Skip to main content

एक महँगो सपना

‘यति प्रेसर छ नि पढाइको । तँसँग त घर–परिवार छ । कमसे कम आफ्नै देशमा छस् । यहाँ त पढाइको प्रेसर अलग, घरको न्यास्रो अलग !’

‘जहिले यस्तै सेन्टी कुरा गरेर बस् । त्यस्तोे मान्छे किन विदेश जानुप¥यो त ? नेपालमा मेडिकल कलेजको कमी थियो र ? आखिर जता गए नि पैसै तिरेर पढ्नु रैछ । नेपालमै पढ्नुपथ्र्याे त त्यस्तो मान्छेले, के सधैँ किचकिच गरि’रा होला ?’

सोच्थेँ, अरूले बुझोस्, नबुझोस् । यही एउटा साथी छ, मलाई बुझ्ने । तर, यसले पनि पन्छाइदियो । अँ, मेरै गल्ती होला सायद । रहर नै होला मेरो यति टाढा आउने । सधैँ बिदेसिनेको मात्र गल्ती जो देख्छन् यहाँ ।
‘आमा, म त कहिले विदेश जान्नँ ।’

न कसैले कहिल्यै जा भनेको थियो, न त नजा नै । तैपनि सानैदेखिको अठोट थियो यो मेरो । घरबाट एकरात पनि अन्त कतै बिताएको थिइनँ । अचम्म लाग्थ्यो, साथीहरू कसरी घर छाडेर राजधानी आएका होलान् ! मसँग त त्यति पनि हिम्मत थिएन । र, थाहा थियो, बुवाआमासँग त्यति पैसा थिएन, अरूलाई झैँ विदेश पठाउने । अनि, झन् मजबुत बन्दै गयो त्यो अठोट ।

प्रवेश परीक्षा सकेर बाहिर मात्र के निस्किएँ, ओइरो लाग्यो प्रोस्पेक्टस बाँड्ने हातहरूको । यसो हेरेँ, विदेशी कलेजका पर्चा, अठोट सम्झिएँ । अनि, वास्ता नगरी सरासर अगाडि बढेँ, परीक्षा केन्द्रबाहिर हातमा बटुलेका कलेजबारे पर्चा र परीक्षाबारे प्रश्न लिएर उभिएकी आमातिर ।

‘कस्तो भयो जाँच ?’

‘ठीकै, स्कलर्सिप त आउँदैन । तर, त्यति नराम्रो नि हुँदैन माक्र्स ।’

‘अस्ति टियुको दिँदा पनि त्यही भनिस् । ल छोड्, यसपालि पैसै तिरेर भए पनि पढाउँछौँ भनेकै छौँ त । हिँड अब ।’

अँ, पेइङमा पढाउने कुरा त पोहोर साल पनि भएकै हो । मेरो नतिजा त धेरै राम्रो थियो । तर, अरूको अंक मेरोभन्दा धेरै थियो । अनि, फुत्कियो स्कलर्सिप । कुरा चल्यो पैसा तिरेर पढ्ने । समस्या थियो त केवल पैसाको । समाधान थियो, घरै धितोमा राख्ने ।

‘ह्या, पढ्नु छैन मलाई मेडिकल–सेडिकल । तपाईंहरूको सानैदेखिको किचकिचले त हो पढ्न लागेको । आफ्नो सपना ममाथि नथोपार्नुस् !’

त्यो सपना जति बुवाआमाको थियो, त्यति मेरो पनि । तर, जसोतसो पैसा जम्मा गरेर, वर्षाैं लगाएर बनेको घरको अगाडि मेरो सपना केही थिएन । घरको मायाले आफू नराम्रो बनिदिएँ ।

सम्झनासँगै बगेछु, भर्खरै १२ सकिएपछिको मेडिकल पढ्ने उत्साहका दिनहरूतिर । छेउमा थियो, एनोटोमीको किताब । अँ, गाह्रो छ यो पढाइ । तर लाग्छ, म यसैका लागि बनेको हुँ । त्यतिबेला घरमा झुटो त बोलिदिएँ । तर, सत्य र सपना लुकाएर कहाँँ लुक्छन र ?

