझिने यतैको फिल्म हेर्नुपर्ने बाध्यता। सबटाइटल त हुन्छ कहिलेकाहिँ, तर पनि आँखा शब्दमा दौडाउनु कि चित्रमा ? बुझ्ने त यो अनिलले पनि होइन, र पनि आरामले हेर्छ, अनि मलाई फिल्मी शब्दमै सम्झाउँछ, "बेटा भावनाओँ को सम्झो!" । र म भावना बुझ्ने प्रयास गरिरहन्छु ती नबुझिने मन्त्र वाचिरहेका मुहारमा।

"कुन फिल्म लाग्यो त आज अनिल थेटरमा ?"
"प्रेमम्!"
यहाँ पनि अम्! जब हामी पहिलो पटक यहाँ आएका थियौँ तब सोच्ने गर्थ्यौँ हरेक शब्दको अन्त्यमा अम् थपिदिए पुग्छ! "नमस्कारम् ! आओर रुमम् किधरम् ?" अनिलको यो वाक्य सुनेर हांस्नेमा म पनि थिएँ त्यो दिन ! के थाहा थियो र त्यो रुमम् आखिर मेरै रहेछ!


फिल्मका सबै पात्र आफ्नो भुमीकामा रम्दै थिए र म आफैँमा । "सेलिन!" यहि नामले बोलाउँदैथियो उसलाइ कसैले त्यहाँ । यो फिल्म पहिलोपटक हेर्दैछु, तर यो हाँसो, ती आँखा, मैले वर्षौँ देखि चिनेको छु। सायद भगवानले नम्रताको त्यो हाँसो कपि गरेर यस नायिकाको मुहारमा पेस्ट गरिदिएका थिए।

.............................................................................................................................................................

" अहम् अहम् !सन्जिब कुमार यादव इज नाउ फ्रेन्ड्स विथ नम्रता दाहाल! यो म के हेर्दैछु ? यो लटरी कसरी लाग्यो बे ?"

 रविका कुरा सुन्ने फुर्सद कहाँ! म त उसकै प्रोफाइलमा भुल्दैथिएँ। कलेजमा मेरो हरेक दिन उज्यालो बनाइदिने त्यो हाँसो, खुशीले भरिएका ती आँखा, सबै तस्वीरमा कैद! साँच्चै लटरीको पुरस्कार भन्दा कम थिएन त्यो प्रोफाइल मेरो लागि!

 "तँ यो काठमाडौँको केटीहरुको चक्करमा नलाग् सन्जिब! हाम्रो जमिन जती भएपनी घर सानो हुन्छ,  मन ठुलो हुन्छ,  बाहिर देखाउन केहि हुँदैन । यि ठुलाठुला घर भएकाको भर हुँदैन, जे देखाउँछन् त्योभन्दा थोरै नै हुन्छ । यिनिहरु हामीजस्तालाई साथी बनाउँछन्, पढाइमा मद्दत लिन्छन्, अनि फरार हुन्छन् कुनै धनी गोराचिट्टा केटाको बाइकमा चढेर ! हामी घरगाउँ छोडेर यहाँ पढ्न आएको हो, सम्झिराख् ! अर्काको प्रोफाइल हेरेर दङ पर्न हैन।"

 लभसभको चक्करमा फस्ने रहर मेरो पनि  थिएन, म त केवल साथी बन्न चाहन्थेँ नम्रताको। बोल्न चाहन्थेँ, जान्न चाहन्थेँ उसलाइ । के सधैँ टाढाबाट हेर्दा जस्तो पाएको थिएँ, साँच्चै मनबाट पनि उस्तै सुन्दर थिइ उ ?

 डराइडराइ लेखेको "हाइ" को जवाफमा अर्को "हाइ" आयो, स्माइली सहित! लाग्यो दिवालीको सबै दियो फोनको स्क्रीन र मेरो मुहारमा बलेका थिए। यहि निहुँमा त त्यस दिन पहिलोपटक बोलचाल भएको थियो उसँग । "ह्याप्पी तिहार!" घण्टी बजेपछी घर फर्कनु अघि क्लासका सबैलाइ पालैपालो शुभकामना दिँदै थिइ उ! "सेम टु यु!" आफ्नो पालो आउना साथ आत्तिदैँ भनेँ मैले । मुस्कानको एक सानो लहर छर्दै उसले भनेकी थिइ; "अरे बुद्दु! तिम्रो घरमा कसैले शुभकामना दिन मिठाई लिएर आयो भने तिमि के त्यही मिठाइको बट्टा उसलाइ दिएर पठाउँछौ ?" कुराको प्रसङ नबुझी बच्चाजसरी टाउको हल्लाउँदै होइनमा जवाफ दिएको थिएँ । "अनि ? सेम टु यु भनेर टारेको पनि त त्यस्तै भयो नि! मैले चाहिँ छुट्टै शुभकामना नपाउने ?" ढिलै सही उसको कुरा बुझेर मैले पनि भनेको थिएँ , "ह्याप्पी दिवाली!"

