Skip to main content

अबोर्सन

          " हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका तँ KMC जा, टिकेट काट् , डक्टरको मा जा, जेसुकै गर्, तर प्रेग्नेन्सी को टेस्ट गराएर आइज । "

         मेरो मन अझै मान्न तयार छैन कि म गर्भवती छु । असारको पहिलो सातामा हामी बहकियौँ । यती अचानक भयो त्यो सब कि न सुरक्षित हुने हेक्का थियो न समय नै । आइपिल किनेर उसले मलाई जब ख्वायो , ढुक्क थियौँ हामी । त्यसबिचको एक महिनामा यती सब भयो कि ती दुइ चक्किमाथी आँखा चिम्लिएर बिश्वास गरेझैँ बिर्सियौँ सब । जब होशमा आएँ, तब याद आयो महिनावारी रोकिएको, अनि झास्किएँ । रोकिएको महिनावारिले हाम्रो रोकिएको बोलचाल भने ब्युँझाइदियो, तर यहाँ खुशी हुने कारण छैन ।

        " तर सबिन, मैले दुइपटक टेस्ट गरिसकेँ किट किनेर, दुबै पटक नेगेटिभ भनिसक्यो,तर पनि तँ किन म प्रेग्नेन्ट छु भनिराख्छस् ? "

         दुइपटक, सायद तीनपटक । पहिलो पटक स्कार्फले मुख छोपेर बसपार्क पुगेकी थिएँ, प्रेग्नेन्सी टेस्ट किट किन्न । जसोतसो हिम्मत जुटाएर, तयार भएर गएकी थिएँ म, झेल्नलाई घृणा भरिएका नजर एक केटीमाथी जो जवानीको जोशमा बहकिएर आएकी थिइ, यो जान्न कि त्यो गल्तिको परिणाम उसले भोग्नु लेखिएको छ या छैन । तर त्यहाँ त यो घटना यती सामान्य भयो, मानौँ म प्रेग्नेन्सी टेस्ट किट नभएर चकलेट किन्न गएकी थिएँ । सायद साहुजिलाई बानी थियो जवानिको जोशमा सुरक्षा जुटाउने र जुटाउन नभ्यायी मुख लुकाएर परिणामको डरले आउने ग्राहकलाई भिटामिन बेचेसरी यि सब बेच्न । साहुजिलाई सोध्ने कुरा भएन कसरी
प्रयोग गर्ने भनि, त्यो प्लास्टिक भित्रै कुनै कागजमा निर्देशण होला भनेर लगेँ घर, तर केहि थिएन । हेयर रिमुभरमा त हुन्थ्यो त, त्यसमा थिएन, सायद आजकलका युवा शरिरको रौँ हटाउन भन्दा प्यास मेट्न र गर्भ हटाउन खप्पिस छन् भन्ने सोचेर होला । बायोलोजी पढेकोले अलिअली त बुझेँ, तर टेस्टमा एक लाईन रातो आउँदा आत्तिएँ । धन्न गुगल थियो, एक लाईन नेगेटिभ, दुइ लाईन पोजिटिभ हुँदो रहेछ । त्यो तीनका लागी होला जसले गर्भ को आश राख्छन्, मेरो लागी त त्यो नेगेटिभ रिजल्ट जती पोजिटिभ यो दुनियाँमा केहि थिएन । 

        दोस्रोपटक, उसैले किनिदिएको थियो, केटाले किन्न जाँदा मुख छोप्नै नपर्ने रहेछ, सायद मेडिकलका साहुजी पनि बिर्सिन्छन् कि कुनै केटा गर्भप्रतिरोधत्मक सामाग्री किन्न जान्छ त कुनै न कुनै केटीकै गर्भ रहन नदिन, तब त्यही केटी जाँदा यती अचम्म किन ? त्यो दिन मैले किनेको तिस रुपैयाँको टेस्ट किट चित्त नबुझेर उसले पचासको किनेर ल्यायो, तर त्यो बिस रुपैयाँ को फरक पनि सायद नभएको गर्भ देखाउन फेल खायो । दुइपटक आफ्ना आँखाअघी त्यस टेस्ट किटमा केवल एक लाईन देखेर मेरो डर अलि कम थियो, सायद अलिकती बिश्वास पनि, कि मेरो भविष्यमा यती सजिलै ग्रहण लाग्न सक्दैन । तर खै, उ मान्न तयार छैन । उसलाई लाग्छ मभित्र गर्भ छ, र यतिबेर महिनावारी नहुनुले मभित्र विश्वास हुँदाहुँदैँ पनि डर जन्माएको छ । आज फेरी टेस्ट गरेँ, सायद नियमित ग्राहक बन्न लागिसकेँ म, र प्रयोग गर्नमा खप्पिस पनि । फेरी नेगेटिभ आयो, र अलिअली आश जागेको छ मभित्र । पचास रुपैयाँँ मा आश बिक्दो रहेछ बजारमा ।

