झस्केर ब्युझिएँ
स्वप्न उहीँ क्षणझैँ जीवितवर्तमानभन्दा समीप त्यो अतीत
मेरा सपनालाई चिरेर त्यो सुइ कुन्नी कता पुग्यो
घाउ अझै बिझाइरहन्छ
रक्त तर बहिरहन्छ
अश्रुमा घोलिँदै
मेरा चीत्कार रोक्न बढेका ती हात
कति तालीका गड्गडाहटमा मिसिएका होलान्
यता मेरो चित्कार
फुत्किरहन्छ
अनि रोकिरहन्छ
आफैँ आफैँ
एक अदृश्य डरले
म र मेरा कथा
यसैगरी ब्युँझन्छन् हर रात
हर क्षण
र म सुम्सुमाइरहन्छु
समाजको लोरी गाउँदै
वास्तविकता नामक राक्षसका दन्त्यकथा सुनाउँदै
म र मेरा कथा
कुन्नी कहाँबाट सुरु भए
तर समाप्त हुँदैनन् कहिल्यै
बरु थपिरहन्छ
अर्को एक अध्याय
अर्को एक अध्याय
जति जति लाग्छ सुखमय अन्त
अब त आउनुपर्ने
यी कथाकि पात्रलाई
अब त कुनै मोडले रुवाउनु नपर्ने
कुन्नी कुन कालो बादलबाट
बर्सिरहन्छन् पीडा
कथा छ त पीडा छ
पीडा छ र त कथा छ
म र मेरा कथा
अल्झिरहन्छौँ यिनैमा
कुनै स्वर्गीय संसारको आशामा
बढिरहन्छौँं
अर्को दर्दनिय अध्यायतर्फ!
म र मेरा कथा
व्यर्थझैँ लाग्छन् कहिले
न सुनाउन म सक्षम छु
न सुनिदिन कोही
न सुनिदिएर बुझिदिन कोही
के अस्तित्व नसुनाइएका यी कथाको
के अर्थ जीतको बिगुलको
हारको हाहाकारको
युद्धभुमिमा बगाएका रक्तको रङ्ग नबुझी
प्रतिदिन गुमाएको आफू नबुझी
मनै न हो
चाहन्छ सहानुभूति
केही ताली
केही धाप
केही आँसु पुछिदिने हात
भन्छ " सुनाइदे!
वर्षौँदेखी लुकाएको चित्कारलाई फुकाइदे
मनका सारा पीडा बग्नेगरी
आँसुका बाँंध खुलाइदे"
अनि नियाल्छु चारैतिर
अनेकौँ यस्तै कथाहरु
चुट्किला बनी बिकिरहेका
र फेरि लुक्छौँ
आफ्नै काखमा
म र मेरा कथा!
म र मेरा कथा
प्रश्नै प्रश्नमा हराउनेछौँ
धमिलिनेछौँ
पिल्सिनेछौँं
ती प्रश्न जसका उत्तर
म आफैँं अझै खोजिरहेछु
कहाँबाट ल्याइ पस्कन सकुँला र?
कुन्नी प्रश्न गर्नेका लागि
किन कुनै प्रश्न हुँदैनन्?
औँला उठाउनेका निम्त्ति
किन केही शङ्का हुँदैनन्?
निसङ्कोच उठ्नेछन् औँलाहरु
अनि कठघरामा उभिन बाध्य
लाखौँ न्यायाधीशका अघि
म र मेरा कथा !
मलाई सोध्छौ भने त
ती पल मेरा स्मृतिमा ताजा छन्
म अझै ती क्षणमै बाँचिरहेछु
सम्झनाबाट रङ्ग उडिसके कति
कति मुहार मैनका मुर्तिझैँ पग्लिसके
र पनि त्यो क्षण जति स्पष्ट छ
आजको बिहानी नहोला!
म फेरि फेरि त्यही दिन बाँचिरहन्छु
नचाहँदा नचाँहदै
जति जति बिर्सने प्रयन्त गर्छु
उति उति सम्झँंदै
मैले जति त्यो घडी
कसैले जिएको छैन
र पनि
जब तिम्रा प्रश्न बज्रन्छन्
म आफैँ अवाक् हुन्छु!
तिमी मेरा आँसु चाँहदैनौ
मेरा चीत्कार व्यर्थ मान्छौ
तिमी पिडाको भाषा बुझ्दैनौ
तथ्य खाेज्छाै
बुझ्दैनौ मेरा निम्ति दुबै एकै हुन्
तिमी त प्रमाण चाहन्छौ
प्रमाण जो मसँग न कहिले थिए
वा थिए त बिलाइसके
समयको चक्र घुम्दाघुम्दै!
बरु घुमाइदेउ ती चक्रलाई उल्टो
भेट्नेछु आफैँलाई
अनि आफुलाई बचाउन छाडेर
लाग्नेछु सबुत जुटाउन
तिम्रा लागी
तिम्रा प्रश्नका लागी
म र मेरा कथा
लुक्नमा रमाउँंदैनौँ
तर सुनाउनु व्यर्थझैँँ लाग्छ।
बुझाउँ कसरी कसैलाई
जब म आफैँलाई एक दशक लाग्यो
बुझ्न
ती खेल थिएनन्
प्रहार थिए
ती मायाका स्पर्श थिएनन्
वासनाका थिए
जवाफ कसरी दिउँ तिम्रो
जब म नै अनुत्तरित छु
र मैले औँला उठाउनुपर्ने दिशा
समयमै विलीन भइसक्यो
धेरै टाढा पुगिसक्यो
धेरै अघि बढिसक्यो
कसरी तिम्राअघि
आफ्ना व्यथालाई सार्थक भनुँ
जब म आफैँ
धिक्कारिरहन्छु आफैँलाई
आफ्नै कुनै त्रुटि खोजी
त्यस्तो कुन प्रश्न सोध्न सक्छौ र तिमी
जुन मैले आफ्नै भाग्यलाई सोधेकी छैन?
कुन दोष मलाई दिन सक्छौ तिमी
जसको दोषी आफुलाई मानी आफैँलाई घृणा गरेकी छैन?
म कुनै टाकुरामा उभिइ
सारा वृतान्त सुनाउन चाहन्छु
बिस्तार लगाउन चाहन्छु
पिडाबाट मुक्त हुन
तर जब सत्यलाई नियाल्छु
लाग्छ लुकाउनुभन्दा
देखाउनाले बढी घात हुनेछ
अनि अपरिचित कष्टको डरले
जन्मौँदेखिको परिचित आँसुमा लुकी
म र मेरा कथा
कथामै सिमित रहिरहन्छौँ
कथामै बिलिन भइरहन्छौंँ......
Comments
Post a Comment