उही नम्रतासँग बोल्ने दिन आएको थियो मेरो, च्याटमै सही। रवि सधैँ भन्ने गर्थ्यो उसलाई म त्यही क्लासमा छु भन्ने यादसम्म नहोला। तर अहँ, मलाइ क्लासमा सरले दिनुभएको स्याबासी, मैले लाइब्रेरीमा हरेक बिहान पढ्ने गरेको पत्रीका, मेरो रोल नम्बर,  के थियो र उसलाइ थाहा नभएको ? एक नजर रविलाई हेरेँ, अनि सोचेँ, जरुरी रहेनछ कि कसैको बारेमा राखेको धारणा सधैं सहि नै होस्।

...........................................................................................................................................................

 "ए सन्जिब, ध्यान कहाँ छ तेरो ? फोन बज्दैछ अघिदेखी। आज कसरी डुबिस् भाषा नबुझिने फिल्ममा ?"

 घरबाट फोन आएछ, म भने वर्षौँ अघिको त्यो क्षण बाँच्न व्यस्त रहेछु।

"कते टाइम लगलौ फोन उठाब मे ? कि करै छलिह ? ठिक छि ने ?"
"किछ नै मा, सब ठिक छै। घरमे सब ठिक छथिन ?"
"सब ठिक छै एत। तोहर पढाई केहन छैइल रहल छौ ? निक जका पढ् बौवा, तोहर भैया के देखवे करै छि; कहियो आन्दोलन त कहियो कि, यी सब सं तोहर भैया के फुर्सते नै होइ छौ।"
"निक जका पढै छियौ मा , ओहु बेर के परिक्षामे फर्स्ट भेल छल्यै।
"अहिना सब दिन पढ। आ सुन्, अपन घर लग बिजय रहै छलै ने उ आइब रहल छौ, ओकरा सङे किछ पैसा आउर तिलुवा पठाबै छियौ। अपन भेट क-क ल-लिहे।"

"ओइ लोखर्के, के भयो तँलाइ ? अघिदेखी म फोनमा बोल्दा फिल्म म्युट गरेर मेरो मुख हेरेर गफ सुन्दै इस्माइल दिएर बसिराछस् त ? खुस्कियो दिमाग ?"
यहाँको भाषामा लोखर्केलाइ "अनिल" भनिँदो रहेछ, अब मेरो यो रुममेटको नाम नै त्यही भयो। 

"केही हैन यार, बस् तैँले घरमा फोन गर्दा मैथिलीमा  बोलेको सुन्न रमाइलो लाग्छ। आफ्नो त घरबाट त्यति फोन पनि आउँदैन, फेरि त्यत्रो वर्ष काठमाडौंमा होस्टेलमा बसेको, मैथिली बोल्नै बिर्सिसकेँ। तैँले बोलेको सुन्दा कति मिठो सुनिन्छ।"
 "ल ल, धेरै सेन्टी कुरा नगर्, आफ्नो फिल्ममा ध्यान दे। म गएँ ।"
"कता ?"
"फ्ल्याशब्याकमा! " मनमनै भनेँ । "उही झ्याल अगाडी उभिन, अरु कहाँ ?"

'सेन्टी' हुने पालो सायद मेरो थियो। फेरि सम्झनाका छाल उर्लिए। यहाँ हामी आफ्नै भाषाबाट टाढा भएको कुरा गर्दैथियौँ , र एक उ थिइ!

..............................................................................................................................................................

 कानैछेउका केटाहरुको होहल्ला पनि कतै टाढा गुन्जिरहे झैँ थियो। मेरो सबै ध्यान सर्टको खल्तीमा राखेको कागजको टुक्रा मै थियो। "घर पुगेर पढ है आरामले!" उसले भनेकी थिइ। तर मन न हो, जे नगर् भन्यो त्यही गर्न चाहने। डर पनि थियो, कतै त्यो प्रेमपत्र त थिएन ? त्यति छोटो समयमै त्यति मिल्ने साथी बनेका थियौँ हामी ।  त्यो मित्रता आफैँमा यति सुन्दर थियो, केही जोडघटाउ गरेर त्यसलाइ बिगार्ने मन कहिल्यै भएन। तर मलाइ नहुँदैमा उसलाइ नहोला भन्न सकिन्थ्यो र ? केटा र केटी साथी मात्र रहिरहन गाह्रो हुन्छ भनिरहन्थ्यो रविले सधैँ , कतै उसको मनले हार त  मानेन ? हुन त ति सबै कुरा सम्भावनाको घेरा भन्दा धेरै परका थिए । तर पनि, कागज छ छैन भन्दै खल्ती छामीरहँदा बढेको आफ्नै ढुकढुकीले तर्साउँदै थियो मलाई!

