Skip to main content

हराएको सरोकार


दिनभरिको सबैभन्दा गाह्रो काम नै उठ्नु हँुदो रहेछ । राति अबेरसम्म टिभी र फेसबुकको स्क्रीनमा टाँसिएका आँखा बिहान अलार्मले ‘उठ् ’ भनेको फिटिक्क टेर्दैनन् । आफ्नो अल्छीपना कोठाभरि फैलाउन हाइ काढेर हात तन्काउँदै मात्र के थिएँ, त्यत्तिमै रोक्न पुगें । हात अलि पछाडि पुगेको भए लाग्ने रहेछ चियाको कपमा, अनि सहिद बन्थ्यो यो बिचरा पत्रिका । खै कसको मुहार छ आज फ्रन्ट पेजमा, भाग्यमानि हुन्थ्यो मेरी आमाको हातको चिया चाख्न पाएर ।

आमाको बानी पनि अचम्म लाग्छ, छोरा उठ्नु अघि चिया तयार हुन्छ, तर उठाउँदिनन् । यो बिचरा चियाको कप पनि सधैँ पुलुपुलु हेर्दो हो म अल्छि तन्नेरीको आफ्नै निद«ासँगको आनाकानी । अनि यो पत्रिका, न मैले कहिले पढ्नु यसलाई ! के नै हुन्छ र हेर्न लायक ? त्यही बिचका पानामा हलिउड र बलिउडका सेलिब्रिटीका चर्तिकला, त्यो त तिनले भन्दा पहिले हामीले चाल पाइसक्छौँँ इन्टरनेटमा । हामी टिनएजरको पत्रिका पढाइ पछिल्ला पानाबाट सुरु हुन्छ, खेलकुद पट्टिबाट । त्यो पनि के हेराइ भयो र ? अस्ति राती ब्यँुझेर हेरेको मेस्सीले ह्याट्रिकले रेकर्ड तोडेको कुरा आज बल्ल आउँछ पत्रिकामा । अनि बाँकी रह्यो त्यही, दुर्घटना, मान्छे मरेको कुरा, को पक्राउ, को रिहा, सहमति भएन, यहि सब । पात्र फेरिएलान् तर हरेक बिहानी यो पत्रिकाले भट्याउने कथा उही हुन्छ ।

 तर पनि आमाले पत्रिका छाडेर जानुहुन्छ मेरा लागि अनि म पनि पाना पल्टाउँछु उनका लागि । सायद हामी बिच कुनै मौन सम्झौता नै भइसक्यो यो । आज के रहेछ पत्रिकामा ? ए, सार्कको कुरो ! स्कुल पढ्दा सुगाले रटेझैँ रटेको हो सार्क राष्ट्रका नाम, सार्कको काम, कुन्नि के के । अहिले भने त्यही ‘साउथ एसियन असोसिएसन । । । । ’ पछि सम्झिन पनि हम्मेहम्मे पर्छ । आफ्नो लागि त सार्क भनेको बिदा हा,े दिनभरि ओछ्यानमा लडेर देश सफा गर्ने र देश सफा गर्नेको मजाक बनाउनेको रमिता इन्टरनेटमा हेरेर बस्ने बिदा । सार्कमा को आयो, को गयो, यही सब छ पत्रिकामा । गएको त कोहि छैन क्यारे । बरु हाम्रो फुटबलको राउल गार्सिया कहिले आए, द्धारिका होटेल पसे, कहिले गए सब याद छ । सोनु निगम नेपाल आउने कहिले, रबिना टन्डनले कहाँ कहाँ फोटो खिचाइन् नेपालमा, सुस्मिता सेनले नेपाली केटा ह्यान्ड्सम हुन्छन् भनेको, सब याद छ । हामीलाइ चाख लाग्ने यस्तै हो, सार्क त केवल बिदा हो ।

“हेर् त कपालको हालत, त्यो चन्द«कान्ता भन्ने सीरियल आउँथेन ? त्यसको याकुको जस्तै भा’छ कपाल पनि । अझ मुख, अबेरसम्म सुतेर चिल्लो न चिल्लो । जा, गएर मुख धो, दाँत माझ् !” आमाको उही कुरा दोहोरियो आज पनि ।

छोराको हातमा चाहे नागरिकता र लाइसेन्स नै किन नहोस्, बिहान उठेदेखि राति सुतेसम्म के के गर्नुपर्छ भन्ने लाइसेन्स चाहिँ आमाकै हातमा हुन्छ ।

