Skip to main content

नयाँ झुल


“हेर बुढी, ठाउँठाउँमा च्यात्तिसक्यो झुल पनि, नसकिने भो अब !”
“अनि कसले त्यै चलाउन भन्यो त हजुरलाई ? अर्को झुल हुँदाहुदै किन लामखुट्टेलाई निम्तो दिईराको होला ?”
“कुन झुल ?”
“त्यै क्या, नानीले ल्याको नयाँ झुल !”

किताबका पानामा हराउँदा हदाउँदै पनि अचानक त्यो नयाँ झुलको चर्चाले केही पुराना कुरा सम्झाइदिए । दराजबाट आमाले त्यो झुल  झिक्दै ओछ्यानमा फिजाएझैँ गुम्सिएका याद मेरो स्मृतिमा फिँजिए ।

– – – – – – – – –
“कति फोका उठेको मुखभरि ?”
“राम्र्रै हो नि काली, धेरै ह्यान्ड्सम भयो भने अरुले हेर्थे, अब हेर्दैनन्, तँलाइ फाइदा !”
“नचाहिने कुरा नगर न ! के भा’कोे ?”
“किसको दाग हो काली, लामखुट्टेको । तैँले माया गर्दिनस् अनि त्यै लामखुट्टे त हुन्छ नि रातभर ।”
“कतिपटक भनिसकेँ एउटा झुल किन भनेर ! मेरो कुरा त माने पो है ?”

अलि बेर छेउमा बस्दा पनि मेरा हातमा सलबलाउन खोजेका उसका हात फेरि उसकै पुरानो जिद्दीका बाटोमा हिंडेका चाल पाइहालेँ । अनि फुत्किएर गएँ ग्याँस चुल्होतिर । जारको पिंधबाट जसोतसो जगमा हाल्दा पनि पुग्ने देखिनँ त्यो पानी मैले खाना पकाउन ।

“पानी सक्केछ त ! ल्याउनुपर्दैन ?”
“पैसा हुनुपर्यो नि ! मम्मीसँग कति मागँु ? साथीभाइसँग लियो, चलायो, सकेपछि फोन काट्दै बस्यो । पैसा नभएर पानी किन्न पा’छैन, तँ झुलको कुरा गर्छेस् !”

पर्समा पाँच र दसका नोट र केही सिक्का बिच एउटा पचासको नोट झुल्कियो, पुसमाघको जाडोमा घाम झुल्किएझैँ । कफ सिरप किन्न आमाले जिम्मा दिएको पैसा । उधारो यति थियो त्यो टोलमा उसको कि नोट नदेखेसम्म साहुनीले जेपनि ‘छैन’ भनिदिन्थिन् । एकातिर आमाको रोग थियो, अर्कोतिर ब्वाइफ्रेण्डको भोक । अहिले सम्झिँदा रिस जाग्छ, मैले ब्वाइफ्रेण्डलाई छानेँ ।

केही बेरको पर्खाइपछि ढोकामो आवाज सुनियो । त्यही जीवनसँग अभ्यस्त भइसकेकी म ढोकापछाडि उभिएँ, या भनूँ, लुकेँ सोही कुनामा लुकाइएका मेरा जुत्तासँगै ! ढोका आधी पनि नखोली चियाउँदै कुरा गर्न थाल्यो उ । पानीको जार आइपुगेको रहेछ । पैसा हातमा थमाएर लखेटेर ढोका लगाएपछि युद्ध मैदान शान्त भएर कतै डराएर लुकेको अबोध बालक निस्किएझैँ चुपचाप निस्किएँ म त्यो कुनाबाट ।

खै, सायद ‘लिभिङ्ग टुगेदर’ भन्न सकिन्थ्यो तर बेग्लै थियो त्यो सम्बन्ध । कलेज सकाएर पुग्थें म उसको कोठामा । पहिले पहिले डर लाग्थ्यो तर पछि बानी नै बन्यो घरबेटीको आँखा छल्दै कोठासम्म पुग्नु । दिन त्यहीँ बित्थ्योे । पढाइ छोडेर घर बसेको अल्लारे प्रेमीको त्यो कोठाको गृहस्थी धान्ने अनुभव कमाएँ मैले टिनएज पनि नकट्दा ।

आफ्ना अभिभावकको समेत अधीनमा बाँच्न नसक्ने म माथि के टुनामुना गरिदिएको थियो कुन्नि उसले । कहिलेकाहीँ पछुताउँथेँ पनि आफ्नो स्वतन्त्रताको शोकमा । घरमा आफ्नो काम समेत नगर्ने म त्यहाँ उसको जूठो भाँडा माझ्न पनि हिच्किचाउन छोडिसकिछु । म उसकी गर्लप्रेन्ड हुँ भने यत्तिका महिनामा उसले कसैलाइ चिनाएन, म ढोका पछाडिबाट उसका वार्तालाप सुनिरहँदा । तर मेरो फेसबुक उसैले चलाउँथ्यो । केटा मान्छेसँग ‘हाइ, हेलो’ गर्नु कस्तो हुन्छ, महिनौँ अघि बिर्सिसकेछु । मेरो जीवन उसैमा केन्दित भएछ थाहै नपाइ । अनौठो थियो त्यो नाता, कसैको रिस ममाथि पिटिदिन्थ्यो, रातभर रक्सीको मातमा फोनमा मुख छाडिरहन्थ्यो मलाई । प्रेमले किन त्यति अन्धो बनायो मलाई ?ससाना कुरामा झर्किने म त्यहाँ कसरी त्यति कमजोर बनेँ ? आफैँमाथि दया लाग्थ्यो ।