" मेरो प्यारो साथीको लागि एउटा सानो प्रयास ।" मन थाम्न नसकेर खोलेको त्यो कागजमा त्यहि वाक्य र एउटा स्माइली थियो। त्यो स्माइलीले मेरो ओठमा पनि दुरुस्तै मुस्कान ल्याइदियो। तर त्यही कागजमा कोरिएका अरु शब्द जति पढ्थेँ त्यति त्यो मुस्कानमा बुझाउन नसकिने कैयौँ भाव बढ्थे।

"गुगलको मद्दतले सिकेका अलिअली शब्दलाई जोडेर तिम्रो भाषामा एउटा कविता कोर्ने दुस्साहस गरेकी छु; भुल भए माफी दिनु, राम्रो भए स्याबसी ।

साथी हम तोराके इ कसम देबो
तोहर हर रातके हम भोर कैर देबो
तोहर जिवनक अन्हारके इजोर कैर देबो ...."

यस्तै यस्तै हरफले भरिएको थियो त्यो कागज । मैले बोल्ने मैथिली भन्दा अलि फरक थियो, र कती सही थियो कती गलत थियो,  यो त मैले भन्न सकिँन । तर जती जती पढ्थेँ रमाइलो लाग्थ्यो, जिवनमा पहिलो पटक कसैले मेरो लागी यस्तो गर्दै थियो । 

"एक्लै एक्लै के लभलेटर पढ्दैछस्! हेर त सबै, सन्जिबले कसैलाइ प्रेम पत्र लेखेछ। ओहो! त्यो पनि मैथिलीमा! साथी........"

बेन्चमाथी उभिएर सबैलाइ सुनाउँदै थियो उ, हाँस्दै, गिज्याउँदै। जुन कविता मैले एक्लै, आफ्ना भावना समेट्दै पढ्नुपर्ने थियो, मेरो एक गल्तीले त्यहाँ तमाशा बन्दैथियो केही साथीहरुको अघि। धन्न उ थिइन त्यहाँ, कस्तो लाग्थ्यो होला उसलाई आफ्नो भावनाको त्यसरी इज्जत लुटिँदा ? घर गएर एकान्तमा पढ्ने सुझाव मान्नुपर्ने रहेछ, केही क्षणको प्रतीक्षा गर्नुपर्ने रहेछ मैले सायद ।

 "अरे सन्जिब, के टुटेफुटेको कविता लेखेको यो ? न सुर छ न ताल छ, सब बेहाल छ। यस्तो लाग्छ मैथिली भाषाको नर्सरी पढ्दैछस्। बरु क, ख, ग, घ नै लेखेको भए हुने, यो त लाग्छ कुनै मैथिली नै नजान्ने मान्छेले लेखेको हो!"

 "हो! यो मैथिली नजान्ने मान्छेले नै लेखेको हो। तँ र म जस्तो जन्मिए देखि यहि भाषा बोल्नेले होइन, यो भाषाको नामसम्म केही समय अघि नसुनेको मान्छेले लेखेको हो। अरे, उसको त कोहि तराइको साथी पनि छैन म बाहेक, र मैले सिकाएको पनि होइन। जसले लेख्यो, जे लेख्यो, जस्तो लेख्यो, लेख्यो त सही! तैँले, मैले,  कहिल्यै केही लेखेको छौँ मैथिलीमा ? अरे मैथिली छोड्, हामी त नेपालीमा पनि केही लेख्न डराउछौँ। जसले गरेको छ उसको कदर गर्। तँ गर्दैनस् भने पनि केही छैन, मैले गर्छु, त्यही काफी छ!"

 रविजस्तो बेन्चमाथ त थिइँन म, तर त्यो समय मेरो बोलीको आफ्नै उचाइ थियो। सबैका नजर ममाथी नै थिए । कसैले मलाइ त्यसरी कराएको सुनेको थिएन त्यो दिनसम्म। अँ, म पनि पहिलोपटक सुन्दैथिएँ।

............................................................................................................................................................

