Skip to main content
"तीजको लहर आयो बरी लै!.." सायद पल्लो घरको रेडियोमा होला घन्किएको। महिना दिन देखि घन्किरहेका स्पिकरको भिडमा त्यो रेडियो अनि "हामी पनि नाच्नु पर्छ बिचबिचमा" को बिचमा कमै सुनिने कन्यादानको यो गीत। आजको बिहानी फ्ल्याशब्याकको लहर ल्याउने नियतले नै मेरो आँगनमा आएको जस्तो लाग्दैछ।

"हो, सधैँ यसरी छोरी मान्छे जसरी चिटिक्क परेर बसे पो राम्री देखिन्छ। सधैँ कपालै नकोरी, स्पोर्ट्स सुज लगाएर खुट्टा बजाउँदै हिँडेर हुन्छ?"

आमालाई आफ्नो सन्तान दुनियाँमा सबैभन्दा राम्रो लाग्छ रे भन्छन्। सन्तान जस्तो देखिए पनि आमाले राम्रो देख्छिन् रे, जति मोटाए पनि आमाले सन्तान दुब्लाएकै देख्छिन् रे पनि भन्छन्। भन्नेले मेरी आमालाई चिन्दैनन् सायद। मेरी आमाका धेरै सपना छन् मसँग जोडिएका; मैले प्रगती गरुँ, धेरै पढुँ, ठुली मान्छे बनुँ, कमाएर बाबाआमालाई पाल्न सकुँ, राम्रो घरमा बिहे गरुँ आदि इत्यादि । तर सबैभन्दा ठूलो सपना भने मैले घरबाट निस्किनु अघि ऐना हेरुँ; फुक्का मुहार, निन्द्रा नपुगेका आँखा र रङ्गहिन ओठहरुमा रङ्ग भर्ने रसायन लगाउँ र टोलका केटाहरु नै तर्सिने गरि हात हल्लाउँदै, जुत्ता बजाउँदै नहिडुँ भन्ने हो क्यारे। आज अलिकती भए पनि सपना पूरा भएजस्तो लागेर मख्ख छिन् मेरी आमा!

"ल धेरै रमाउनु पर्दैन। आज तिज भएर मात्र हो यो रोलमा आ'को म। भोलि बाट फेरि टमब्वाई नै हो।"
" झन् राम्री देखियोस्, सबैले राम्रो भनुन् भनेर सिकाउँदा नि नहुने यसलाई। ल ल टमब्वाइ बन् कि जेरीब्वाइ बन्। मन्दिर जान चैँ ढिला नगर्!"

"चिटिक्कै भाछु रे, पोते र चुराले....."। रेडियोले फेरि अर्को मीठो सम्झना ल्यायो, सिन्धु मल्लका तीजगीत सुन्दै आमाछोरी ढोका थुनेर नाच्ने जमानाको। म पनि चिटिक्कै भा'छु आज। रातो कुर्ता, रातै सल अनि सेतो चुडिदार। हातमा रातै चुरा अनि ओठमा रातै लिपिस्टिक। तीजको अफिसियल रङ्ग! कानभन्दा ठुला झुम्का अनि आँखाको रङ्गभन्दा गहिरो गाजल। कतैकतै घुम्रीएको अनि कतैकतै घुम्राइएको कपाल। अनि नेपालीपन झुल्काउन निधारको बिचैमा सानो गाजलको टीका। सधैँ मुख धोएर बाहिर निस्कन पनि अल्छी गर्ने मलाई आज कुन्नी कहाँबाट यो रहरले छोयो। सायद तीजको लहर भनेको यहि होला।

आफैँले आफैँलाई नियालेँ, घरी दायाँ घुम्दै, घरी बायाँ; कहिले मुस्कुराउदैँ, त कहिले आँखिभौँ खुम्चाउँदै। सधैँ यसरी "राम्री बन्न" मन लाग्दैन तर बनेको दिनमा छुट्टै रमाइलो लागिदिन्छ। मभित्र दुइ म बस्छन् सायद, एक आफ्नै दुनियाँमा आवारा भइ रमाउने, अनि एक अरुझैँ बनेर दुनियाँलाई रिझाउन चाहने। यी दुइमध्ये म कुन हुँ, म आफैँलाई थाहा छैन। अहिलेलाई लिपिस्टिक लगाएर हाँस्दै सेल्फी खिच्ने "म" ले जितिन् सायद, ढिलो भइसकेछ।

................................................................