‘मलाई थाहा छैन, तैँले किन ढाँटिस् । तर, आमासँग कुरा लुकाउन सकिँदैन बाबु ! मेडिकलमा रहर छैन भनेर जुन विषय छानिस्, त्योसँग कुनै नाता नै छैन तेरो । बाध्यताले पढ्दै छस् । निसासिँदै छस् तँ । मलाई ख्याल छ, सेतो कोट लगाएर फेसबुकमा फोटो हाल्ने आफूसरहका साथी देख्दा तँलाई कस्तो हुन्छ । मसँग किन कुरा लुकाउँछस्, भन् त ? झर्किंदैमा के तेरो मुखको आवाज त्यति ठूलो पहाड बन्छ, त्यो तेरो मनको आवाज तेरी आमासम्म आउन छेकोस् ? भन् त किन ढाँटिस् ?’

खै कुन्नि कताबाट भक्कानो फुट्यो । सानो छँदा आमाको पछ्यौरीमा मुख लुकाउँदै रोएझैँ मनको व्यथा लुकाउन खोजेँ ।

‘आमा, मलाई घर धितो राख्ने मन थिएन ।’

‘घर त अर्को पनि बनाउन सकिन्छ । रुन बन्द गर् अब । यो वर्षका मेडिकल इन्ट्रान्स नजिक आइसक्योे, दिँदैनस् ?’

‘तर, मैले त केही तयारी नै गरेको छैन । पोहोर साल त्यत्रो नम्बरले त पुगेन स्कलर्सिपलाई । अहिले त झन् के पुग्ला !’

‘नआओस् न त स्कलर्सिप ! हामी पढाउन सक्दैँनौ र तँलाईं ? मैले र बुवाले कुरा गरिसक्यौँ । पुर्खाको एउटा जग्गा थियो मुद्दामा फसेको, मुद्दा मिलिसक्यो । हाम्रो भागमा पनि अलिकति आउँछ । तँ चिन्ता नगर् । ध्यान दिएर पढ् मात्रै ।’

कति सजिलै बुवाआमाले मेरो मनको र भविष्यको सबै चिन्ता आफैँ लिनुभयो । त्यो समय मैले केवल पढ्नु थियो । तर डर यो थियो, अरूले झैँ मैले तयारीमा समय दिएको थिइनँ ।

नतिजाको पर्खाइमा दिन त्यसै बित्दै थिए । अनि, पालैपालो दुवैतिरको नतिजा आयो, सोचेजस्तै । दुवैमा पेइङमा पढ्न पाइनेसम्मको अंक थियो । समय आयो कलेज छान्ने । वास्तवमा कलेजले मलाई छान्नुपर्ने थियो ।

नतिजा आइसके पनि सिट निर्धारण भएको थिएन । केही दिन भर्ना नखोल्ने आदेश थियो सबै कलेजलाई । त्यसैले फुर्सदमा फेसबुकको भित्ता चहार्दै थिएँ ।

अचानक एउटा स्टाटस् देखेँ, ‘कति लामो लाइन हो यो, मेडिकल कलेजमा । भर्ना गर्न नि कति कुर्नुपर्ने : फिलिङ टायर्ड ।’

हत्तपत्त कमेन्ट गरेँ, ‘ओइ, भर्ना खुलेको नोटिस त आछैन कतै…’

‘खै, खुलिसक्यो, म त यतै छु ।’

बुवालाई सुनाउन दौडिएँ । सायद नियमविपरीत भर्ना लिँदै थिए । तर, सिट फुत्केला कि भन्ने डरमा दौडिनुभो बुवा, कलेजतिर । यो त्यही कलेज थियो, जो घरबाट नजिक भएकाले हाम्रो प्राथमिकतामा थियो । त्यसैले फुत्किएला कि भन्ने डर थियो ।

फर्किंदा बुवा केवल उदास मन र हातमा पर्चा लिएर आउनुभयो ।

‘भर्ना खोलिसकेछन्, आदेश नआए नि । तर, भर्ना गर्न सकिन्नँ । ४२ लाख एकैपटक तिर्नुपर्ने रे । नत्र सिट फुत्कने ।’

