Skip to main content

बाबालाई लभलेटर

डियर बाबा

स्कुलमा चिठी लेख्नपर्दा आदरणीय बुवा, पुजनीय पिता, सादर नमस्कार्, ढोग , धेरै लेखेँ होला । तर कहिल्यै बुवा, पिता भनेर नबोलाउनेले र नमस्कार सम्म नगर्नेले यो औपचारिकताको ढोंग किन गर्नु ? "मलाई यहाँ सन्चै छ्, हजुरलाई पनि आरामै होला! " अहँ, मलाई आराम छैन्, बाङ्गलादेशको गर्मीले हैरान पारेको छ । अनि हजुरलाई त बिसन्चो भए नि फोनमा ढांटिहल्नुहुन्छ क्यारे । यो सब लेखेर त्यो पेन्सिलले बनाएको टिकेट सहित खाममा हालेर पठाउने कुरा भएन, त्यसैले मैले हजुरलाई चिठीको सट्टा लभलेटर लेखेँ ।

"लभलेटर" : लभ मतलब माया अनि लेटर मतलब चिठी । आफुले माया गर्ने मान्छेलाई मायाको सन्देश
सजाएर पठाइने चिठी । आज कुशे औशीँमा सबै फेसबुकमा "आइ लभ यु बाबा" लेख्दै होलान्, मैले लभलेटर नै
लेखिदिएँ । कतिपटक सुनियो, पढियो, बुझियो होला माया भनेको प्रेमी प्रेमिकाको प्रेमलाई मात्र भनिंदन्,
बुवाआमा, दाजुबहिनी, साथिभाइ, सबैलाई गरिने मायालाई माया नै भनिन्छ भनेर । त्यही मायालाई आज मैले
शब्दमा कोर्दैछु, के म गलत छु ? प्रेमीप्रेमिकालाई खुशी पार्न कताबाट टुटेफुटेका शायरी जम्मा गरेर , पहिलो
भेट देखिको फ्ल्याशब्याक सुनाएर, चिटिक्क पारेर लभलेटर लेख्छन् ।  त्यही सब बाबाको लागी गर्नु गलत
होला र ?

हाम्रो सम्बन्धको पहिलो भेटसम्म उग्न साह्रै गाह्रो भो मलाई, जती गरे पनि पुग्न सकिंन । हजुरलाई त याद होला हस्पिटलमा हाम्रो पहिलो भेट । जब म सानी थिएँ, अहिलेभन्दा धेरै सानी अनि अहिलेभन्दा धेरै ज्ञानी पनि । तिखो स्वरमा रोएर बाहेक त्योबेला अहिले जस्तो अरु कुनै दुख दिन्नथेँ होला । हजुरले पहिलोपटक मलाई देख्दा म कि म निद्रामा थिएं होला, कि को जुंगे मान्छे आयो भनेर सोच्दैथिएँ होला । त्योबेला दर्शन, नमस्ते, हाइ हेल्लो केहि गरिंन होला, त्यसको लागी अहिले सरी भनेँ है बाबा ?

हजुरलाई बाबा भनेर बोलाउन पनि कती समय कुराएं होला मैले । अहिले पो जब आवश्यकता हुन्छ तब छिनछिनमा बाबा! बाबा! भनेर कराइराख्छु त । त्योबेला कुनै स्वार्थ थिएन त्यसैले बोलाउन समय लगाएँ होला । दुख त मैले धेरै नै दिएकी छु सानैदेखी । नुहाउने बेला रोएर टोल थर्काउने म्, थरिथरिको बदमासी गर्ने म अनि अरुको अपजस सुन्नुपर्ने हजुरले ।  वर्षौंसम्म हजुरले नख्वाइदिए आफ्नो हातले खाना नखाने, जुत्ताको तुना बांध्नसम्म हजुरलाई बोलाईराख्ने । मेरो स्कुलको ब्याग मिलाईदिने देखी मेरो हातले नभ्याउने शर्टको बाहुलाको टांक लगाइदिने, सबथोक हजुरलाई नै गर्न लगाउंथें । दिक्क लाग्थेन र हजुरलाई बाबा ?