उसको एक गुनासो थियो, मैले उसलाई आफुलाई छुन सम्म दिइन । एकै कोठामा भएर पनि कहिले उसले जबरजस्ती नगरेकोमा गर्व गर्थेँ कि सधैँ त्यही कुरा मागिरहने उसको बानीले दिक्क मान्थेँ, तर यसैगरी चल्थ्यो जीवन ।

ऐनामा आफ्ना मुखभरि डेरा जमाएका फोका हेर्दै मुख बँग्याउँदै थियो उ । मैले त्यही क्षण निर्णय लिएँ । उसलाई सप्राइज गिफ्ट दिनेछु, नयाँ झुल  ।

– – – – – –
सन्जयको फोनसम्म पुग्दै बेवारिसे भएर फर्किए मैले गरेका ‘कल’ का घण्टी । नुहाउन जाँदा त साथै लग्थ्यो फोन गीत सुन्न, सायद चार्जमा छाडेर हिँड्यो होला कतै । तर साथी आएको बेला साइलेन्टमा राख्छ उसले फोन । जाउँ कि नजाउँ भन्ने असमन्जसमै घरबेटीको आँखा छलेर ठूलो गेट खोले । हातमा झून्डिएको प्लाष्टिकको झोला गेटको ह्यान्डलमा अल्झियो, बिस्तारै निकालेँ । प्वालैप्वालले बन्ने भूmलमा पनि प्वाल पर्ला कि भनेर डराउनुपर्ने रैछ । ३५० बढी भयो या कम, थाहा छैन, तर मेरो लागि त्यो अनमोल थियो । केही हप्ता खाजा नखाइ जम्मा गरेको पैसाले किनेको थिएँ मैले। एउटा प्लान थियो, झोला लुकाउँदै पस्ने, अनि उसलाई पसल पठाएर उ फर्केर आउन्जेल झूलका चारै कुना ठिक ठाउँमा बाँधेर उसलाई सप्राइज दिने ।

सोचेँ, उसले झोला देखे सप्राइज त सप्राइज नै रहँदैन । सिँढीमुनि झोला राखेर बढेँ म उसको कोठातिर । भित्रबाट बन्द रहेछ सधैँ खुला रहने ढोका । सायद म आउने खबर नपाएर होला । यताउता हेरेँ कसैले देख्छ कि भनेर, अनि ढक्ढकाएँ । आधी ढोका खुल्यो र उ चिहायो । मलाई देख्दा उ यति तर्सियो मानौँ  झुल दिएर सप्राइज दिनुपर्ने जरुरत नै रहेन । हत्तपत्त बाहिर आएर ढोका लगाएर आफ्नो हाफ पाइन्ट र पसिनाले भिजेको नाङ्गो छाती लिएर उभियो उ मेरो सामु ।

“तँ किन आ’की ?”
रिस त सधैँ देख्थेँ उसको, त्यो दिन भने उसको आवाजमा डर पनि सुनेँ मैले ।

झस्किएँ म । ढोका आधी खोल्नु, हत्तपत्त बाहिर निस्किएर चुकुल लगाउनु, त्यो सब त तब मात्र हुन्थ्यो जब उसको ढोका पछाडि हुन्थेँ म । तब के आज अरु कोही . . .?

उसको हात छुटाएर ढोका खोलेर भित्र पुगेँ, नजर सिधै ढोका पछाडि । खाली थियो त्यो ठाउँ । तर जब आँखा तल डुले, फेरि झस्किएँ । मेरो ठाउँ त कसैले लिएको थिएन, तर मेरा स्पोर्टस्सुजको ठाउँ एक जोर हाइ हिल जुत्ताले लिइसकेका थिए ।

जब आँखा घुमाएँ, तब न सन्जयको उपस्थिति याद भयो, न त त्यो अँध्यारो कोठा । मैले देखेँ त केवल त्यो शरीर, जो निर्लज्ज भए पनि लाज ढाक्ने असफल प्रयत्नमा सेतो सिरक बेरेर सन्जयको खाटमा थियो । ती टोलाइरहेका आँखा पनि मजस्तै अलमलिएका थिए, फरक यती कि म नाङ्गिएकी थिइनँ ।

“के भयो सन्जय, को हो ?” अचम्ममै उसले प्रश्न गरी ।

त्यो प्रश्न नसुनेर वा जरुरी नसम्झेर सन्जय म तिर बढ्यो,सम्झाउन खोज्दै । तर सम्झाउन बाँकी के थियो र ? लाग्दै थियो म कुनै सत्यघटनामा आधारित सिरियल हेर्देछु वा आफँै पात्र छु कुनै चलचित्रको । अब क्यामरा देखिनेछन् र सबैले भन्नेछन् “एमटिभी बकरा !” अहँ, कुनै क्यामेरा देखिएनन् । तर “बकरा” सायद म बनिसकिछु ।

“हु इज सी ?”
“माइ गर्लफ्रेन्ड !”
“अनि म को ?”
“कोही पनि हैन ।”
आफ्नो अस्तित्वको जवाफ यस्तो पाएँ मैले ।

कहाँबाट साहस आयो म भित्र उसलाई थप्पड लगाउने । हात समातेर रोक्दै भन्यो उसले
“यु ह्याभ नो राइट अन मी !”