धेरैपछि आएँ शिवमन्दिर आज। कुनै बेला दिनहुँ धाउने यो मन्दिरका भगवानसँग आजकल तिज, शिवरात्री र कहिलेकाहिँ जाँचको बेलामा मात्र भेटघाट हुन्छ मेरो। सायद पहिलेझैँ स्वार्थ अहिले नभएर होला। स्वार्थबिना न मान्छे मान्छेकोमा धाउँछ न मन्दिर। मेरो पनि एउटा सानो स्वार्थ थियो कुनैबेला, जसले मजस्तो आस्थाविहिन मान्छेलाई पनि सधैँ यो मन्दिरको बाटो डोर्याउँथ्यो। त्यो स्वार्थ पलायन भएसँगै म पनि बिलाएँ सायद। बस् कहिलेकाहिँ झुल्किन्छु आजकल, आमाको मन राख्न र बिग्रीएको जाँचको अङ्क बढाउन।

भिड खासै छैन रहेछ। हुन त तीजको दिनमा पनि खासै भिड नहुने भएर न हो यो मन्दिर छान्नुभएको आमाले। न गीत घन्काएर नाच्ने ठाउँ छ, न प्रसाद चढाइदिने कोही पुजारी। बस् एक सानो कुटीझैँ मन्दिर छ तीन अग्लाअग्ला घरको बिचमा। तिनैमध्ये एक सेतो घरले आज फेरि पनि मेरो नजर तान्दैछ। वर्षौँ बितिसके, फर्किएर हेर्ने कुनै कारण बाँकी छैन र पनि हेरुँ हेरुँ लागिरहने रहेछ। आशा भन्ने कुरा नै यस्तै, जति मार्न खोज्यो त्यति ब्युँतिदै सताइरहने। कर्के नजर लगाइहालेँ। हरेक वर्षझैँ त्यो कौसी आज पनि शुन्ने छ। चसक्क बिझ्यो मनमा। निर्दयी हुन्छ आश पनि, छैन भन्दाभन्दै "छ कि?" भनेर खुल्दुली बढाइदिने अनि फेरि "छैन" भन्दै कठोर बनाएको मनलाई पगालेर फेरि चोट पुर्याइदिने।

यसैगरी मन्दिरबाट आकाशतिर आँखा डुलाउँदै गर्दा त देखेकी थिएँ उसलाई पहिलो पटक। टोलमा कहिल्यै नदेखेको त्यो मुहार। कुनै आकर्षण थिएन त्यो मुहारमा, मनमा कैद पनि भएन। कमसेकम स्कुलमा त्यो बेला जसलाई मन पराउथेँ, उ जतिको राम्रो त छदैँ थिएन। आफू जस्तो भए पनि रोजाइ सबैको ठुलै हुने रहेछ, त्यसैले होला सायद मैले फर्किएर हेरिँन। एक नजर देखेँ, बिर्सिएँ। बिर्सिने नै थिएँ सायद, त्यो वर्ष उ मेरै कक्षामा भर्ना नभएको भए।

...............................................................

"ओइ डल्ली, मेरो बोत्तल किन लुकाइस्? दे त खुरुक्क!"
"दिन्नँ म। त्यो बेन्चमा प्रीया प्लस सागर किन लेखिस् भन् त?"
"तैँले दिनभर त्यो सागरलाई लुकीलुकी हेर्न हुने, मैले तिमिहरुको नाम लेख्न नहुने?"
"कहिले हेरेँ मैले, जे पाए त्यही नभन् है। तैँले गर्दा मसँग रिसाएर बसिराछ। सरी भन् अनि तैँले गरेको हो भनेर भन्, नत्र दिन्नँ तेरो बोत्तल।"
"नदिए नदे न त पुन्टी। चाहिएन। मेरो जुठो पानी जे गर्ने हो गर्। अर्कै किनुम्ला म।"
"ए जे गर्ने हो गर् भन्या हो? ल पख्!"
जोशमा जे गर्छेस् गर् त भन्यो अमितले, तर त्यो बोली आफैँलाई भारी भयो होला जब रिसमा एक बोत्तल पानी उसमाथी खन्याइदिएँ मैले। अनि सुरु भयो सधैँझैँ लखेट्ने र झगडा गर्ने हाम्रो रुटिन।

उसको कुरा मैले भनेजस्तो "जे पाए त्यै" थिएन। सागरलाई मन पराउथेँ म, कहिलेकाहिँ लुकिलुकी हेर्थेँ पनि। यहि कुराले जिस्काउँथे मलाई साथिहरुले। तर यो कुरामा अमितसँग अरुसँग भन्दा बढी नै रिसाउथेँ म। सागरलाई राम्रो लाग्दैनथ्यो उसलाई कसैले मेरो नाम लिएर जिस्काउँदा, तर भन्न पनि केही सक्दैनथ्यो। म कसैले हामीलाई जिस्काउँदा मनमनै रमाउँथे तर उ रिसाएको देख्दा मनमा बिझ्थ्यो, अनि पिडालाई रिस बनी बगाइदिन्थेँ जिस्काइदिने माथी। यो वर्ष त्यो रिस भोग्ने पालो अमितको थियो । ठुलाठुला आँखामा "कोरियन" चस्मा लगाउने, सधैँ हल्ला गरिरहने, सबैसँग निहुँ खोजिरहने अमित। उही कौसीमा देखेर बिर्सिएको मुहार।