आँखाको कुना कताकता ओभानो महसुस गर्दैछु । सायद यहाँ कोही अरु हुन्थ्यो त बन्द झ्यालबाट पनि आँखामा धुलो पर्‍यो भनेर ढाँटिदिन्थेँ । तर आफुलाई कसरी ढाटुँ ? यादहरु पनि अनौठा हुन्छन् । जतिसुकै मिठा यादले पनि आँखाबाट आँसु झारिदिने अनि मन कतै कतै तितो पारिदिने! 

तर मस्तिष्कमा मात्र भरिएका याद अधुरा हुँदा रहेछन् । कुनै वस्तु चाहिने रहेछ, कुनै चिनो, कुनै नासो, जसलाई आफुसँग राख्न सकियोस् । जसभित्र सबै सम्झना साँच्न सकियोस् । जसको एक स्पर्शले नै वर्षौँ पुराना याद ब्युँताइदियोस्, त कुनैबेला अचानकै उर्लिएका भावनाको छाल थामिदियोस् । यस्तै एउटा चिनो मसँग पनि छ उसको, सायद सुटकेसको कुनै कुनामा । 

केही लुगाहरु, केहि चाहिने नचाहिने सामान, अनि केहि अल्छी मानेर सुटकेसबाट कहिल्यै बाहिर ननिकालिएका चिजबिज । सबै भेटिए, तर अहँ, त्यो चिनो भेटिएन । धत्, त्यती अनमोल कुरा कसरी हराएँ मैले ? बिदाको दिन सम्झिएर रमाउँ, यादको बाढी सम्हालुँ, वा आफ्नो गल्ती सम्झिएर आफैँलाई धिक्कारुँ ? भावनाहरुले आइतबारको दिन पनि व्यस्त बनाइदिए मलाई!

तर के कुनै सामन हराउँदैमा त्योसँग जोडिएका याद पनि मेटिन्छन् र ? हो, उसको उपहार थियो त्यो मेरो लागि, तर यस्ता कैयौँ उपहार दिएकी थिइ उसले मलाई, जो न सुटकेसमा अटाउँछन्, न शब्दमा!

...........................................................................................................................................................

दर्शकको भिडमा एक म पनि थिएँ, सायद त्यहाँ रमाउन नसकिरहेको एक्लो मान्छे । कलेजको वार्षिकोत्सव, अघिल्लो वर्ष मलाई त्यसरि कुर्सीमा बसेर मन्चमा हेरिरहन बाध्य बनाउन सक्ने कुनै कारण थिएन । तर त्यो वर्ष केही फरक थियो, एक कारण थियो मसँग , नम्रता! 

"सन्जीब, मलाई था'छ तिमीलाई यस्तो नाचगानको प्रोग्राममा बसिराख्न मन लाग्दैन भन्ने । तर प्लिज्, यो एकपटक मान न मेरो लागि!  मेरो डान्स छ के भोली, अनि म चाहन्छु कि तिमीले मेरो डान्स हेर । यती पनि गर्दैनौ र आफ्नो साथीको लागी ? " अनि बस्, म त्यो भीडमा थिएँ, मन नहुँदा नहुँदै पनि अरुका लागी ताली पिट्दै । 

"एन्ड नाउ, द नेक्स्ट पर्फर्मेन्स....................." हलभरी गुन्जिरहेको त्यो चर्को आवाजमा मैले उसको नाम सुनें, कैयौँ अरु नामबिच । मन्चमा तीनजना हाकुपतासीमा सजिएर कुनै नेवारी गीतमा कम्मर मर्काउँदै थिए । "खोइ त नम्रता ?" मेरो दिमाग यही प्रश्नमा अडिएको थियो । अचानक बिचैमा संगीत फेरियो र "गैरिखेतको......" बज्यो । गीत अनुसारकै भेषमा ठाँटिएका शरिरहरु रम्न थाले । सायद 'फ्युजन्' थियो , नेपालका विभिन्न जातजातिका नाचको । तर अहँ, मन्चमा अझै पनि कमी थियो, नम्रताको । 

"टुङना र डम्फु बजाउँदै ............." तामाङ सेलोको गीत बज्न थाल्यो । हो त, यही त थियो उसको सपना; यही भेषमा सजिने, नाच्ने , फोटो खिचाउने!

"मैले स्कुलमा धेरैपटक नाचेँ, कहिले नेवारी गीतमा, कहिले मगरको कौडा, कहिले के , कहिले के । तर तामाङ सेलोको त्यो चोली, फुलबुट्टा भरिएको दुइ-रङे लामो फरिया, तोरीको फुलझैँ पहेँलो पटुकी अनि कम्मरमा बाँध्ने त्यो सानो धर्कैधर्को भएको रुमालजस्तो कपडा, कानको बुलाकी, यी सबमा सजिएर नाच्ने मौका कहिल्यै मिलेन । अब त सपना नै बनिसक्यो मेरो लागि! अब त जसरी भए पनि कलेजमा कुनै प्रोग्राम हुनासाथ त्यही भेषमा नाच्नेछु म, वाचा  हो यो आफैँलाई मेरो!"