        " भोली हस्पिटल जा, टेस्ट गरा, अनि पैसा जम्मा गर्छु म । हस्पिटलामा त गर्दैन इल्लिगल्, पाटनतिर एउटा ठाउँ छ, पैसा टन्नै लाग्छ तर सेफ र सेक्रेट छ, त्यहिँ हुन्छ कान्छी अब तेरो अबोर्सन ! "
    हाँसखेल मा साथीहरुसँग यो फिल्मी डाइलग कती भनियो होला, "मेँ तुम्हारे बच््चेकी माँ बनने वाली हुँ", तर यसको मर्म त तब बुझेँ जब त्यो दिन अचानक सबिनको नम्बर घुमाउन बाध्य भएँ । सोचेकी थिइँन मैले कि उसलाई फर्किएर पनि हेर्नेछु कहिले, तर सोचेको जस्तो कहाँँ हुन्छ र सधैँ । केहि हप्ता अघी जसको आवाज, स्पष्टिकरण, केहि सुन्न नचाही फोन काटेर नम्बर ब्लक गरेकी थिएँ, उसैलाई फोन गर्नुपर्ने, कतिसम्म बिवश थिएँ म समय को अघी । महिनावारी रोकिएको खबर सुनाएँ पहिले उसलाई, अनि शुरु भयो मेरो अग्निपरिक्षा । भन्छन् नि, ओराली लागेको बाघलाई मृगले पनि खेद्छ , त्यती तल झारेको थियो मलाई बाध्यताले । जसलाई मैले केहि हप्ता अघी अरु कुनै केटीसँग तन साटिरहेको भेटाएकी थिएँ, उहि सोध्दैथियो त्यो दिन मलाई "आर यु स्योर त्यो मेरै हो ?"

                 " हेर्, मन त मलाई नि छ त्यो तेरो टेस्ट किटले नेगेटिभ भनेको पत्याउन, तर तेरो पिरियड्स नि भाको छैन । त्यही पत्याएर बस्दा फेरी पछी प्रेग्नेन्ट भन्ने था भो भने झान् गाह्रो हुन्छ म्यानेज गर्न । सो भोली त जसरि पनि हस्पिटल जानै पर्छ कान्छी तँ ! "

                यो जिन्दगी पनि इमोसनल अत्याचार नै गर्छ, न कहिले उसलाई पुरै मनले माया गर्न दिन्छ, न घृणा । उसले चाहेको भए मलाई एक्लो छोड्न सक्थ्यो यो अप्ठ्यारोमा, तर उ भागेन । कती गाह्रो थियो र भाग्न ? डेरा छोड्यो, नम्बर फेर्यो, अनि फरार, तर उसले झेल्यो । मेरो त्यो फोनकल पछी उसले चिनेजतिका सबलाई सोध्यो होला गर्भ रहेको नरहेको पत्ता लगाउने र छ भने तुहाउने तरिका । म पनि चुपचाप उसलाई उपाय खोज्न दिन्छु । चाहेँ भने त उसलाई हरेक प्रहर फोन घुमाएर रुदैँ अत्ताउन सक्छु, तर म चुप छु, ताकी उसलाई कुनै तनाव नदिउँ । अनि आज उ बिस हजारको खर्च उठाउन पनि तयार छ, उसलाई आदर गर्ने इच्छा जागेको छ मनमा ।

                तर जब उसले मलाई दिएको धोखा सम्झिन्छु तब.....................किन मन कोमल हुन दिँदैछु म ? उसले यो हालतमा मलाई सहायता दिनुमा के अचम्म छ ? मेरो गर्भ रह्यो भने म मात्र होईन, उ पनि त अप्ठेरोमा पर्छ नि । जुन गर्भ म भित्र हुनसक्छ, त्यो छाडेको पनि त उसैले हो । मेरो साथ दिनु उसको कर्तव्य हो, र बाध्यता पनि । केवल यसको आधारमा म फेरी आफुलाई कम्जोर बनाइ उसलाई बिश्वास गर्न सक्दिँन । विश्वास्, यो समस्याको मामिलामा भने मसँग उसलाई विश्वास गर्नुको बिकल्प पनि छैन ।

                " भोली के एम सि जा, अनि चेक-अप गरा है, म गेटबाहिर लगेर छोड्दिन्छु ! "
    
                के एम सि को गेट, जहाँ बाट हिँड्दा पनि मेरो आङ सिरिँग हुन्थ्यो, सोचेर कि म अब यही कलेजमा डाक्टरीको पढाइ गर्नेछु इन्त्रान्स पुरा भएपछी । तर भोलि, भोली म त्यँही जानेछु प्रेग्नेन्सी टेस्ट गराउन । किन त्यही हस्पिटल नजिक हुनुपर्ने सबिनको डेराबाट ? के तीनले सम्झेलान् मेरो मुहार ? तीनकै हस्पिटल मा कसरी पढ्न जाउँला म ? सपनाको महल भत्किँदा आवाज सुनिदैँन भन्थे, मेरो कल्पनामा भने दृश्यचित्र नै घुम्दैछ । तर अब पछुताएर के फाइदा जब बहकिँदा मेरा लक्ष्य र सपना सम्झिँन मैले.....