उसले यति रङ गरेको थियो कि छेवैको किचन टेबलबाट छुरी झिकेर उसलाई हाने पनि सायद त्यो राइट नै हुने थियो ।

अर्को थप्पड लगाएर दौडिँदै बाहिर निस्किएँ म । आँसु बग्ने तरखरमा थिए तर मलाई अरुको अघि रुनु थिएन । खाली बाटोमा पुगेर आँसु बगाएँ तर दुःख बगेन । अब के ?रुन्छु बसमा, घरमा, सिरानी भिजाउँछु ? सायद मेरै दोष थियो कि मैले उसलाई शारिरिक सुख दिइँन भनेर आफैँलाई धिक्कार्छु ? त्यति कमजोर बनिसकेँ म ?
अचानक फर्किएँ म । थाहा थिएन सही या गलत, तर मसँग गलत भएको थियो । प्यासेजमा पुगेँ, ढोका फेरि बन्द भइसकेछ भित्रबाट । अब फरक पर्दैनथ्यो । सुटुक्क चुकुल लगाएँ बाहिरबाट । अनि कहिल्यै नउक्लिएका भ¥याङ्गका ती खुड्किलामा पाइला टेकेँ । माथि पुगेर ढोका ढक्ढक्याएँ र भेटेँ एक जोर अलमलिएका आँखा ।

“को . . . ?”
“आन्टी, तपाइँको तल्लो तल्लाको छेउको कोठामा बस्ने केटाले केटी ल्याउँछ कोठामा, गएर हेर्नु ।”

आन्टीले होश र चप्पल सम्हालुन्जेल म ओर्लिएँ तल । अब के हुन्थ्यो त्यो सँग मलाइ मतलब थिएन । भ¥याङ्गबाट ओर्लिँदा अचानक सम्झिएँ त्यो झुल राखेको झोला । त्यो झुल नभए त्यो दिन न म त्यहाँ पुग्ने थिएँ न केही थाहा पाउने थिएँ । खै किन त्यही एउटा साथीझैँ लाग्यो मलाई । अनि लिएँ त्यसलाई । त्यता आन्टीले चुकुल खोल्नु र कराउनु जस्ता गतिविधि भइरहँदा म धेरै पर पुगिसकेकी थिएँ ।

बसमा काखमा बसेको त्यो झुल हेर्दे सोचें, के गर्नु यसलाई ? आमालाई नकिनिदिएको कफ सिरप सम्झेँ । सायद यो दिएर त्यो पाप कम हुन्थ्यो कि ? त्यो बैगुनी मायालाई जति हेरचाह मैले आफ्ना अभिभावकलाई दिएको भए सायद कदर हुनेथियो । आँसु बगेन खै किन । कति सम्बन्ध झुल जस्ता हुँदा रहेछन्, प्वालैप्वाल भरिएका, जति मिहिनेत गरे पनि टाल्न नसकिने, तिनको अस्तित्व नै त्यही प्वालमा हुँदो रहेछ ।

– – – – – – – – –
“त्यो  झुल ? सस्तो छ । कमसल होला ।”
“भए के त ? आफ्नो छोरीले ल्याएको झुल त च्यात्तिएकै पनि राम्रो हुन्छ ।”

म मुस्काएँ, हातमा नयाँ झुल सुम्सुम्याइरहेकी आमालाई हेरेर ।

Comments

  1. यथार्थ परक, सामाजिक संस्कार लागि ध्यान दिएर सिर्जना गर्नु भएको कथा एकदमै उपयोगी छ। सिर्जना का लागि धन्यवाद।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

The Jack of All Trades

I was told I could be good at anything not warned it meant average at everything People grow up, may be I grew down on every chessboard but as a pawn Being born a cluster of potential meant so much more for me to waste The rising star they all looked up to who fell shooting down in a haste There were so many boats to ride I put my feet in all but heart in none Shuffling again and again to find the same Jack of all trades, master of none. I had this picture perfect idea of me painted gold with every medal I landed every teacher and fortune teller so sure a future set in stone waiting to be handed I was my full-marks and my first prizes my monitor badges and assembly applauses my jumping years and too good for my peers my school songs and their genuine cheers my dance rehearsals, the needles and threads my poems and speeches turning heads my raising hands and stunned teachers my voice familiar with the speakers. Now I am this collage of embarrassments everyday reminded to make amendments...

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...