कहाँ गयो त्यो वाचा, त्यो सपना ? ती सबैमा पनि थिइन  उ । अनेकौँ प्रश्न उठे मनमा, र पनि आँखा अझै मन्चमै अडिएका थिए, उसको पर्खाइमा । कतै मैले नाम सुन्नमा भुल पो गरेँ कि ?

तर मेरा कान सही नै थिए । रातो लेहेँगा, चाँदी रङका लामा भारी नक्कली झुम्का र माला, अनि गलामा रिबनले बाँधिएको मट्की शिरमा धल्काउँदै मन्चमा उसको प्रवेश भयो । "तोहरे भरोसे बार्हम बाबा झिझिया........"  मैथिली शब्द-संगीतले भरिएको गीतमा उसका पाइला रम्दै थिए । दशैँको बेला हाम्रो आँगनमा नाचिने झिझिया नाच थियो त्यो । मटकी घरिघरी उसको शिरबाट चिप्लन चाहिरहन्थ्यो, र उ भने नाचमै मिसाएर त्यसलाई सम्हाल्ने बाटो बनाइरहन्थी । हेर्दाहेर्दै अघी आ-आफ्नो गीतामा नाचेर सकेका सबै मन्चमा आइपुगे, अनि संगीत फेरियो, "सय थरी बाजा एउटै ताल......."। सबै जातजातीका प्रतिनिधी हातमा हात मिलाई सँगै नाच्न थाले, बिचमा कोही नेपालको झण्डा फरफराउँदै आयो, र सँगीत बन्द भयो । वरिपरिका सबै ताली बजाउँदै थिए । म भने अझै पनि स्तब्ध थिएँ । 

" कस्तो लाग्यो त मेरो डान्स ?"

प्रोग्राम सकिएपछी आफ्नो बाटो लागेको मलाई भेटाउन हस्याङ फस्याङ गर्दै आइपुगी उ । आँखामा गाजल्, ओठमा लाली, अरु दिनभन्दा कती फरक र पनि कती सुन्दर देखिएकी थिइ उ! 
" भन न, के हेरिरा' ट्वाल्ल परेर ?" 
अचम्म मानेर उसलाई नियालिरहहनुको कारण बुझेर सायद, उसले हत्तपत्त ओठमा हातको इरेजर प्रयोग गरी ।
 "हाहा, हेर न लगाउने बानी नभएर होला, डान्सलाई लगाको लिपिस्टिक पुछ्नै बिर्सिछु! "
फोनको स्क्रीनमा हेर्दै, ओठ फेरी खाली भयो वा भएन जाँचिसकेर मलाई फेरी प्रश्न गरी उसले!
"भन न, कस्तो लाग्यो डान्स ?"
"राम्रो थ्यो!" मेरा आफ्नै केहि प्रश्न थिए!

"तर मैथिली किन ? तिमीले त यसपाली जसरि भए पनि तामाङ सेलोमा नाच्छु भन्थ्यौ त ?
"भन्न त भनेको थिएँ नि, तर अहिले फेरी मुड चेन्ज भो, मैथिली डान्स गर्न मन लाग्यो, गरिदिएँ!"
कती सहज उत्तर दिइ उसले, तर मेरा प्रश्न अझै बाँकी नै थिए!

"तर किन ? मेरो लागी ?"
"हाहा, तिम्रो लागी ? तिम्लाई किन इम्प्रेस गर्नु छ र मैले डान्स गरेर ? खास भनुँ भने नि सन्जिब, तिम्रो लागी मैथिलीमा कविता लेख्नलाई गुगलमा अलिकती रिसर्च के गरेथेँ, मलाई त बानी नै परेछ । अनि कती पढ्न थालेँ, कती हेर्न थालेँ इन्टरनेटमा तिमीहरुको कल्चरको बारेमा । मलाई त थाहै थिएन मेरो उपत्यका भन्दा पर कुनै यस्तो ठाउँ, केहि यस्ता मान्छे अनि तीनको जिवन थियो जसबाट म यती अपरिचित थिएँ । मलाई लगाव जस्तै भयो तिम्रो तराइसँग । अनि जब फ्युसनको कुरा चल्यो, जब  हिमाल, पहाडको नाच सबैले छाने र तराइको नाचमा भाग लिन चाहनेको कमी भयो, तब मैले तामाङ सेलोको माया मारिदिएँ अनि झिझिया नाचको लागी गीत छान्न थालेँ । "

"तिमीलाई साँच्चै यती मनपर्‍यो र मेरो तराइका कुराहरु ?"

