तिमी
कता कता म झैँ लाग्छ
मिथ्या!
तिमी म झैँ हुन्थ्यौ त
तिमीझैँ कहिल्यै हुन्थिनौ!
म जे बन्न चाहन्थेँ, बन्न चाहन्छु
तिमी धेरै अघि बनिसकेकी रहिछ्यौ।
म जो बन्ने सपना बुन्थेँ
त्यो तिम्रो यथार्थ बनिसकेछ।
म आफ्ना अतितका पिडाबाट भाग्दैछु अझै
तिमीले तिनै पिडालाई निचोरी मलम बनाइ निको पार्दै रहिछ्यौ अरुका चोटहरु
म आफुले हारेका लडाइँ सम्झी लुकिरहेछु एक कुनामा
तिमी आफ्ना युद्द सम्झिएर झनै दृढ छौ अरुका जित सुनिश्चित गर्न
म आफ्नै मनका प्रश्नमा अल्झिरहेछु अझै
तिमी दुनियाँका प्रश्न झेल्दै अघि बढिरहेछौ निरन्तर
प्रश्न तिम्रा मनमा पनि हजार जन्मँदा हुन्
तर मलाई झैँ कर्मबाट आफुलाई रोक्न दिन्नौ तिमीले!
ती हरेक बाधा जसले मलाई म हुनबाट रोक्दछन्
म देख्छु तिनले झनै तिमिलाई तिमी बनाउँदछन्!
ती हरेक बन्धन जसमा म आफुलाई बाँधिन दिन्छु
देख्छु तिनमा कसिएर तिमी झनै स्वतन्त्र हुन हौसिन्छ्यौ!
ती हरेक कारण जसलाई ढाल बनाई म आफ्नो असफल, अदृश्य जीवनको न्यानो काखमा हराउँछु
तिमीलाई हेर्दा बुझ्छु, ती बहाना मात्र हुन्
तिमीलाई जो रोक्न सकेनन् तिमी बन्न बाट!
आफू हुनमा गर्व गर्थेँ म
तर तिमीलाई देख्दा लाग्छ म सायद म हुन सकेकी छैन
आशा छ कुनै दिन तिमी बन्न सकुँ
तिमी बन्ने होडमा
म म बन्न सकुँ!L
Comments
Post a Comment