त्यो मुहार स्कुलमा भर्ना भएपछी मेरो "जानी दुश्मन" भएको थियो। हाम्रो दिन एकअर्कालाई अनेकौँ होच्याउने उपनाम दिँदै, अर्काको नामले जिस्काउँदै, कराउँदै, एकअर्काको काम बिगार्दै बित्ने गर्थ्यो। त्यो दुश्मनी न कहिल्यै सेलाउँथ्यो, न थाक्थ्यो। न स्कुलको बसका पाङ्ग्रासँग रोकिन्थ्यो न बस स्टपदेखि एउटै बाटो घर फर्किने हाम्रा खुट्टाझैँ गल्थ्यो। बरु स्कुलले शनिबार छुट्टी दिन्थ्यो तर अमितको र मेरो झगडा टोलमा कतै खेल्दै गर्दा एकअर्कालाई देख्दा मात्रै पनि सल्किन्थ्यो। भन्नेले त यतिसम्म भन्थे कि हामी दुइजनामा कोहि एक कुनै दिन स्कुल नआएमा स्कुल नै शान्त हुन्थ्यो अरे! स्कुलको शान्तीको खोजखबर त मैले गरिँन, तर उ नआउँदा मेरो दिन भने साह्रै आरामले बित्थ्यो।

...........................................................

सबैकुरा सधैँ एकनास कहाँ हुन्छ र? हुन्थ्यो त जो एक दिन नआउँदा मलाई आराम मिल्थ्यो आज उसको घरतिर चिहाउँदै मेरा आँखा छट्पटाउने थिएनन् । आमाले पुजाथाली मागेपछी बल्ल मन बहलियो मेरो। स्कुलका झगडाबाट टाढा तिजको रमझममा भुलिएँ। भिड नहुने मन्दिरमा पनि अलिअली गर्दै नजिकका मान्छे भेला भइसकेछन्। रमाइलो गर्ने ठाउँ नै नभएको मन्दिरमा पनि कुन्नी कसरी ठाउँ बनेछ, इच्छा न हो! नजिकका देउता हेला नगरी झुम्मिएका टोलका दिदीबहिनी र आन्टीहरुका गीतमा नाच्दै गाउँदै दिन बितिरह्यो।

तीजको रमाइलोले उपहार दिएको पसिनाले भिजेको निधार पुछ्न पछ्यौरी समातेँ। फेरि यति राम्रो पछ्यौरी बिगार्न पनि कसो कसो माया लाग्यो अनि सुम्सुमाइरहेँ। रातो पार्श्वमा सानासाना केही सेता, केही रङ्गिन बुट्टा छरिएको मेरो पछ्यौरी, केही हदसम्म "कुछ कुछ होता है" कि अन्जलीले आँखाभरी आँसु लिएर रेलबाट उडाएको पछ्यौरीझैँ!

.........................................................


"माँ!" निलो कोट, रातो टाइ र रातो रिबनमा सजिएकी सानी अन्जलीले चिठ्ठा खोल्दै, साससँगै पीडा दबाउँदै भनिन्। राहुल स्टेजमा उक्लिएर छोरीको हौसला बढाउँदै गर्दा म चिजबलको धुलो लागेको हातमा बचेका खाली ठाउँले आँसु पुछिरहेँ। कैयौंपटक हेरिसक्दा पनि जब जब यो चलचित्र टिभिमा कतै भेटिन्थ्यो, म एकटक लगाएर हेरिरहन्थेँ। त्योबेला त झन सिडि नै किनेको थियौँ, अनि अन्जलीसँगसँगै म पनि आफ्ना बालापनका सानातिना केही पीडा आँसुमा बगाइरहन्थेँ।

त्यो दिन चिजबलसँगै सागरको अस्विकार पचाउने कोसिस गर्दै थिएँ। केही दिन अघि क्लासमा खेलेको "ट्रुथ अर डेयर" मा बोत्तलको टुप्पो म तिर फर्किएर अडिनु नै नहुने रहेछ। "सागरलाई गएर आइ लभ यु भन्" भनेको सुन्ने बित्तिकै खेललाई लात मारेर अन्तै कतै जानुपर्ने रहेछ। तर पछुताएर के फाइदा जब मनमा लुकाएर राखेका कुरा "डेयर"को निहुँमा पोख्न जाँदा म आफैँले बन्चरोमा खुट्टा गाडिदिएँ। उसको "नो" सँगै मेरा फिल्मी सपना, क्लासका अरु जोडीलाई हेर्दै साँचेका एक थान कल्पना र कति वर्षदेखी सम्हालेर राखेका भावना, सबैको अस्तित्व धरापमा पर्यो। त्यो "डेयर" पूरा गर्ने हिम्मत ममा हुन्थेन त सायद सागरले चटक्कै मसँग बोल्न छाड्दैन थियो होला। कहिलेकाहिँ काँतर हुनुको पनि आफ्नै फाइदा हुँदोरहेछ। अँध्यारोबाट हेर्ने, अघि पर्न आँट नगर्नेले सायद केही पाउँदैनन् होला, तर सायद केही गुमाउन बाट पनि बच्दा रहेछन्।