"अँ, किन ? मन पर्न हुँदैन र ? अनि बुद्दु , तिम्रो मात्र तराइ हैन नि, तराइ त मेरै देशको हो, जसरि मेरो पहाड, त्यसरी नै तराइ मेरो पनि त भयो । एउटा कुरा भनुँ ? मलाई तराइ घुम्ने ठुलो रहर छ !" 

त्यती भागदौड पछी पनि थाकेकी थिइन उ, लगातार बोलिरहेकी थिइ । तर उसका कुरा नै यस्ता हुन्थे कि लाग्थ्यो उ बोलिरहोस् र म सुनिरहुँ । 

" सुन्दा अचम्म लाग्ला है तिम्लाई ? तर हो के । मैले जती मान्छे चिनेकी छु नि, सबलाई क्यामेरा बोकेर हिमालतिर डुल्ने रहर छ, मनाङ मुस्ताङ पुग्ने रहर छ । ती हिमाल त म सधैँ देख्छु नि आफ्नो घरको छतबाट! मैले तराइ पो कहिल्यै देखेकी छैन, मलाई त तराइ हेर्न मन छ । चर्को घाममा पनि साइकल कुदाइरहेका खुशी मुहार हेर्न मन छ । पानीभन्दा बढी बालुवा भरिएका खोला हेर्न मन छ । आखाँले भ्याएसम्म पहेँलो  देखिने तोरीबारी हेर्न मन छ । ठुला ठुला मन भएका मान्छेका साना साना घर हेर्न मन छ । खेल्न, कुद्न, जत्ती पनि खुल्ला जमिन  पाएर खुशी बच्चाहरु हेर्न मन छ । रिक्सामा चढेर टाढा आकाश र जमिन जोडिएको हेर्न मन छ । पहाडको कुनै घुम्टो नभएर आँखाअघी सिधा अस्ताउन लागेको ठुलो सुर्य हेर्न मन छ । आजसम्म तिम्रो मुखबाट सुनेकी मात्र छु मैले यो सब । अब आफैँ गएर हेर्न चाहन्छु, तातो हावाको बिच पनि त्यो सुन्दरतालाई महसुस गर्न चाहन्छु । लग्छौ नि मलाई तिम्रो, आइ मिन हाम्रो तराइ घुमाउन ?"

उसका कुरा सुन्दा सुन्दै जवाफ दिनै बिर्सिएछु । 
"कस्तो नसुनेको जस्तो गरेको ? नलग्ने हो ?"
"हैन हैन, लग्छु नि । म त यो सोच्दैथेँ कि तिमीलाई घाटा लाग्यो नि आज एउटा!"
"कस्तो घाटा ?"
"तामाङ सेलोको कपडा लगाएर नाच्न, फोटो खिचाउन नपाएको घाटा नि!"
"हाहा, तिमीले मलाई चिनेको छैनौ कि क्या हो ? जादुको छडी हो नि म त । यो हेर! " भरिएर फुलेको ब्याग देखाउँदै उसले भनी  ; "तामाङ सेलोमा डान्स गर्ने केटीसङ त्यो ड्रेस मागेर ल्याएँ, प्लिज प्लिज भन्नुपर्‍यो, एकदिनको भाडा नि तिर्नुपर्ने भो एक्स्ट्रा, तर सपनाको अगाडी यो सब त के नै भो र है ?"
म उसलाई हेरेर हासिँरहेँ । साँच्चै जादुको छडी भन्दा केहि कम थिइन उ!

...........................................................................................................................................................

जती जती सम्झना अघी बढ्छन्, त्यती त्यती त्यो चिनोको कमी महसुस हुँदैछ । यहिँ हुनुपर्ने हो त्यो, अन्त कता लुकाएर राखेँ होला र मैले उसँग जोडिएको यादलाई सम्हालेर, आफुदेखी टाढा ?  कतै त्यहिँ त छैन जहाँ हेर्नसम्म पनि डराउँछु म ?

दराज भित्रको लकरमा चाबी घुमाएँ, अनि खोलेँ मेरो "निषेधित क्षेत्र" लाई । अँध्यारोमै छाम्न खोजेँ, कतै कतै चाहना अनि कतै कतै डरले भरिएर । भेटियो! यहिँ रहेछ आखिर त्यो टोपी । बाहिर निकालेँ, हेरेँ, सुम्सुम्याएँ, अनि मुस्कुराएँ । नम्रताले दिएको ढाकाटोपी!