‘फि–लिस्टमा किस्तामा पनि तिर्न मिल्ने लेखेको थियो त ।’

‘खै, अहिले छैन भन्छन् ।’

फेरि उदास मन लिएर लागेँ, फेसबुकतिर । विदेशमा पढिरहेका साथी मलाई फकाउँदै थिए, सस्तो हुन्छ, आइज भन्दै । ‘सिन’ गर्दै छोडिरहेँ… ।

केही दिनपछि भर्ना खुल्यो । पत्रिकामा खबर देख्नासाथ दौडादौड सुरु भो । प्राथमिकतामा दोस्रो राखेको कलेज पुग्यौँ ।

‘माक्र्स कम छ, भर्ना हुँदैन ।’

कम ? युनिभर्सिटीले तोकेको पास मार्कभन्दा त निकै बढी थियो मेरो अंक । जब युनिभर्सिटीले नै भनेको छ, यति अंक ल्याएको विद्यार्थीले मेडिकल पढ्न पाउनेछ, तब कसरी असक्षम भएँ म ?

दौडिने उत्साह थिएन । तर, टाढा जानु थियो, अर्को कलेजमा । त्यहाँँ पुग्दा थाहा भयो, होस्टेल बस्नु अनिवार्य रहेछ । मैले लामो समयका लागि त्यसअघि घर छोडेको थिइनँ । तर, पढ्नका लागि त्यही अन्तिम विकल्प थियो । त्यसका लागि पनि तयार थिएँ । फेरि होस्टेलको सम्पूर्ण खर्च एकमुष्ठ तिर्नुपर्ने रे ! बैनाका लागि जसोतसो यताउताबाट पैसा जुटाएँ । २० लाख पुग्थ्यो होला, तर पहिलो किस्ता नै २२ भन्दा कम थिएन ।
समय बित्दै थियो । घरनजिक पर्ने कलेजले कतै किस्ताको सिस्टम राख्यो कि ? यही आशमा गयौँ त्यहाँँ, सीधै कुनै ठूलो मान्छे कहाँँ पठाइयो ।

‘हेर्नुस्, हाम्रो सिट त सबै प्याक भइसके । अब त्यही विदेशीलाई दिने सिट बाँकी छ, ५०–६० लाखको । भ्यालीकै हुनुहुँदो रैछ, एउटा घडेरी सुटुक्क बेचेर किने भैहाल्यो नि त्यति त ।’

मेडिकलको सिट बेच्दै थियो ऊ, सर्टेजमा ग्यास महँगोमा बेचेझैँ । कति सजिलै भन्यो उसले । मानौँ उपत्यकामा हरेक मान्छे जन्मँदा हातमा लालपुर्जा लिएर जन्मिन्छन् । चुप बसिरहनु सम्भव थियो, बोल्नुको के अर्थ ? बाहिर निस्कियौँ । जाँदाजाँदै रिसेप्सनअघि बोर्डमा देखेँ भर्ना भएका विद्यार्थीको लिस्ट । यसो हेरेँ, टन्नै सिट खाली रहेछन् । त्यही तस्बिर आँखामा लिएर निस्किएँ ।

उपत्यकामा पढ्नु अब सम्भव देखिएन । मुटु दरो बनाउनुपर्ने थियो । हो, मैले उपत्यका छाड्नैपर्ने थियो ।

फि–लिस्टबाट कलेजको वेबसाइट हेर्दै तीनका काठ्मान्डु अफिसका ठेगाना बटुल्यौँ । चहा¥यौँ— पुतलीसडक, बागबजार क्षेत्रका अग्ला घरका तला–तला । हरेक कलेजको अफिस पुग्यौँ । कतै ‘एन्नुअल फी’को नाममा १० लाख थपिने, कतै के, कतै के । हेर्दाहेर्दै पहिलो किस्ता नै २५–३० लाख पुग्ने देखियो, हरेक कलेजमा ।
अन्तिम कलेज बाँकी थियो, गयौँ झिनो आश लिएर ।