"राहुल और अन्जलीका झगडा!!!!" म मात्र हैन फिल्म पनि फ्ल्याशब्याकमा पुगिसकेछ। बास्केटबल खेल्दै झगडा गरिरहेका राहुल र अन्जलीलाई देखेर मलाई एक्कासी अमितको झल्को आयो। जिवनमा धेरै कुरा सोचेर, तर्क वितर्क गरेर गरिन्छन्। तर केही कुरा अकस्मातै, बिना कारणै हुन्छन् र वर्षौँपछि पनि, अरुलाई त के, आफुलाई पनि बुझाउन गाह्रो हुन्छन्। त्यो दिन मैले अन्जलीसँग झगडा गरिरहेको राहुलमा किन, कुन अर्थले अमितलाई देखेँ, त्यसको ठोस जवाफ मसँग आजसम्म पनि छैन। तर मैले राहुलमा अमितलाई र अमितमा राहुललाई पाएँ, र त्यो बेअर्थको तुलनाले मलाई सँधैभरी पछ्याइरह्यो।

मेरा धेरै दिन अमितसँग झगडा गर्दै र साँझ राहुल र अन्जलीका झगडा हेर्दै बित्न थाले। उसँग कराउने, निहुँ खोज्ने, उसलाई सताउने बानी नै बस्यो। उ पनि मसँग भिड्न कहिल्यै पछि पर्दैनथ्यो। फरक यति, उसलाई थाहा थिएन कि मलाई अब उसँगका ती तँ-तँ र म-म रमाइला लाग्न थालेका थिए, प्यारा भएका थिए। अन्जलीले झैँ मैले पनि चकचके, अटेरी, सरमिसको आँखाको कसिङ्गर तर साथिहरुको प्यारो राहुललाई "दुश्मन" हैन मायाको नजरले हेर्न सुरु गरेकी थिएँ। बाहिरबाट उसलाई गाली गर्दै भित्र भित्र उसले गिज्याउँदाको हाँसोलाई मनमा कैद गरेकी थिएँ। कहिलेकाहिँ त रिसाउँदा भित्रभित्रैको हाँसो लुकाउन पनि गाह्रो परिदिन्थ्यो। तर जति गाह्रो भए पनि लुकाउनु जरुरी थियो, सागरको जस्तो उसको पनि "नो" सुन्नु थिएन मलाइ।

"सर, यो पुन्टिले मेरो कपाल तानिराख्छे पछाडिबाट!"
"सर अघि तपाइँले प्रब्लम सल्भिङ पढाउँदा प्रब्लमलाई जरै बाट उखेल्नु पर्छ भन्नुभएको थियो नि! मेरो सबैभन्दा ठूलो प्रब्लम नै यो गधा हो!"
क्लासको हाँसो र सरको गालीमा मेरा भावनाको आवाज सुन्न गाह्रो थियो। मायाको आवाज झनै मधुर रहोस् भनेर मैले त्यो झुठो घृणाको हल्ला बढाइरहेँ। मैले उसलाई मनमनै नै माया गरेँ। उसको अघि पर्दा सधैँ आँखा नै तरेँ। उ क्लासमा म भन्दा पछाडी हुँदा "बाखुदा" गितमा बिद्या बालनले शाहिद कपुरलाई ऐनाबट हेरेझैँ क्यालकुलेटरको सोलर सेलबाट उसलाई हेरिरहेँ। उ खाजा खान जाँदा उसले नगरेको गृहकार्य उसको कपी खोजेर, उसको लेख्ने शैली दुरुस्तै सारेर गरिरहेँ। मिसले क्लासमा उसलाई गाली गर्न उठाउँदा अनेक शब्दको अर्थ सोधेर मिसलाई अलमलाइरहेँ। उसको एक झल्को पाउन हरेक बिहानी मन्दिर धाउन थालेँ। मेरो माया कि त मलाई थाहा थियो, कि त यो मन्दिरका भित्तालाई। बाँकी दुनियाँले हामिलाई दुश्मन नै देख्यो। कमसेकम केही समयलाई।

....................................................

फेरि फ्ल्याशब्याकमा हराएछु। आजको बिहानीले फ्ल्याशब्याकको लहर ल्याएझैँ त पहिलै लागेको थियो। अतितबाट आफुलाई झक्झकाएर वर्तमानमा ल्याउँदा ल्याउँदै म टक्क अडिएँ। यो मेरो भ्रम हो वा सत्य हो? कि व्रतको भोकले मेरा आँखा झुक्किन थाले? सधैँझैँ आज पनि खाली भइरहेको त्यो कौसीको डिलमा म जसको आकृती देख्दैछु, के यो उही हो? वा अरु कोहि? के आफुले भित्री मनदेखि चाहेको कुरा आफुसामु उभाइदिने ब्रह्माण्डको षड्यन्त्र यसैलाई भन्छन्? मेरो भाग्य यति बलियो कसरी भयो अचानक कि जसलाई मेरा आँखा त्यो कौसीमा खोज्दै थिए उ अचानक त्यहिँ आएर उभिएको छ! सायद यता फर्किएको हुन्थ्यो त यति सोच्नै पर्दैन थियो। तर अहँ, यो उही हो। मुहार हेर्नैपर्दैन। म चिन्न सक्छु उसलाई, यत्तिकै पनि। आखिर जति समय उसलाई देखेकी छु, धेरै त उसले मबाट मुख फेरेको नै छ।

.............................................................