"तिमीलाई पनि के के आइडिया आउँछ है ? म कहाँ विदेश नै जान लागेको हो र हतार-हतार पुर्याउन, बाइ भन्न बसपार्क सम्म आइपुग्न यसरी ?"
"हाहा, भोली कसले देखेको छ र साथी! तिमी उतैबाट फरार भयौ भने ? वा तिमी फर्किउन्जेल म नै हराएँ भने ? इन्ट्रान्स एक्जामको मौसम सुरु भयो, अब त को कहाँ पुग्ला भन्नै सकिन्नँ नि!"
"ल ल, तर म कतै जान्नँ त्यसरी । अनि तिमी त कहाँ जान्छौ र ? तराइ घुम्नै बाँकी छ क्यारे तिम्रो! ए साँच्चै, मलाई के दिनु छ भन्थ्यौ नि ?"
"अँ, पख है!" आफ्नो मोटो ब्यागमा केहि खोज्नमा व्यस्त भई उ! कुन्नी के के बोक्थी त्यो ब्यागमा , लाग्थ्यो दुनियाँको भार उसैको काँधमा छ!
"ल यो तिम्रो लागि!"
"टोपी ?"  अचम्म मान्दै मैले सोधेँ!
"अँ, ढाकाटोपी!"
"यही थियो तिम्रो गिफ्ट, यो टोपी ? हाहा!"
"हाँस्ने होइन है ? तिम्लाई के था मैले कती सोचेर यो गिफ्ट किनेको भन्ने!"
"अनी मैले मन पढ्न सक्छु त तिम्रो ? भन न त के  सोचेर दिँदैछौ ?"
"मेरो दाइ बिए पढ्नु हुन्छ नि ? दाइको नेपाली किताब पढ्दै थिएँ के म एकदिन , अनि त्यसमा एउटा कथा थियो, लङ्काकाण्ड भन्ने । पहाडिया र मधेसीको खटपटको कहानी थियो, धोती र टोपीको युद्धको । अनि मलाई मनमा कता कता बिझ्यो के । तिमी र म त यती मिल्छौँ, हामिबिचमा के नै फरक छ र ? हाम्रो मित्रता त उदाहरण हो नि , पहाड र तराइको एकताको, हैन र ? हाम्रो मित्रतालाई नक्सामा कोरिएका लाईनले, भुगोलले कहाँ छुट्टाउन सक्छ र ? त्यसैले मलाई यो धोती र टोपीको फरक पनि मेट्न मन लाग्यो । अनि तिमी घर जानु अघी तिमीलाई यो टोपी दिन दौडेर आएँ । "
खै, त्यो जादुकी छडीको मनमा जादु थियो कि, सोचमा, वा बोलीमा । जे गर्थी, जे बोल्थी, मलाई यसै स्तब्ध बनाइदिन्थी ।

"अनी मसङ त धोती छैन नि त अहिले तिमीलाई दिन!" शुन्यता तोड्न म जिस्किएँ ।
"हाहा, धोती पर्दैन । बरु यसो गर्, तिमी घरबाट फर्कँदा मेरो लागी त्यो हातेपङ्खा लिएर आउनु तिम्रो तिर पाउने । के भन्थ्यौ रे त्यसलाई ?"
"बेन ?"
"अँ, त्यही बेन लिएर आउनु मेरो लागी । अनि तिलवा पनि । अनि अरु जे जे पाउँछ सबै ल्याउनु, हाहा । "
"हाहा, बरु तराइ  नै लागिदिन्छु नि तिमीलाई कुनै दिन घुमाउन!"
"कुनै दिनको के भर हुन्छ र ? अहिले लाई तिमी बस् फर्कँदा मलाई बेन ल्याइदेउ, त्यती भए पुग्छ मलाई । ल अब अहिले जाउ, नत्र बस घर पुग्ला अनि तिमी यहिँ को यहिँ!"
"ल ल, गएँ म, अनि तिमी चैँ कहिलेकाहिँ आफ्नो पनि कोर्सबुक पढ्ने गर्, बाइ!"
"बाइ!"

................................................................................................................................................................