                " तर सबिन, मलाई डक्टरले केहि सोध्यो भने ? डिटेल दिनुपर्ला, अन्म्यारिड भनेर कतै केहि हुने त हैन ? अनि म के आफैँ जानु ? तँ आउँदैनस ? "

 " लौ, म किन आउनु नि ? लोग्ने होर म तेरो ? "

                 सायद बिर्सियो उसले, लोग्ने त उ मेरो तब पनि थिएन जब हामीले एक-अर्कालाई यौवन सुम्पिएका थियौँ.....
ऐना अघी उभिएर नियाल्दैछु आफैँलाई आज, तयार हुने मन पनि छैन । प्रेग्नेन्सी टेस्ट गराउन जादैँछु, कसरी मुख लुकाउँ भन्ने समयमा सिँगारिने सोच किन आउँथ्यो र ? ४ बजे हस्पिटल पुग्न भनेथ्यो सबिनले मलाई, म अझै यहिँ अल्मलिएकी छु । हुन त उसले दिएको समयको के चिन्ता, उ त आउने पनि छैन मेरो लागी त्यहाँँ ।

              अनायासै मेरा हात आफ्नो तल्लो पेट छाम्न पुग्छन् । के यहाँँ साँच्चै कुनै प्राण छ ? टेस्ट गर्नु अघी नै यती भावुक हुनु नपर्ने हो म, तर खै किन, आफुभित्र कोही छ भन्ने सोचले पनि अर्कै महसुस गर्छु आज म । बल्ल बुझ्दैछु, फिल्मी शब्दमा किन ' मायाको चिनो ' भन्छन यसलाई, यसको आभास मात्रैले पनि कहिल्यै नफर्किने गरी सबिनबाट भागेकी मलाई उसैको अघी उभ्याइदियो । तर यसको बारेमा सोच्दा पनि ग्लानिले भरिन्छ मेरो मन । १८ वर्ष त धेरै अघी काटेको हो मेरो उमेरले, तर कानुनको नजरमा नाबालक नरहे पनि के यो उमेर होर मेरो, आफ्नो गर्भमा कसैलाई जीवन बुन्न दिने ? जीवन बुन्न के, म त यहाँ त्यसले जिवन पाउनु अघी नै त्यसलाई मार्ने योजना बुन्न विवश छु ।

               कसैसँग उसको जीवन खोस्दैछु म, के यो अपराध होईन र ? हत्या होईन र ? यौवनको जोशमा बहकिने त हामी थियौँ, तब सजाय यसले किन पाउँदैछ ? मेरो सट्टा अरु नै कुनै गर्भमा बास बसेको भए त यसले एक जीवन पाउने थियो । सुखी वा दुखी, म भन्न सक्दिँन , तर एउटा जीवन त पाउने थियो कमसेकम । यसको भाविले धोखा दिएर मकहाँँ पठायो होला यसलाई, या सायद म नै अभागी हुँ कि यसलाई जीवन दिने सुख पाउन सक्दिँन । गाइनोकोलोगिस्ट बनेर आफ्नै हातले अनेकौँलाई नयाँ जीवन दिने सपना बोकेकी म आज सायद आफ्नै कोख खाली गर्दैछु ।  ' सायद ' यस अर्थमा कि टेस्टलाई अझै समय बाँकी छ र मेरो मनमा अलिकती आश पनि......

               " टेस्ट गराएर पुलनिर आइपुगेर फोन गर् मलाई, म भोलिसम्म सिक्री बेचेर पैसा जम्मा गर्छु, बिस हजार जती त आउँछ होला, अलिअली नपुगे यताउता बाट थप्नु पर्छ । अबोर्सन गर्ने ठाउँ जाउँला त्यताबाट, अँध्यारो मै आइज भन्या छ । घरमा जेसुकै भनेर भए नि मिला, आज एकदिन घरमा कुरा मिल्यो भने भोलिबाट कसैले केहि सोध्ने डर नै भएन ।  त्यो अबोर्सन गर्ने बेला डराएर भाग्न चाँही नभाग् है ! "

               " म किन भाग्नु, भाग्न लागेँ भने नि तँ हुन्छस नि रोक्न । "