नातागोताकाले सुनाउँछन् कती किचकिचे, चकचके थिएँ सानोमा भनेर । मलाई त त्यस्ता किचकिचे बच्चा देख्दा खेतमा लगेर हुर्याइदिउँझैँ हुन्छ, हजुरले कसरी झेल्नुभयो ? नहुर्याइदिनुभएकोमा धन्यवाद है बाबा :)

हुन त उमेर बढ्दै जांदा पनि कहाँँ सप्रीएँ र म ? अझ जिद्दी अझ अटेरि! यो भएन , त्यो भएन यो किन्दिनु, त्यो किन्दिनु! अहिले पसलमा जांदा कुनै सामानको प्राइस ट्याग देख्दा त मेरै सातो जान्छ, हजुरले कसरी मेरो जिद्दी पुरा गरिदिनुहुन्थ्यो बाबा ? हरेक वर्ष स्कुलबाट ल्याउने ति कथालेखन्, कवितालेखनका पुरस्कार र ढंगको रिजल्ट बाहेक गर्व गर्ने कमै मौका दिएं होला हजुरलाई । तर पनि राम्रो कुरा जती सबै मलाई नै चाहिन्थ्यो, माग जती सबै मेरै हुन्थे । हजुरको खल्तीमा कती पैसा छ र त्यसले के कती गर्न पुग्छ भन्ने बुझ्न मैले वर्षौँ लगाएं । यसको लागी पनि सरी है बाबा ।

आजकल अलि बुझ्ने भएकी छु भनेर के ढांट्नु, अस्ती अस्ती सम्म पनि कुन सानो कुरामा निहुँ खोज्दैथिएँ क्यारे । नेपाल हुंदा त्यहिँ छेउमा हुँदा पनि म मोबाइलमा झुन्डिन्थें अनि हजुर पत्रीका पल्टाउंदै बस्नुहुन्थ्यो चस्मा मिलाउंदै । अहिले भने इन्टरनेट र फोनको बिल बढाउंदै बोल्छौं । दुरि, अभाव नहुन्जेल मायाको त कदर नै नहुने रहेछ । आज पनि मुख हेर्न बिहान स्काइपले जुरायो, तर उता माइक बिग्रिएकोले मुख मात्रै हेर्न पाइयो । मुख हेर्न, कुरा गर्न, उपहार दिन यस्ता दिन नै कुर्नुपर्ने गरी स्वार्थी किन बनायो समयले मलाई ?

सबैले भन्छन् मेरो आंखा हजुरको जस्तो छ, नाक हजुरको जस्तो छ, निधार हजुरको जस्तो छ, गाला हजुरको जस्तो छ! तर मलाई ऐनासम्म पनि हेर्नुपर्दैन यो भन्न कि म हजुरजस्तै छु । इख लिने, मनमा आएको कुरा
प्याच्चै बोलिदिने, अरुको अगाडी राम्रो बनेर ढोंग गरिरहन नसक्ने, यो सब कुरा काटीकुटी छ ममा पनि । अनि
जोसंग पनि छिट्टै घुल्नेमिल्ने, धेरै मान्छे चिन्ने, काम गर्दा कि गित सुन्नुपर्ने कि गुनगुनाउनुपर्ने, यो सब पनि
उस्तै ।   हजुरको डायरीका पानामा कैद लेख पढ्दा मेरो पनि सपना त्यस्सै रहला कि भन्ने डर लाग्छ, त्यसैले
लेख्न,  छपाउन यती हत्तार गर्छु म । हजुरले आफ्नो समयमा यो गरेँ त्यो गरेँ भनेर सुनाउंदा मैले किन गर्न
नपाउनु भनेर डाहा गर्छु म । कतिपटक आफ्नो मनमा जे आयो त्यही गर्ने रहर हुन्छ, तयार पनि हुन्छु तर हजुरले रोक्नुभयो भने रिसाएरै भए पनि रोकिन्छु । अरुले के सोच्छन् भन्ने कुराको म मतलब गर्दिंन तर पनि मेरो कुनै कदमले हजुरहरुलाई के सुन्नुपर्ला भन्ने सोचेर रोकिन्छु । यो सबै कुरा हरेक पटक सुनाउन सक्थें भने कती गर्व हुन्थ्यो होला है हजुरलाई ?