जति लुकाउन खोज्यो, माया उति नै बढ्दै जान्छ। अनि जति बढ्दै गयो, त्यती नै लुकाउन गाह्रो भइदिन्छ। त्यसैले होला कतै न कतैबाट, एक कान दुई कान भइ अमितसम्म मेरो मनको कुरा पुगिहाल्यो। म चाहन्न थेँ कि उसले कुनै भान पाओस्, चाहन्न थेँ कि उ पनि सागरझेँ टाढा होओस्। तर सायद आफुले जुन कुरा चाहेको छैन ठ्याक्कै त्यही आनो काखैमा ल्याएर राखिदिने जिम्मा लिएको छ भाग्यले। उ पनि मसँग तर्कियो।
"तंँलाई सागरको नाम खराब पारेर पुगेन मेरो पछि लागिस् अब? मुख हेर्याछेस् आफ्नो? तँ जस्तोले लभ गर्ने मलाई? कसैको मुखबाट तेरो र मेरो नाम सुनेँ भने, तँ कतै मेरो पछि लागेको देखेँ भने तेरो घरमा गएर भन्दिन्छु बुझिस्? बांदरको जस्तो मुख लिएर लभ गर्नुपर्या छ खुब!" त्यो दिन मैले पहिलोपटक ऐनामा आफ्नो मुख त्यति ध्यान दिएर हेरेँ। आँसु पुछ्दै स्कुलको बाथरुमको ऐनामा आफैँलाई आँखा तरिरहेँ। न मेरा आँखिभौँ कक्षाका बाँकी केटिकाझैँ सर्लक्क मिलेका, मिलाइएका थिए, न मेरो रङ्ग उनिहरुको झैँ गोरो थियो। न हिस्सी परेको थियो न गालामा हाँस्दा खाल्टो बस्थ्यो। न ओठ उनिहरुको झैँ टल्किन्थ्यो, न आँखामा उनिहरुको झैँ कुनै चमक थियो। त्यो दिन मलाई पहिलो पटक आफ्नै रुप आफ्नै दुश्मनझैँ लाग्यो।

हाम्रा झगडा पहिले रमाइला हुन्थे, तर अब तिनमा उसको घृणा प्रष्ट देखिन्थे। नगरोस् पनि कसरी, उसको लागि सायद म कुनै कुरुप "स्टल्कर" मात्रै थिएँ। म बसमा अगाडि बसे उ सबैभन्दा पछाडी गएर बस्थ्यो। पहिले सधैँ सँगै हिँड्ने बाटो मलाई देख्दैमा फेरिदिन्थ्यो। मलाई छल्नलाई कहिले छिटो हिँड्थ्यो त कहिले बाटोमा अलमलिन्थ्यो। क्लासमा कसैले मेरो कपी बाँड्न लगाएमा फोहोर फाल्ने ठाउँतिर हुत्याइदिन्थ्यो। मलाई साह्रै गाह्रो पर्थ्यो बुझ्न, मैले के गरेकी थिएँ उसको त्यस्तो तिरस्कार पाउनलाई? माया? न त्यो माया उसको अघि देखाएँ, न कहिले उ बाट माया मागेँ। सायद मायाको बदलामा माया कथा र चलचित्रहरुमा मात्र हुन्छ, वा सायद तिनका हिरो-हिरोइन जस्ता देखिने मान्छेहरुको भाग्यमा।

अब घर गएर "राहुल अन्जलीका झगडा" हेर्दै रमाउने दिन रहेनन्। अब त "रब्बा मेरे, इश्क किसिको ऐसे ना तडपाए। दिलकी बात रहे दिलमेँ, होठोँतक ना आए" बज्दै गर्दा वर्षातमा भिज्दै, रुँदै दौडिएकी अन्जलीलाई "सेम पिन्च" भन्ने समय थियो। एक नजर अमितले हेरोस्, मन पराओस् भनेर मैले पनि सधैँ चुल्ठी पार्ने कपाललाई सकिनसकी राम्रो बनाउन खोजेँ, बजारबाट चिप्स्टिक किनेर ओठ टल्काउन खोजेँ, घमौरामा दल्ने पाउडर गालामा दलेर गोरी बन्न खोजेँ। अहँ, केही बदलिएन। सायद राहुलसँगै पूरा कलेज गुलाबी स्कर्ट र लिपिस्टिक लगाएकी अन्जलीमाथी हाँसेको झैँ हाँस्थे होलान् म माथी पनि, मेरा आँखाले नदेखे पनि।

...........................................................................