               " म किन हुनु, फिल्मको डेलिभरी सिन हो र तेरो हात समातेर बसिराख्न ? मलाई फस्नु छैन यो सबमा, तँलाई त्यहाँ छोडेर पेमेन्ट गरेर हिँड्छु म । सकेपछी तँलाई दुख्ने होला तर म्यानेज गर् । जसरि जा, जतासुकै जा, तर अबोर्सन भएपछी मेरो ड्युटी सकियो, बाँकी मेरो काम हैन । "

               हिजो सबिनको र मेरो च्याट यती थियो । मन लागेन कि उसको सिक्री बेचाउँ म, अलिकती उसको मायाले, त अलिकती उसको मद्दत लिन नदिने मनमा बसेको घृणाले । त्यो भन्दा बढी त कसैको प्राण लिने ग्लानिले आत्तिएँ । मनमा अझै पनि आश थियो कि म भित्र कुनै गर्भा नहोला, तीन टेस्ट किट सम्झिँदै गुगल गर्न थालेँ अनेक उपाय, ढिलो भएको महिनावारी चाँडै निम्त्याउने । के के मात्र गरिँन र मैले गुगलको कुरा मानेर, पाउँ खाएँ, भिटामिन सि का ट्याब्लेट्, अनि आज बिहानै मिश्री पानी । यती राम्ररी बरु परिवारको कुरा मानेको भए यो दिन देख्नु पर्ने थिएन । आकाशमा दैव खोज्दै हात जोडेर आजसम्म कसैले आफ्नो महिनावारी मागेको थिएन होला, मैले मागेँ । चाहना यती नै थियो, मभित्र कुनै गर्भ नै नहोस्, कसैलाई मार्नु नै नपरोस्, र त्यसको प्राकृतिक प्रमाण आइपुगोस् म कहाँ । तर केहि भएन, म जानै पर्छ अब ।

                  " नानी ! "

                  हिँड्न तयार भएका मेरा पाइला टक्क अडिए आमाको पुकारले । आजकल डर लाग्छ मलाई उनको प्रश्नसँग, आफ्नो मनमा चोर जो छ ।

                   " तेरो लुगामा रगत जस्तो छ, छुइ भको होला, जा बाथरुम अनि फेर् लुगा पनि ! "

                   अरु दिन हुँदो हो त किचकिच गरेजस्तो लाग्थ्यो होला मलाई आमाको यो कुरा, तर आज यो जती मिठो अर्ती केहि लागेन, यो जती खुशीको खबर केहि लागेन । कन्फर्म गरेर, आमाको कुरा मानेर दौडिएँ म कौसी तिर । सबिनलाई सुनाउन फोन घुमाएँ । हरेक महिना यो पिडाले किन नारिको शरीर पाएँ जस्तो लाग्थ्यो, सोचेकी थिइँन कुनै दिन यही पिडा यती मिठो हुनेछ । सबिन पनि कम खुशी छैन यो सुनेर । उसले सिक्री बेच्नु परेन । तर म खुशी छु किनकी न मैले त्यो प्राणको हत्या गर्नुपर्‍यो, न आफ्नै भविष्यको ।

                   " कान्छी, सुन् न, अब त बच्चावाला टेन्सन नि सकियो, तँ मसँग फेरी बोलिस् पनि, क्लोज नि भाछौँ फेरि, मलाई भेट् न एकपटक । कस्सम यस्पाली पुरा ध्यान दिन्छु, प्रोटेक्सन लेर के कान्छि, आइज न है ! "
                    फोन काट्न समय लागेन मलाई । उसको माया, उसको साथ, देखिसकेँ मैले सब । पुगिसक्यो मलाई यि सब नाटकको डोज । भन्छन् दोस्रो मौका कमैले पाउँछन्, मलाई दोस्रो मौका दिएको छ मेरो जीवनले, खेर जान दिनुछैन यसलाई । केहि क्षणको बेहोशीमा भविष्यलाई धरापमा पारेर हेरिसकेँ, अब यो सबमा अल्झिनु छैन । सबिनको नम्बर फेरी ब्लक गरेर ओर्लिएँ तल । पढ्नु छ इन्ट्रान्स लाई, गाइनोकोलोगिस्ट बन्नु छ, यिनै हातले कती साना साना शरीरलाई डोर्याउनु छ यो संसारमा, जीवित ।

Comments

  1. राम्रो धेरै राम्रो

    ReplyDelete
  2. राम्रो धेरै राम्रो

    ReplyDelete
  3. पढ्नु छ इन्ट्रान्स लाई, गाइनोकोलोगिस्ट बन्नु छ, यिनै हातले कती साना साना शरीरलाई डोर्याउनु छ यो संसारमा, जीवित

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

चर्किएको ऐना

              रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन !               आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्...