सपना पूरा भए हाम्रा
पुरा भए तिम्राअरु कोहिसँग
नाता गाँसियो तिम्रो नयाँ
जिन्दगी भरिलाई
छुटियो मसँग
को हुँ र म?
के हक र मेरो?
के अर्थ मेरो मायाको?
आगोको वरिपरि तिमीसँग नघुमेको
मेरो मायाको
के अर्थ वर्षौँसम्म मनसँग मन जोडेको?
जब नाम जोडियो तिम्रो
अरु कोहिसँग
उता बिदाइका आँसु दुनियाँले देखे होलान्
के अर्थ मेरा लुक्दै सिरानिमा बगेका आँसुको
तिम्रा ती नौमती पन्चेबाजाले ढाकिसकेका
अँध्यारो कुनामा रोक्दारोक्दै फुत्केको मेरो रोदनको
उसँग तिम्रा हात मिलाउन फुल कतिले छरे होलान् त्यहाँ
के अस्तित्व रह्यो सुनसानमा मिल्ने हाम्रा हातको
हाम्रा मनको
मेट्दै छौ होला मेरा यादहरु
मैले भन्दा सजिलै तिमी
ठाउँ खाली गर्दै
नयाँ याद जो लेख्दैछौ
अरु कोहिसँग
कुन्नी कसरी चुने जिवनभरिलाई
हिजोसम्म नदेखेको कसैलाई
मसँग नै भविष्य देख्न डराउने तिम्रा ती आँखाले
खै कसरी पहिलो भेटमै
हाँस्न सके कुनै सङ्कोच बिना
मसँग हुँदा मात्र मुस्कुराउँछु भन्ने ती ओठले
तस्विर कुन हेरेर छान्यौ
तस्विर आफ्नो कुन पठायौ
हाँसो त तिनमा मैले नै दिएका होलान्
चिनायौ होला साथीलाई
नाम थरले मात्र
तिसँगको कहानी त अझै मेरै स्मृतिमा होलान्
के साट्न सक्छौ सजिलै
मसँग पनि हजारौँपटकमा खुलेका भावनाहरु
अरु कोहिसँग
के धैर्य होला तिम्रा
आक्रोशका बादल हटेपछी आउने मायाको झुल्को कुर्न
अरु कोहिसँग
के होला तिम्रा चुट्किलाहरु बुझ्ने क्षमता
के होला तिम्रा मौनतामा शब्द खोज्ने क्षमता
के होला तिमी सँसारबाट एक्लिन चाहने क्षणमा
एक्लै छाडेर पनि
तिमिसँगै हुने मेरो सामिप्यता
अरु कोहिसँग
खुशी छौ होला तिमी
यहि आशमा छु सधैँ
नत्र अर्थ के र मेरो दुखको
दुखेको मनको
तर मान्दैन तिमीलाई खुशी देख्न
अरु कोहिसँग
Comments
Post a Comment