"प्रीया!"
उसको मुखबाट आफ्नो नाम सायद पहिलो पटक सुनेकी थिएँ मैले त्यो दिन। पहिले सधैँ डल्ली, काली, पुन्टी, मोटी, यस्तै केही हुन्थ्यो। अब त झन् बोल्न नै छाडिसकेको थियो। मलाई छल्नलाई बाटो फेर्ने मोडमा फेरि अचानक मलाई नै कुरेर बसिरहेको देखेर मनमा अनेकौँ कुरा खेल्न थाले। एक मनले भन्यो कतै मलाई गाली गर्न, कराउन त बोलाएको होइन? अर्को मनले अनेकौँ सपना सजाउन थाल्यो।
"तिम्रो र मेरो सिट एउटै रुममा परेछ जाँचमा, मलाई सिकाइदेउ है!"
"तिम्रो!" यो पनि पहिलो पटक नै थियो। मैले सोचेको कुनै कारण होइन रहेछ, खल्लो लाग्यो कता कता। आखीर आफ्नै स्वार्थले बोल्न आएको रहेछ। तर मसँग यो सब सोच्ने फुर्सद कहाँ? म त मख्ख थिएँ, आफ्नै दुनियाँमा। उसले नमाग्दै त उसको लागि के के गरिदिन चाहने म, उसले मागेको यति पनि नाइँ भनुँला र? कारण जेसुकै होस्, उ मसँग बोल्न आयो, त्यो भन्दा बढी मलाई के चाहिन्थ्यो र? मैले त यसमा सुनौलो अवसर देखेँ। मनै देखि कसैलाई माया गरेमा, उसको हरेक कुरामा साथ दिएमा, सधैँ उसको मद्दत गरेमा कुनै न कुनै दिन उसले त्यो माया बुझ्छ र उसले पनि मन पराउँछ भन्ने देखेकी थिएँ कुनै चलचित्रमा। मसँग पनि त्यसो कसो नहोला र? मेरो लागि कसैले यति गरे त म पग्लिन्थेँ, उ कसो नपग्लिएला र कुनै दिन?

त्यो दिन धेरै पछि उ मलाइ हेरेर मुस्कुराएको थियो। मेरो खुशी नै छुट्टै थियो। हरेक जाँचमा मैले उसलाई सिकाउन नयाँ नयाँ तरिका खोजिरहेँ। जोडा मिलाउको लागि हाम्रो आफ्नै साङ्केतिक भाषा थियो। गणितमा उसको लागि जवाफ उसैको ह्यान्डराइटिङमा लेखेर उसलाई दिन्थेँ। सर आएर उसको छेउमा बसिदिँदा "सर, बाहिर बाट कसले हो कसलाई सिकाइरा'छ!" भन्दै सरलाई बाहिर पठाएर उसलाई सिकाउथेँ। हरेक जाँच आफैंमा एउटा नयाँ, रमाइलो चुनौती लाग्थ्यो। म दुनियाँमा पहिलो विद्यार्थी थिएँ होला जसलाई हरेक दिन जाँच भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।

ती दिनहरुमा उसले कहिल्यै बाटो फेरेन। उसको माया पाउन नसके पनि घृणा मात्रै कम हुँदा पनि मेरो मन फुरुङ्ग हुन्थ्यो। अझ एस.एल.सी अघि त मलाइ अर्को लटरी लाग्यो! उ पनि म ट्युसन पढ्ने ठाउँमै भर्ना भयो। मैले जानेका कुरा उसलाई सिकाउने जिम्मा सरले मलाई दिनुभयो। म हरेक साँझ खाजा पनि नखाइ ट्युसनतिर दौडिन्थेँ र उसको बाटो हेरिरहन्थेँ। उसको छेउमै बसेर उसलाई गणित सिकाउथेँ। मेरो पेट उसको सामिप्यता ले नै भरिन्थ्यो। एस.एल.सी मा पनि उसलाई परीक्षा कोठाभित्रै जति सिकाउन मिल्थ्यो त्यति सिकाएँ मैले। आफूले लेख्न बाँकी राखेर पनि सिकाएँ। परिक्षाको अन्तिम दिन उसले घर फर्किने बाटो छुट्टिने बेला मलाइ "थ्यान्क यु" भनेको थियो। मेरो मनले ती शब्दमा "आइ लभ यु" खोज्दै थियो, पागल न हो। खैर, त्यो "थ्यान्क यु" साह्रै विशेष थियो मेरो लागि। उ मुस्कुराएको थियो।

.........................................................

जसो तसो आँटेर फेरि कौसीतिर हेरेँ। म एकैछिन के यादहरुमा हराएकी थिएँ, उ पनि हराएछ। छटपटाएर आँखा डुलाएँ, बसेको ठाउँबाट उठेँ। उ हो कि होइन पनि हेर्न भ्याएकी छैन मैले, किन यति छिट्टै हराइहाल्यो? के यहि खुल्दुली लिएर फर्कनुपर्ने हो म यहाँबाट? आउँदा खाली मन लिएर आएकी थिएँ तर फर्कँदा सायद त्यो भन्दा पनि बेहाल हुनेछ मेरो। अहँ, अलिकती त दुख गर्नै पर्छ। खोज्नै पर्छ मैले उसलाई। मन्दिरछेउ बाट उसको घरतिरको बाटो पहिल्याउँदै गएँ अनि फेरि टक्क अडिएँ। कौसीमा त्यही मुहार छ। यतै फर्किरहेको। जिउ पहिलेभन्दा केही मोटो, चश्मा पहिलेभन्दा केही पातलो। तर मान्छे उही नै हो। यो दिनको बारेमा मैले कति कल्पना गरेकी थिएँ, कती पर्खेकी थिएँ, बिचमा कतै आशा मारीसकेकी पनि थिएँ। तर आज उ त्यहिँ छ, जसरी वर्षौँ अघि थियो, आफ्नै धुन मा। म यहिँ छु, यहि मन्दिरको आडमा उसलाई हेर्दै, उसबाट लुक्न खोज्दै, उसको एक झलकको लागि तड्पिँदै।