सम्झनाको कोर्सबुकको पाना बन्द गर्दै टोपीलाई फेरी उहि ठाउँमा राख्न फर्किएँ । तर भेट त्यही एक कुरासँग भयो जोसँग म डराइ रहेको थिएँ । त्यहिँ थियो त्यो, मलाई हेरिरहे झैँ, प्रश्न गरिरहे झैँ, म माथी थुकिरहे झैँ । त्यो बेन, जुन मैले उसको लागी किनेको थिएँ, जुन मैले कहिल्यै उसम्म पुर्याउन सकिँन । उसले के के मात्र गरिन, के दिइन र मलाई ? अनि मैले ? बस् यही एक चिज मागेकी थिइ उसले मबाट, त्यो पनि उसम्म पुर्याउन सकिँन ।

काठमाँडौ फर्कन तोकिएको दिनसम्म पनि म घरमै थिएँ । बल्ल बल्ल जान पाएको घरको मायाको अघी इन्ट्रान्सको दिन नजिकिरहेको डर पनि कता कता फिक्का भएछ । म उतै अल्झिरहेँ । एक हप्तासम्म भोली भोली भनेर टार्दा-टार्दै अन्तत: काठमाडौँ पुगेँ, उसले भनेझैँ बेन अनि मिठाइ बोकेर । तर जबसम्म मेरो त्यो बिदा सकियो, उसको जिवन पनि सकिएछ ।

अरुबाट खबर पाएँ, आफैँ गएर कसैलाई सोध्ने सम्म हिम्मत भएन । आफ्नो मुस्कानमुनी एक ठुलो रोग लुकाएर राखेकी रैछे उसले । उसको ब्यागमा साँच्चै ठुलो भारी हुँदो रहेछ, औषधीहरुको, आफ्नो जिवनको । किन भनिन उसले मलाई, किन लुकाइ ? फेरी सोचेँ, भनेकी भए पनि मैले के नै गर्ने थिएँ र ? दया देखाउने थिएँ होला उ माथी । उसलाई बिचरा बन्न पटक्कै राम्रो लाग्दैनथ्यो । सायद त्यसैले लुकाइरही, हाँसिरही ।

म समयमा पुग्न सकिंन, उसलाई त्यो बेन सुम्पिन सकिँन । उसको तराइ घुम्ने सपना पनि पुरा गर्न सकिँन । यो बेन मसँगै रहिरह्यो, मेरो आत्मग्लानी जस्तै । न भागिरहन सक्छु, न सामना गर्न सक्छु । न मिल्काउन नै सक्छु सजिलै । बस्, लुकाएर राखिरहन्छु कुनै अँध्यारो कुनामा ।

"ओए सन्जीब्! मिठाइ खान आइज्! त्यो हिजोको दाइले बिहेको मिठाइ बाँड्नु भएछ । खान आइज्, सकिन्छ नत्र, अनि पछुताएर बस्लास!"

हाम्रै कलेजका नेपाली दाइ जसले एक दक्षिण भारतिय केटीसँग प्रेमविवाह गरेका थिए, हिजो धेरै चर्चा थियो उनको । कोही भन्थे रङ मिलेन, कोही भन्थे जात मिलेन । कोही भन्थे देश, भेष, केहिको मेल भएन । म उनिहरुको मुहारको मुस्कान हेर्दै थिएँ, सायद मन मिले पुग्थ्यो । प्रीन्सिपल सरले भने खुब तारिफ गर्नु भएको थियो, माइकमा भन्दै हुनुहुन्थ्यो "दे ह्याभ मेड एन एफर्ट टु युनाइट टु कन्ट्रीज्!"

यस्तै एउटा सानो प्रयास हामीले पनि गरेका थियौँ, आफ्नो मित्रताले । केहि उस्तै, केहि फरक, उसको पनि सपना त्यही थियो, भुगोलले अलग्याएका मनलाई जोड्ने । कती सफल भयो , कती असफल, कुन्नी ?

मिठाइ खाने भिडमा मिसिन गएँ म पनि, टोपी र बेनलाई सँगै राखेर दराज बन्द गर्दै ।
................................................................................................................................................................

Comments

  1. खत्रा है खत्रा !

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. "ठुला ठुला मन भएका मान्छेका साना साना घर हेर्न मन छ ।"
    बस यती भन्छु
    ठुला ठुला मन पगल्ने यस्तै साना साना आझै blog हेर्न मन छ ।

    ReplyDelete
  4. राम्रो लेख्नुहुन्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

The Jack of All Trades

I was told I could be good at anything not warned it meant average at everything People grow up, may be I grew down on every chessboard but as a pawn Being born a cluster of potential meant so much more for me to waste The rising star they all looked up to who fell shooting down in a haste There were so many boats to ride I put my feet in all but heart in none Shuffling again and again to find the same Jack of all trades, master of none. I had this picture perfect idea of me painted gold with every medal I landed every teacher and fortune teller so sure a future set in stone waiting to be handed I was my full-marks and my first prizes my monitor badges and assembly applauses my jumping years and too good for my peers my school songs and their genuine cheers my dance rehearsals, the needles and threads my poems and speeches turning heads my raising hands and stunned teachers my voice familiar with the speakers. Now I am this collage of embarrassments everyday reminded to make amendments...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...