प्रीय मुलान आज कुन्नी कहाँबाट केही कुनामा थन्किएका स्मृतिका पानाबाट भुलिन थालेको बाल्यकालबाट तिमिलाई सम्झिएँ मुस्कुराएँ वा आँसु बगाएँ कुन्नी तर झस्किएँ। अनि कलम समात्दैछु यो अन्धकारमा बिहानी होला केही क्षणमा तर केहि कुरा छन् मनमा तिमिसँग गर्न अनि निदरी छाडी शब्दमा अल्झिएँ। कति ईतिहास हौ तिमी कति दन्त्यकथा कति डिज्नीकी प्रीय पात्र तर हौ त तिमी म झैँ एक छोरी बस्, अरु के नाता गासुँ? कवच ओढि तिमी वक्ष लुकाइ युद्दस्थलमा भिडेको कथा म सधैँ सुन्थेँ आज आउ फुर्सदमा छौ भने कवच उतारी बस छेवैमा संगिनिझैँ बात मारौँ आज मेरो युद्धको कथा सुनौँ! प्रीय मुलान! हामी कुन्तिपुत्र कर्ण त हैनौँ! न तिमी त्यो कवचमा जन्मिएकी थियौ, न म! लामा रेशमी केश सुन्दरताको भेष तिमीलाई पनि राम्रो लाग्थ्यो होला कुनैबेला? मेरो मन पनि त्यही माटोले ढाँचिएको हो मुलान! म पनि रमाउने गर्थेँ दर्पणको छायाँमा चलचित्रका मायामा सुरिलो धुनमा अरुलाई सिँगार्ने सुनमा पाउजुको ध्वनिमा सुनौलो बिहानीमा निर्धक्क भइ हिँड्थेँ म कुनैबेला मुलान! गुनगुनाउँदै, लहराउँदै के थाहा थियो र म कुनै मीठो गीतमा नभइ य...