“ल हेर, चियाको कप नि खाएर त्यत्तिकै राखिस् है ? आफ्नो कोठामा झिँगा भन्केलान् भन्ने पीर पनि छैन । आजकलका भुराहरु एउटा खाली कप त उठाउन सक्दैनन्, देशको भार के उठाउँथे !”
म मुसुक्क हाँसेँ मात्र । देश र चियाको कप उस्तै भइसकेछ ।

आँखा मिच्दै बाथरुम पुगेर पानीका छीटा परेपछि बल्ल जिद्दी गर्न छाडे आँखाले पनि । कोठाबाट बाथरुम आउन्जेल बिचमा केही याद छैन, एकातिर बाट आमाको करले र अर्कोतिर बाट निद«ाले तान्दा ! अहिले हेर्छु, मेरो कोठाबाट पत्रिका बुबाको काखमा पुगिसकेछ, अनि चश्मा तेर्सिएको छ अक्षर अक्षरमा । खै यिनले के भेट्छन् ती पत्रिकामा, भेटेर पनि के नै गर्नसक्छन् र ? पढ्यो, चुकचुकायो, बस् ! अनि फेरि अर्को दिनको ताजा पत्रिकामा बासी समाचार नियाल्ने पर्खाइमा जुट्छ्न् ।

आज कताबाट कान्तिपुर टिभीले हाम्रो घरको टिभी सेटमा खुल्ने सौभाग्य पाएछ । आमाको हातमा रिमोट भए हिन्दी सीरियल खुल्थे, मेरोमा भए स्पोर्टस् च्यानल । आज भने भाग्यमै लेखेर आएछ, नेपाली च्यानलले । रिमोट बुबाको काखमा आराम गर्दैछ । सोच्दै होला यिनीहरुका आमा छोराले दिनु दुःख दिए मलाई । ‘आइज, हिम्मत छ भने लैजा’ भनेर गिज्याएझैँ लाग्छ यसले पनि । तर बुबासँग रिमोट खोस्ने हिम्मत छैन म मा । कुन निहँुमा पकेट मनीको कटौती गर्दैलान् भन्ने पीर ! त्यसैले चुपचाप सोफामा गएर बसें, घरि बुबाको मुख हेर्दै र घरि टिभीको ।

‘निर्वाचन सरोकार ’, यो नामको कार्यक्रम आइरहेछ टिभीमा । निर्वाचनको नाम सुन्ने बित्तिकै बुबाले आँखा म तिर फर्काइहाले । म चाहिँ कटघरामा उभ्याइएको अपराधी झैँ भएछु यहाँ । चुनावको दिन सम्झिए होलान्, यिनको रिस अझै मरेको छैन । तर म हट्दिनँ यहाँबाट । म विश्वस्त छु मैले त्यो दिन केही गल्ति गरिनँ ।
चुनावको दिन थियो, मेरो लागि भने केवल अर्को एक बिदा । अरुलाई खै के कारणले त्यो् दिन कहिले आउला झैँ हुन्थ्यो होला, मलाई भने आनन्द लागेको थियो, अबबाट कसैको ‘बिज्ञापन’ बजाउँदै टोलटोल चहार्ने गाडीको हल्ला झेल्नु पर्दैन भनी ।  

“तँ अहिलेसम्म तयार भइनस् ?”

“लौ, के को लागि तयार हुनु नि ?”

“भोट हाल्न जानुपर्दैन ? कुन कुन टिभीले क्यामेरा घुमाउँदा पर्लास्, यस्तै मुख देखाउँछस् टिभीमा ? झन मेरो छोरो टिभीमा आयो भनेर सबलाई सुनाउनुपर्छ मैले । जा, हिरो बनेर आइज !”

“ह्या, म जाँदिनं के भोट सोट हाल्न !”

त्यत्तिकैमा बुबाको आगमन भयो । कुराबाट बहस र त्यसपछि झगडा बन्नु अघिनै कोठामा पसेर ढोका थुनेँ । ढोकाले छेक्न नसकी अलि अलि मेरो कानसम्म पनि आइरहेथे बुबाले ‘तेरो छोरो यस्तो, उस्तो’ भन्दै आमालाई सुनाएका कुरा । कति दौडधुप गरेर मतदाता परिचय पत्र बनाएँ, अहिले आएर भोट नदिने, यस्तै फत्फताउँदै गए भोट दिन आमासँग ।


आजसम्म पनि मलाई लाग्दैन मैले त्यो दिन केही गल्ती गरेँ । हो, भोट दिने उमेर कहिले पुग्ला भनेर मलाई पनि उत्साह थियो पहिले । सानोमा जब ठूलाहरुको औँलामा भोट दिएर आएको चिनो देख्थेँ, मलाई पनि छट्पट हुन्थ्यो, अनि मसी दलेर धाक लगाउन जान्थेँ साथीहरुलाई “मैले पनि भोट दिएर आएँ” भन्दै । अहिले लाग्छ, मेरो भोट दिने उत्साह त्यो मसीभन्दा चाँडै मेटियो । 

