मेटिन्छ्न् के भावना कहिल्यै? यादहरु त लुक्ने रहेछन् कुनै कुनामा
अनि के भावना नअल्झिएका होलान् र तिनमा कतै?हुँदैनथे त डुलिरहन्थे नै किन
यादबिनाका भावना
भावनाबिनाका सम्झना
सम्झना बिनाका कल्पना....
कोल्टे फेर्दै छटपटाउने त होइन
न छाहारीमा शितल हावासँगै टोलाउने
र पनि खै
मीठो निद्रामा हुँदा रहेछन् कतै
बिहानीसँगै नझुल्किदिने
दुखका वर्षामा पनि नझस्किने
न हाँसोमा बेरिएर रुवाउने
न आँसुमा डुब्दा काउकुती लगाउने।
आफ्नै दिनचर्यामा अल्झिरहँदा
पार्श्वमा बिलाइरहेको कुनै धुन झैँ
टाढा
सूक्ष्म
पाउमा परेर पनि नबिझ्ने
अचल
अदृश्य
परिधिमै रहेर पनि ढुकढुकी नसुनिने
अनि बगिरहन्छन् दिनहरु
चलिरहन्छन् भित्तामा टाँगिएका अङ्क
अझै टाढा टाढा बढारिदिँदै
कहिलेकाहिँ
चाहेर पनि ठम्याउन नसकिने।
त्यस्तै कुनै एक दिनमा
अरु दिनझैँ न्यानो एक दिनमा
दिनहरुको भिडमा हराउन सक्ने मात्र अर्को एक दिनमा
अर्कै दिशामा
अर्कै गन्तव्यतिर
हिँड्दा हिँड्दै
ब्युँताइदिन्छन्
अनायासै बनेका दुई आकृतिले
केही पहिलोपटक जोडिएका
केही अन्तिमपल्ट छुट्टिएका
जानी-नजानी
हैन, नजानी-नजानी
केही सँगौ चुस्की लगाएका चियाका कपले
केही गन्तव्यबिनै उभिरहने बस स्टपले
केही लुकिरहेका अङ्कमालले
अनि आफैँसँग लजाइरहेका मुस्कानले
कुनै पलसँग जोडिएर कहिले छुट्टाउन नसकेका संगीतले
ख्यालै नगरी बनिसकेका केही प्रतिकले
केही दिनचर्या थाहा हुँदहुँदै पनि साटिएका डायरीले
केही महँगा पुस्तकमा कोरिएका एक-अर्काका शायरीले
यादको यातायातमा बसाइ छाडिदिन्छन्
उहीँ पुरानो बिसौनीमा
जहाँ पहिलो स्पर्शमा पग्लिएका थिए औँलाहरु
जहाँ एकै धुन दुइ बेग्लै कानमा पुग्थे
जहाँ कैयौँ थोपा आँसु बग्नेगर्थे
र पनि ओठलाई स्वाद याद रहेछ त केवल खुशीको।
याद
यस्तै न हुन्
आफ्नै मर्जीका मालिक
कहिले सम्झाइरहन्छन् केवल चोटका रङ्ग
मनले रोकिने बहाना खोज्दा खोज्दै पनि
अनि कहिले
हाँसिला मुहारका चित्र देखाइ जान्छन्
आँखामा अनौठो हर्ष छरिदिँदै
जसो ती कहिल्यै रोएकै थिएनन्!
नबोलाइकनै
नखिजिकनै आइदिन्छन्
सानो एउटा असान्दर्भिक सन्दर्भमा
जसरी आउँदैनथे अस्ति समिपै हुँदा पनि।
तर
धुन पुराना भइसके
रेडियोमा पनि बज्दैनन् आजकल
बाटो फेरिइसके
पाइलाका डाम बोक्ने फुटपाथमा पिच सडक बनिसके
न राख्नुको कुनै अर्थ छ ती यादलाई अँगालोमा
न छोड्न सकिने सजिलै एकअर्कालाई झैँ
अनि भन्छु
"आउ बस,
केहिछिन रङ्गाइदेउ मेरा मनका कुना
भिजाइदेउ मेरा आँखा अलिअली
जसरी समय बितेकै छैन।
गुनासो नै के छन् र तिमिसँग मेरा?
झुक्याऔँ एकअर्कालाई बस् यो एक पल
अनि फेरि अदृश्य भइ बसिदिनु अघिझैँ।
फर्केर एक फेर हेरि मुस्कुराउँला म
आफ्नै बाटो लाग्नु अघि।
Comments
Post a Comment