"अमित त अष्ट्रेलिया गयो रे पढ्न!"
धेरै दिनसम्म उसलाई कतै नदेखे पछि सोधेकी थिएँ मैले केही साथीहरुलाई खोजखबर गर्न। सधैँ आँखाअघी हुने अमित त्यसरी अचानक त्यति टाढा पुगेको सुन्दा कति तड्पिएकी थिएँ म। आफ्नो चित्त बुझाउन अनेकौँ सपना बुनेँ फेरि। राहुल र अन्जलीले पनि त भेटेका थिएनन् एकअर्कालाई कति समयसम्म। तर पनि राहुल फर्किएर त आयो कुनै दिन। मलाई पनि कतैकतै आश थियो कि अमित एक दिन आउनेछ, ओभरकोट हावामा लहराउँदै, हातमा एक झोला समातेर दौडदैँ, अनि म त्यतिन्जेल अन्जलीझैँ "राम्री" भइसकेकी हुनेछु। उसले मलाई हेर्नेछ, मन पराउनेछ, पुराना कुरा सम्झिनेछ, अनि माया गर्नेछ। यस्तै अनेकौँ कथाहरु लेखिरहेँ मनमा। इन्डिया गएका साथी नेपाल आइरहे बिदामा, जापान गएका साथी पनि आए कुनै बेला, तर उ आएन। कति वर्ष बिते, धेरै कुरा बदलिए। सोच बदलियो, रुप बदलियो, तर उ अझै आएन। त्यही बिचमा मैले कतिलाई माया गरेँ, कतिको माया पाएँ, मायामा मन दुखाएँ, फेरि जोडेँ, फेरि चोट पुर्याएँ। र पनि जब जब त्यो मन्दिरमा पाइला जान्थे, मेरो नजर शिवको मुर्तिमा भन्दा पहिले उसको कौसीमा नै पुग्थे।

आज धेरै पछि त्यो कौसी खालि छैन। मन न हो, फेरि एक नजर लगाएँ। पछुताइहालेँ। उ त्यहिँ रहेछ। आँखा जुधे। न अन्तै फर्किन सक्छु न यसरी उसलाई हेरिरहन। के सोच्दै होला उ? मलाई चिन्यो होला उसले? यति सजिलै चिन्न त नपर्ने, कति बदलीइसकेँ म उसले चिनेकी डल्लीभन्दा। नचिनेको भए फेरि के सोच्ला उसलाई यसरी हेरिरहँदा? के देख्दो होला उसले मलाई आज हेर्दा? अन्जलीलाई वर्षौँपछी सारीमा, लामो कपाल र साजश्रिङ्गारमा देख्दा राहुल दङ्ग परेझैँ परेको होला उ पनि? के अब म उसलाई राम्री लागेँ होला? मनमा कुरा खेलाइरहेँ, पागलझैँ टोलाइरहेँ। उ पनि एकोहोरो हेरिरह्यो केही बेर। अनि अचानक, नसोचेको भयो। उ मुस्कुरायो।

..........................................................

एस.एल.सी को अन्तिम दिन, उ अन्तिम पटक मलाई हेरेर मुस्कुराएको थियो। खुशी थियो त्यो दिन मन, र दुखी पनि। उसँग सधैँ भेट हुने, उसलाई सिकाउने दिनहरु सकिएको मा। र पनि एउटै टोल न थियो, कतै न कतै भेट हुने नै छ, कुनै बाटो भेटिने नै छ उसको वरपर हुने। अब त दुश्मन जस्तो पनि गर्दैन उसले मलाई। साथी त भएँ उसको कमसेकम। "प्यार दोस्ती है" भन्थ्यो राहुलले। त्यही खुशीले निदाउन सकिँन त्यो रात।

तर जीवन चलचित्रझैँ कहाँ हुन्छ र! केही दिनपछि अमितलाई बाटोमा देखेँ, उ मलाई देखेर नदेखेझैँ अर्कै बाटो लाग्यो। देखेन होला भन्ने सोचेँ, किन त्यसो गर्थ्यो र? मनलाई सम्झाएँ। तर हरेक पटक त्यही चलिरह्यो। उ फेरि त्यही जाँचअघिको अमित भइदियो। एस.एल.सीको रिजल्ट आयो, पास हुन धौधौ पर्ने उसको मेरो केही असरले राम्रो अङ्क पनि आयो। त्यही अङ्कले र आफ्नो पैसाले उ एउटा ठूलो कलेजमा भर्ना पनि भयो रे। एक दिन कलेज जाँदा बस स्टपमा देखेँ उसलाई, फेरि भाग्ला भन्ने डरले अघि परिँन। उ बस चढ्यो, गन्तव्य अलग भए पनि रुट उही थियो, म पनि चढ्नै पर्यो। मलाई उही बसमा देखेर उसको मुहारको रङ्ग नै बदलियो, मानौँ वर्षौँदेखी जुन अतितबाट भाग्न खोजेको हो त्यो आफ्नो सामुन्ने आएर उभिदिएझैँ। तर उ भाग्न छोडेन, त्यो बसबाट पनि ओर्लिएर गयो। त्यो क्षण लाग्यो ती अघिका केही महिनाहरु सबै सपना मात्र थिए, कुनै मीठो भ्रम। र त्यो दिन जे भयो त्यो सत्य थियो, र भइ नै रहनेछ।