जन्मिएको कती महिनासम्म म बोलिंन , रोइ मात्र रहें । अनि जब बोल्न सुरु गरें त्यसपछी त रुवाउने काम टन्नै गरें होला । झगडा कसको घरमा नपर्ला र ? हाम्रो पनि हुन्थ्यो! म उमेरले सानो, रिस देखाउन नसक्ने, रोइदिन्थें । हजुर रुन नमिल्ने, रिसाउनुहुन्थ्यो । तर रातभर जेसुकै भए पनि भोली बिहान जुत्ताको फित्ता बाने बेला कसरी सबै जस्ताको त्यस्तै हुन्थ्यो बाबा ?

फेसबुकमा अरु सबैले बुवाको फोटो राखेको देखेर आफ्नो पालो किन आएन भनेर कुर्दै त हुनुहुंदैन नि हजुर ? म
त घर हुँदा राती कोठाभरी डोर टांगेर सानोदेखिका फोटो खोजेर झुन्डाइदिन्थें ।  फोटो कोलाज त त्योबेला नै
बनाइसकेँ मैले । आज लेख्दैछु हजुरलाई । सोचेकी थिएँ आफ्नो माया देखाउने छु यसमा, तर यसो पढ्छु, सरी
 थ्यांक्यु बाहेक केहि देख्दिंन म त । सायद यिनै त्याग, यही गल्ती गर्ने अनि झेल्ने बानीमा होला
हाम्रो माया । सायद शब्दमा भन्दा बढी व्यवहारमा देखिने माया भएर होला चिठीमा बुझाउन यती गाह्रो
भएको । जस्तो चिठी लेख्छु भनेर सुरु गरेकी थिएं त्यस्तो लेख्नै सकिंन्, यो भुल अरु सबै भुल माफ
गरेजस्तै गरिदिनु है बाबा ?

मलाई थाहा छ ढाकाको पसलबाट ल्याइदिएको कुनै सर्ट टिसर्ट भन्दा ढाका युनिभर्सिटीबाट कुनदिन ल्याउने सर्टिफिकेटले धेरै खुशी दिनेच हजुरलाई । त्यसैले अहिले म फेरी त्यसैको तयारीमा लागेँ । आशा गर्छु ममा यसरि मनको कुरा गर्ने हिम्मत कुशे औंशी बाहेक अरु दिनमा पनि आओस्, अनि अर्कोपटक यस्तो केहि लेखेँ भने माफी माग्नुपर्ने कुराको लिस्ट योभन्दा धेरै सानो होस् । यो चिठी त्यती राम्रो त नहोला तर यो पढेर हजुरको आँखा रसाएको भए फेरी एकपटक रुवाएकोमा माफी चाहन्छु है बाबा । अलि अलि बुझ्ने हुंदैछु, सायद अब दुख कम सुख धेरै दिने दिन आउँछन् कि ?

                                                                                                                            उही हजुरकी (प्यारी) छोरी
                                                                                                                                                     

Comments

  1. मलाई थाहा छ ढाकाको पसलबाट ल्याइदिएको कुनै सर्ट टिसर्ट भन्दा ढाका युनिभर्सिटीबाट कुनदिन ल्याउने सर्टिफिकेटले धेरै खुशी दिनेच हजुरलाई । (गज्जप छ )

    ReplyDelete
  2. अलि अलि बुझ्ने हुंदैछु, सायद अब दुख कम सुख धेरै दिने दिन आउँछन् कि ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

Minimising the Fear of Oblivion

There was a time when I had these huge dreams. I wanted to accomplish everything at an young age, I was scared if my dreams would die like that of my parents. I would even think of never getting married because the way I saw, it trapped you. I would write songs and think of having them recorded and even plan a whole music video, imagine it playing on the radios. However I didn't have that kind of money. I wrote novels and imagined getting them published and sold, getting prizes for those. I laugh when I remember I actually even met a lot of publishers by searching the addresses and going there alone, when I was just 18 or less. The thing was, I was so stupidly determined I would do something big, become someone famous at an early age. We've all read biographies where people started at an young age, nobody believed them and they ended up big right? I was determined, that it was my fate to become a famous person like that. But more than that, I was scared, what if I die without ...