बुबाको करले भोट हाल्न त जान्थेँ होला, तर कसलाई ? कि त्यो पनि बुबाको करले, बुबाको फलानो साथी फलानो पार्टीको भन्ने आधारमा हन्थ्यो ? मतदाता परिचयपत्र मैले पाउनुको अर्थ यो हो कि म उमेरले र सोचले आफ्नो भोट कस्लाई दिने, त्यो निर्णय लिन परिपक्व छु । त्यसैले मैले भोट नहाल्ने निर्णय लिएँ ।

कसलाई भोट दिनु मैले ? चाहे जुनसुकै पार्टी सत्तामा होस्, चाहे जुनसुकैले बिरोध गरोस्, कलेजसम्म हिँडेर पुग्नुपर्ने सास्ती र्मैले पाएकै छु । के मैले भोट हालेको पार्टीको नेता ठूलो पदमा पुग्दा तिनको सवारीले मेरो गाडी जाममा नफस्ने छुट छ मलाई ? यदि छ भने म हाल्छु भोट । यहाँ सत्तामा जुनसुकै पार्टी होस्, वडामा सानो काम गराउन देखि कलेजमा भर्ना हुन सम्म मैले घुस टक््रयाउनै परेको छ । यहाँ जोसुकैले जिते पनि दःुख पाउने त मैले नै हो , तब किन जाउँ म कसैलाई भोट गर्न ?  


त्यो दिन जब देशले मेरो मत माग्यो, म बन्द कोठामा थिएँ । मेरो मत थियो, तर त्यो त्यहाँका कागतमा थिएन । मेरो मत यो थियो कि म कसैलाई भोट दिन चाहन्नथें । खै, कसैले गरेन मेरो मतको कदर । त्यसैले म पनि चुप बसें । म त्यही दिन मत दिनेछु जुन दिन हाम्रो देशमा पनि ‘कसैलाई जिताउन चाहन्नं’ भन्दै भोट हाल्न पाइनेछ । सायद अर्कोपटक हुनेछ, या सायद अझ कुर्नुपर्नेछ मैले । बरु भोट नहालि बस्नेछु तर आफ्नो इच्छा विपरीत मत खसाल्नेछैन । तर यो कुरा बुबाले बुझेनन् । उनलाई सायद आफ्नो छोरा जिम्मेवार नागरिक नभएको भन्दा पनि आफ्नो साथीको पार्टीले पाउनसक्ने घरकै एउटा भोट कम भएको चिन्ता थियो ।
“म जस्तो सब थाहा हुनेले के हेर्नु यो, आपूम त पहिलै सरोकारवाला । आजकलका आवाराहरुले हेर्नुपर्ने । साथीसँग घुम्न कहाँ कहाँ पुग्न हुने, एउटा भोट हाल्न त्यही चोकसम्म पुग्दा पनि ढाडै भाँचिएला जस्तो !”
आफ्नै छोरालाई गाली गर्न नि घुमाएर कुरा गर्न थालेछन् बुबाले । आजकल त नेताहरु पनि एकअर्कालाई पेच हान्छन् खुल्लमखुल्ला, त्यतैबाट सिके होलान् यिनले पनि । म के गरुँ ? नबोलँु त वास्तै गरेन भन्छन्, बोलँु त ‘बाउलाई जवाफ फर्काउने भइसक्यो’ भन्छन् । चित्त नबुझेको कुरा बोल्न नि डराउँदैछु । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, कुनै तन्त्रमन्त्रले छोएनछ मलाई ।

“ले, पत्रिका पढ्, बुद्धि आउँछ तेरो पनि !” 