माया भन्ने कुरा अचम्मकै हुँदो रहेछ। आफुले जति गरे पनि, उसलाई केही असर नहुने। उसको लागि आफ्नो प्राण बिछ्याइदिए पनि सायद कदर नै नहुने। आफुले जति माया दिए पनि उसले बदलामा माया दिन्छ, दिँदैन, कति दिन्छ यो आखिर उसैमा भर पर्ने रहेछ। सायद त्यो उमेरका भावनालाई माया भन्न सुहाउला नसुहाउला, तर मैले माया गरेकै थिएँ। दोष उसको पनि के भन्नू। म आफैँ पनि कहिले माया दिने पात्र बनेकी छु, त कहिले मायाको मोल नबुझ्ने। कसैले आफ्नो लागि जति गरे पनि माया गर्न नसकिने रहेछ, र कसैको लागि जति गरे पनि उसको माया पाउन नसकिने रहेछ। पागल थिएँ म जो सोच्थेँ एकोहोरो उसको लागि केही गरेर उसको मनमा ठाउँ बनाउँला भन्ने। केही क्षणलाई लागेको पनि थियो उसको मनमा बस्ने बाटो खुलेझैँ, तर त्यो सायद त्यही दिन बन्द भयो जब उ अन्तिम पल्ट मुस्कुरायो।

...........................................................

आज फेरि मुस्कुराउँदै छ उ। कुन्नी कुन कारणले होला, कुन स्वार्थले होला। कति आयु होला यो मुस्कानको यसपटक। मलाई चिनेर मुस्कुरायो वा नचिनेरै? पुराना याद सम्झिएर मुस्कुरायो वा यो नयाँ रुप देखेर? साँच्ची, उसले मलाई आजको यो तिजको रङ्गिन रुपमा नदेखेर, हिजोको खल्लो मुहारमा देखेको भए पनि के यहि मुस्कान छाउँथ्यो होला उसको मुहारमा? के राहुलले वर्षौँपछी अन्जलीलाई देख्दा उसको कपाल पहिलेझैँ हुन्थ्यो, उसलाई पहिलेझैँ सज्जिन आउँदैनथ्यो र सारीमा हुन्थिन भने उसलाई मन पराउँथ्यो होला? के "एक बार प्यार करते हैँ" भन्ने राहुललाई पुरानै अन्जली देख्दा दोस्रो पटक "प्यार" हुन्थ्यो होला? के त्यो चलचित्रको अन्त्य उही हुन्थ्यो होला? राहुलले अन्जलीलाई माया गर्नु नै थियो भने वर्षौँअघी किन गरेन? अन्जली त उही नै थिइ, केवल रुप फरक। म पनि त उहीँ थिएँ, केवल शरिरमा र मुहारमा थपिएका केही रङ्गको फरक न हो। आज मलाई यति टाढाबाट हेरेर मुस्कुराउने अमित त्यो दिन किन मुस्कुराएन जब म त्यही बसमा चढेकी थिएँ?

हातले इशारा गर्यो उसले, पर्खिउ म आउँदैछु भनी। वर्षौँदेखी यहि दिन त पर्खिएकी थिएँ, आज केही मिनेट अझ पर्खनु त कुन ठूलो कुरा हो र? तर कुन्नी किन, मन मरेझैँ भयो। पर्खाइ व्यर्थ लाग्दैछ। लाग्दैछ यहाँ उभिरहँदा मैले फेरि एउटा नयाँ चक्र सुरु गर्नेछु, उही चक्र। फेरि उही भावनाहरु,
 उही मेहेनत, उही कथा। पहिलेकी प्रीयासँग झैँ स्फुर्ती छैन मसँग त्यही कहानी दोहोर्याउन। पाइलाले पनि अघि बढ्न भनेझैँ लाग्दैछ। चालिदिएँ। आज बाटो फेर्ने पालो मेरो रहेछ।




Comments

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

Minimising the Fear of Oblivion

There was a time when I had these huge dreams. I wanted to accomplish everything at an young age, I was scared if my dreams would die like that of my parents. I would even think of never getting married because the way I saw, it trapped you. I would write songs and think of having them recorded and even plan a whole music video, imagine it playing on the radios. However I didn't have that kind of money. I wrote novels and imagined getting them published and sold, getting prizes for those. I laugh when I remember I actually even met a lot of publishers by searching the addresses and going there alone, when I was just 18 or less. The thing was, I was so stupidly determined I would do something big, become someone famous at an early age. We've all read biographies where people started at an young age, nobody believed them and they ended up big right? I was determined, that it was my fate to become a famous person like that. But more than that, I was scared, what if I die without ...