हे जानकी !
तिमी र म एउटै जात
एउटै धर्म
एउटै रगत
एउटै माटो
तिमी र म कहाँ फरक छौँ र ?
तिमीले दुःख नपाएको होइन
मैले पनि सुख पाएको होइन
नेपालकी चेलीको
कर्मै यही रहेछ
तिमीले रामायण जहाँ छाडेकी थियौ
मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ
आउ न
आफ्नै आँखाले हेर
मेरो जन्म तिम्रो जस्तै छ
मेरी आमाले पनि मलाई
समाजको डरले
धरतीले तिमीलाई लत्याएजस्तै
एउटा फोहोरको डिब्बामा मिल्क्याइन्
तिमी भने राजपुत्री भयौ
म भने एउटा गरिब घरकी चेली भएँ
तिमी स्वयंवरमा सजाइयौ
म ठालूका आँखामा सजाइएँ
तिमीलाई बहादुरीले जितेर लग्यो
मलाई पैसाले जितेर लगे
हे जानकी !
तिमी कि जनकपुत्री जानकी बन्यौ
कि रामप्रिया सिता
मेरो नागरिकता पनि
पिता र पतिमा अडेको छ
आउ न
आफ्नै आँखाले हेर
सुखशयलको जीबन छाडी
पतिसँगै वनवास लाग्यौ
इच्छाआकांक्षा मार्ने तिम्रो बानीले
मलाइ पनि कहाँ छाडेको छ र ?
तर यो त तिम्रो बानी होइन
बाध्यता रहेछ
माइतमा पिताको आज्ञाा
र घरमा पतिको आदेश
मेरो पनि सास
यति मै खुम्चिएको छ
तिमी वनवास लगिएझैँ
म पनि
सिमानापारि
कुनै कोठीको वासमा बेचिन्छु
आउ न
आफ्नै आँखाले हेर
सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो
हे जानकी !
म पनि कहाँ बचेकी छु र ?
एकान्तमा मलाइ पनि
कुनै रावणले हरण गर्दा
रामको साथ नभएको बात लाग्छ
यौवन र सौन्दर्य डाम्ने
रावणका २० आँखाले
कति बलात्कारी जन्माएको छ
तिमीलाई
न जटायुले बचाउन सक्यो
न लक्ष्मणरेखाले रोक्न सक्यो
म त लक्ष्मणरेखा भित्र पनि
असुरक्षित छु
आउ न
आफ्नै आँखाले हेर
तिम्रो लागि वानर लडेझैँ
मेरा पनि आफन्त लड्छन्
तर जित जसको भएपनि
हार मेरै हुन्छ
हे जानकी !
रावणले छुन नसके पनि
तिमी अग्निपरीक्षमा होमिएकी नै थियौ
म पनि त प्रश्नै प्रश्नले डामिएकी छु
अग्निपरीक्षमा उतीर्ण भएपनि
लखेटियौ तिमी
म पनि त
बहिष्कृत छु
अरु कसैको गल्ती थियो
तर म तिरस्कृत छु
म घृणित छु
आउ न
आफ्नै आँखाले हेर
तिमीले लवकुश गुमाए जस्तै
मलाई मेरै सन्तानले
वृद्धाश्रममा पुर्याउँछन्
मेरो गर्भबाट
लाखौँ चेली तुहाउँछन्
आउ न
आफ्नै आँखाले हेर
तिमी रामलाई उभ्याउ अग्निको सामु
नजाओस् उ पनि बचेर
वानर नकुरी ढाल रावणलाई
समाजको प्रक्रियालाई फेर
सक्छौ भने रामायणका पानामा
नयाँ अध्याय यो केर
भनिदेउ यो समाजलाई, निसास्सिने गरी
मर्यादाको काडेँतारले नघेर
तर तिमी त चुप थियौ
त्यसैले त
हे जानकी !
तिमीलाई समाजले जमीनमा
भासिन बाध्य गराएझैँ
म पनि
जिउदैँ गाडिदैँछु
आफैँमा भासिदैँछु
आउ न
आफ्नै आँखाले हेर
शिष्ट शैली ,
ReplyDeleteमन छुने कबिता सारै राम्रो लाग्यो पड्दा ।
Amazing.......
ReplyDelete