‘हामीले बढी पैसा लियौँ रे ? कुन कलेजले सस्तोमा बेच्छ र सिट ? पैसा तिर्न नसक्ने मान्छे के छोरालाई मेडिकल पढाउने आँट्नुभएको ? यति पैसा तिर्न नि कन्जुसी गर्ने भए त छोरा डक्टर बन्दैन कहिल्यै ।’
असैह्य भयो, बुवालाई तानेर बाहिर निस्केँ म । ढोकाबाहिर पुग्न नपाउँदै एक हुल आएर गेटमा ताल्चा मार्ने तयारी गरे ।

‘ए–ए, के गरेको यो ?’ आत्तिदैँ निस्कियो त्यो मान्छे ।

‘आदेश आ‘छ पार्टीबाट, सब मेडिकल कलेजमा ताला लगाउने ।’

साँच्चै यति रिस रहेछ मभित्र कि मनमनै सबलाई खुच्चिङ भन्दै थिएँ ।

‘हो, ठीक गर्नु भो, यस्तै गर्नुपर्छ यी सब चोरहरूलाई,’ बुवाको कुण्ठा अचानक व्यक्त भयो । ती बन्दकर्ताले हाम्रो मर्म बुझ्दैनथे । तर, समर्थन पाएर दंग परे ।

घर दिन प्रतिदिन कसैको शोकमा डुबेझैँ शून्य हुँदै थियो । भो पढ्दिनँ, भनुँ भने उही कथा दोहोरिन्थ्यो । नयाँँ दुई कलेज पनि नाम नचलेकै होस्, पूर्वाधार नहोस् । तर, टन्न पैसा माग्न भने नलजाउने । त्यो बजारमा जति नयाँ कलेज आए, उति नै बढ्थे मलजस्ता भवन, व्यापारी र व्यापार ।

हातको फी लिस्ट हेरेँ । कलेजको वेब एड्रेसबाहेक केही साँचो लागेन, च्यातिदिएँ । बढेँ डस्टबिनतिर । आमाले ल्याएका पर्चा मैले त्यहीँ फ्याँकेको रहेछु । टिपेँ, कच्याककुचुक पारिएका पर्चा सुमसुम्याउँदै खोलेँ ।
‘स्टडी अब्रोड ।’

बुवाआमालाई लुकेर हेरेँ, मुहारमा देखेँ त केवल छोरालाई आश देखाएर पनि मेडिकल पढाउन नसकेको ग्लानि । एकातिर मेरो अठोट थियो, अर्कोतिर हामी सबैको सपना… ।

फेसबुकमा त्यो साथीको म्यासेज खोजेँ ।

० तँ कुन कलेजमा रे ?
– किन र ?
० ह्या, खुरुक्क भन् न, फस्र्ट इन्स्टलमेन्ट कति हो ?
– १५ लाख ।

म पनि कहाँ फ्लासब्याकमा हराउँदै छु । देशको माया नगर्ने, विदेश मोहमा पलायन हुने युवा भन्दै होलान् देशमा कतिले । भो कसैलाई दोष दिन्नँ । यही सोचेर चित्त बुझाउँला, आफ्नो देशमा बसेर आफ्नो मनले चिताएको विषय पढ्ने सपना निकै महँगो पर्ने रैछ, मैले किन्नै सकिनँ ।


Comments

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

Minimising the Fear of Oblivion

There was a time when I had these huge dreams. I wanted to accomplish everything at an young age, I was scared if my dreams would die like that of my parents. I would even think of never getting married because the way I saw, it trapped you. I would write songs and think of having them recorded and even plan a whole music video, imagine it playing on the radios. However I didn't have that kind of money. I wrote novels and imagined getting them published and sold, getting prizes for those. I laugh when I remember I actually even met a lot of publishers by searching the addresses and going there alone, when I was just 18 or less. The thing was, I was so stupidly determined I would do something big, become someone famous at an early age. We've all read biographies where people started at an young age, nobody believed them and they ended up big right? I was determined, that it was my fate to become a famous person like that. But more than that, I was scared, what if I die without ...