कुनै दिन चुनेको त्यो अग्लो गन्तव्य
कल्पनामा कति सुन्दर, मनमोहक !
अरु पुगेक्क देख्दा रहरै लाग्ने
त्यही सपनालाई जीवन राखेँ बन्धक
जब पाइला सारेँ, अरुझैँ सरेनन्
मेरा भागमा परे सबै बन्धन
यात्रा त सहज कसको पो हुन्छ र
अझ अवरोध बन्यो आफ्नै धड्कन
उत्साहित बनाउने त्यो सपना खै कुन्नी
कहिले निन्द्रा उडाउने दुस्वप्न बनेछ
आफ्ना पाइला हेरुन्जेल सबै ठिकझैँं लाग्ने
वरपर हेरे आफू असक्षम
भयभित कदम भाग्न खोज्छन् विपरित दिशामा
त्यही दुख:ले बरु अघि सरे....
म पनि त एकदिन पुग्नेछु त्यहाँ
मेरो गन्तव्य मेरो भविष्य छ जहाँ
समय लागोस् कम या बेसी
के फरक पर्छ र, म पुगेपछी!
कहाँ पुगे अरु, म रहिरहेँ पछि
मेरो हर एक सास दिँदा दिँदै पनि
उछिने मलाई सँगै र पछिका कतिले
म थाक्दै खोजिरहेँ अर्को बिसौनी
सुरुवातमै यदि विलम्ब भो
बदलिन्न अब समय जति दौडे पनि
नजर केवल अडाउनु छ बाटोमा
होडबाजीमा लागे आफैँलाई हानी
सुस्त सुस्त बढिरहने त्यो कछुवा
अनि अनायासै रोकिइरहने खरायो पनि म
यो कथा मा न जित छ न हार छ
मेरो प्रतिस्पर्धी आखिर म नै त हो नि
बेमौसम कुनै फूल फूल्दै फूल्दैन
मेरो मौसम आउनै बाँकी छ.....
म पनि त एकदिन पुग्नेछु त्यहाँ
मेरो गन्तव्य मेरो भविष्य छ जहाँ
समय लागोस् कम या बेसी
के फरक पर्छ र, म पुगेपछी!
छिनमै चुचुरोमा पुगे के मजा?
सिक्दै हजारौँ डाँडा काट्नु छ
पुर्णिमाको चन्द्र जाओस् अझ कहाँ?
प्रतिपदाले त बस् अघि बढ्नु छ
मेरा चिन्ता बेकार लाग्दा हुन् हिमाललाई
उ त सबैलाई उस्तै नै पर्खन्छ
कसैलाई अँगाली मलाई छाडी कहाँ जाओस्?
मभन्दा हजारौं गुना धैर्य उसँंग छ
म अतालिन्छु अरुलाई श्रेय दिइ
ढिला भएको ग्लानिमा पोख्छु अझ समय
देख्दिँन कुन्नी, उनै डाँडा काटी आएँ
तब कसरी म कोहिभन्दा कम भएँ
म पुगुँला जब, दिन बदलिएका होलान्
मेरा हस्याङ्ग र फस्याङ्ग चारैतिर गुन्जिएलान्
मेरा मुहारमा अरुको झैँ तेज नहोला
पाउ अरुझैँ फुर्तिला नरहलान्
तर चुचुरो उहीँ, त्यो उचाइ उही हो!
मेरो यात्रा सायद लामो तर गन्तव्य उही हो!
मैले त्यही खुला आकाश समिपै पाउनेछु
मेरो खुशी उजस्तै असिमित हुनेछ
मेरो सपनाको हिमाल मलाई हेर्दै हाँस्नेछ
म दु:ख सम्झी, बिर्सी, उसलाई हेर्दै रुनेछु
केही अघि पुग्ने यदि सक्षम थियो त
जुन क्षणमा म पुग्छु, सक्षम नै हुनेछु
मेरो मौसम आउनेछ, सबै ठिकै हुनेछ
त्यही आशामा आज पाइला चाल्दैछु
मेरो आफ्नै तालमा नै सही.....
म पनि त एकदिन पुग्नेछु त्यहाँ
मेरो गन्तव्य, मेरो भविष्य छ जहाँ
समय लागोस्, कम या बेसी
के फरक पर्छ र, हिँडिरहेपछी
हिँडिरहेपछी.............
Comments
Post a Comment