मैले पत्रिकाको विरुद्ध क्रान्ति नै गर्नलागे भन्ठाने कि कसो ! मलाई पत्रिका, टिभी, केहीसँग गुनासो छैन, चित्त बुझ्दैनन् त यिनमा आउने यी समाचार, या भनूँ आफ्नै देशको सत्यसँग । बलात्कार गरेको खबर आउँछ, पक्राउ परेको र सजाय भएको आउँदैन । ठूलाबडाको रुघाखोकी पहिलो पृष्ठमा पुग्छ अनि लाखौँ अलपत्र बिरामीका फोटो पत्रिकाका पानामै भएपनि खै कता हराउँछन् । हामी यूवाको मन जित्न त यी ठूलाठूला कुरा गर्नेले भन्दा खेलकुदमा जादु देखाएर देशको नाम राख्नेले सकेका छन् । तर खोइ, तिनले पाउनुपर्ने कदर देखाउन किन हिच्किचाउँछन् यहाँ ? एसियाडमा खेलाडी समयमा पु¥याउने बन्दोबस्त गर्न अनुतीर्ण भयो यो ‘सिस्टम’ । भन्न पनि के भन्नु, कति भन्नु, पहिलो टि ट्वेन्टी इन्टरनेशनलमा कोही पुराना, कोही अरुका लुगा लगाएर टालाटुली बाटुली गर्दै खेल्नुपरेको कुरा । तिनले जितेर आउँदा आफैँले ब्याट घुमाएझैँ शान देखाउनेहरुलाई तिनको त्यो अवस्थामा आपूम नाङ्गिएझैँ किन नलाग्दो होला ?

बुबालाई यो सब सुनाउँ भने भन्नेछन् ‘ खेलेर खुबबढ्छ नि देशको शान ?’ खै कुन दुनियाँमा छन् यिनी । देशको नाम मात्र लिँदा पनि ‘फुटबल’ बुझिने देश छन् यहाँ । आफ्नै छिमेकको देशले क्रिकेटमा कति नाम कमायो त्यो पनि देख्दैनन् । देशको शान जोडिएको कुरालाई बेवास्ता गरेर उही सगरमाथा र बुद्धको नामको ढोल पिटिरहनेसँग बहस गरेर सकिन्नँ ।


म पनि कहाँ सोचमा डुबेँ । बुबाको शब्दमा ‘आवारा’ म, मजस्ताले देशको बारेमा सोचेको सुहाउँदैन । हामीले सोचेको कदर पनि कहाँ हुन्छ र, हावा कुरा गरेको सोच्छन् । हामी साना मान्छेको सानै सोच होला, तिनका ठूलाठूला बिजोगमा के फाइदा छ हामी के बुझ्थ्यौँ ?  

“ यस्तै टोलाएर लभसभको कुरा सोच्न त फुर्सद हुन्छ नि आजकाल यी आवारालाई । देशको माया गर्न के जानून् !”

मैले बुझ्न सकिनँ चश्मा पुछ्दै पाना पल्टाएर, चुक्चुकाएर बुबाले देशलाई मैले भन्दा बढी माया कसरी गरेछन् ।

बुबाको रिस हेर्नुभन्दा बरु फेसबुक नै नियाल्नु ठिक । अमृतको स्टेटस हेरेर बुबाको अगाडि हाँसो रोक्न गाह्रो छ ।

“ह्याप्पी सार्क डे”

यस्तै हो राजनिती हाम्रालागि ।भन्नेहरु भन्छन्, हामीले राजनितीलाई, देशका कुरालाइ, ‘सिरियस्ली’ लिएनौँ, तर हामीले कारण कहाँ पायौँ र ? पत्रिकामा आउने यस्ता कुरा हाम्रालागि सास्तीका कारण बन्छन् अनि हामी फेसबुक र ट्वीटरमा हाँसोमा उडाइदिन्छौँ । यि ठूलाठूला कुराले जबसम्म हाम्रो सानो जिवनमा केही नयाँ ल्याउँदैनन् तबसम्म हामी यस्तै रहन्छौँ । यिनले युवाको मन छुन सके पो खुलामञ्चको सट्टा मनमै ताली बज्थ्यो । अहिले त यि सब केबल ठट्टा हुन् हाम्रालागि । अब म पनि थपिएँ यी कमेन्टको भिडमा ।

“सार्क डे रे ! सार्क भनेको के हो नि था’छ तँलाई ?”

“अँ, त्यो ठूल्ठूलो दाँत भा‘को माछा ।”

“बिदाको दिन हो नि !”


“हैन, सार्क भन्या टुरिज्म इयर हो, सब आएर घुमिराछन् ।”  

“चुप लाग्, सार्क भन्या सफाइ दिवस हो । मलाई नि सार्क लाग्यो, नुहाउनु पर्छ आज त !”

“ ह्या केटा हो ! आफूलाई क्या बोर भइसक्यो, जोर दिन रै’छ आज, आफू बिजोर ! ”

“ ए ! तँ बिजोर पो ! कहिले भो ब्रेकअप ?”

“ हाहा ! ”


आज फेरि अर्को ‘ ठूलो ’ विषय “हाहा! ” भन्दै सकियो ।




Comments

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

चर्किएको ऐना

              रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन !               आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्...