मैले एउटा डिभाइडर देखेँ
पहेँलो डिभाइडर,
सुनौलो थियो क्यारे
खासै त याद भएन
तर आज मैले एउटा डिभाइडर देखेँ
कहिल्यै नओइलाउने मखमली र
रङ्गबिरङ्गी गोदावरीको मालाले ठाँटिएको
त्यो डिभाइडर
निधारमा सप्तरङ्गी टिका त थिएन
न त कसैलाई सगुन दियो त्यसले
तर बहिनीको मायाको ख्याल नगरी
त्यो मायाको मालाको मजाक बनाइ
डिभाइडरलाई लगाइदिँदै हिँडने
कैयौँ मध्य कुनै एकको कारण
त्यो डिभाइडरले आज भाइटिका मनायो
ति कैयौँ मध्य कुनै एकको दिदीको
त्यो डिभाइडरले भाइ बन्न पायो
आज त्यो
डिभाइडरले भाइटिका मनायो
पाए त म पनि
त्यो डिभाइडरलाई भाइ बनाइदिन्थेँ
सगुनको लोभ छैन मलाई
तर त्यसलाई दिदीको स्नेहले भिजाइदिन्थेँ
तर म त त्यसको दिदी बन्न सक्दिनँ
मेरो भाइ अहिले सानै छ
दिदीले लगाइदिएको माला साह«ै राम्रो लाग्छ उसलाई
खोई ?
कुनै दिन ठूलो त होला नि
त्यो मालाले घोच्ला नि
अनि उ पनि डिभाइडरलाई माला समर्पित गर्दै
मखमलीको दाम्लोबाट मुक्त हुन खोज्ला
त्यो दिन
मैले पनि एउटा डिभाइडर भाइ पाउनेछु
जसले बदलामा सेल–रोटी खोज्दैन
जसलाई मालाले कहिले घोच्दैन
डिभाइडरलाई माला लाइदिन त पाइन्छ
तर निधार खाली भएका ती भाइ
जसलाई मखमलीको मालाले नघोचेको धेरै भयो
त्यो स्नेहको मिठो स्पर्श पर्खिरहेका होलान्
अफशोश
डिभाइडरका हात छैनन्
टिका लगाइदिन,
माला लगाइदिन
तर एउटा कुरा चाहिँ मान्नै पर्छ
डिभाइडर नै सर्वश्रेष्ठ भाइ हो
डिभाइडर नै सर्वश्रेष्ठ दाइ हो
उ मर्दैन
उ भाग्दैन
व्यस्तताले नाता तोडि अन्तै कतै लाग्दैन
उ रहिरहन्छ
बरु उसको भाग्यमै रहेछ भने
सडक वभिागको आदेशले
उ हटाइएला
नत्र त
हरेक वर्ष
न त कुनै दाइको निधार खाली रहनेछ
न त कुनै डिभाइडरको
कुनै दिन मेरो भाइले नि बिर्सिएला मलाइ
ठूलो त होला नि कुनै दिन
भाइटिका तिथि मात्र हुने होला उसलाई
तास खेल्ने जमघट मात्र हुने होला उसलाई
कुनै दिन
उ धेरै ठूलो होला नि
नाता सबै तोडेर जाला
मलाई नै दुश्मन ठान्ला
अनि बाटोमा फ्याँक्ला
मैले लगाइदिएको माला
तर म त्यो दिन उसलाई एउटा अन्तिम अर्ति दिनेछु
“सुन, त्यो माला बाटोमा नफ्याँकेस्
कुनै डिभाइडरलाई लगाइदिनु
म गर्वसाथ भन्नेछु
मेरो हातबाट मेरो प्यारो भाइ
डिभाइडरले भाइटिका मनायो”
ह्रदय स्पर्शी ;) (y)
ReplyDelete